कृषि कलाको र विज्ञानको मिश्रण हो। कलाको सम्मान र संरक्षण गरिन्छ अनि विज्ञानको उपयोग गरिन्छ। कृषिमा त पुराना विधिहरुको सम्बोधन गर्दै उपयुक्त नयाँ विधिहरु अपनाइनु पर्ने हो। हाम्रो कृषि भने अनौठो असमानताको शिकार भइ न त संरक्षणको बाटोमा राम्ररी हिँड्न सकेको छ, न नयाँ पद्दति र यान्त्रीकरणलाई पूर्ण रूपमा अपनाउन नै।
कृषि उदाउदै गर्दा अस्ताई पनि रहेको छ। विकास भइरहेको छ तर गुणस्तर घट्दो छ। नयाँ-नयाँ ठिमाहा बीउहरुले दिनानुदिन आफ्नो संख्या बढाई रहँदा, रैथाने बीउ ओझेलमा परेका छन् र यो नजानिँदो भेदभावको मुख्य शिकार बनेको छ खाद्य बाली।
चिल्ला तरकारी बारी, सजिएका फलफूल बगैँचा, बढ्दो डेरी र फार्मले हामीलाई प्रफुल्लित बनाउँदै गर्दा, शताब्दीदेखि त्यही आकाशे पानीमा भर पर्दै आएका धानका बालाले जिस्काउँदै हाम्रो शिर पनि सँगै झुलाई दिएको छ। ड्रागन फ्रुट, किवी जस्ता नयाँ फलको खेतीमा व्यस्त हामी, फापर, कोदो, चिनो, कागुनो, आदिको अस्तित्वसमेत बिर्सिसकेका छौँ।
खाद्य बालीको अवस्था
कृषि उत्पादनको ४५.२% खाद्यान्न बालीले ओगटे तापनि आम्दानी भने यसकै न्यून छ। कृषि विकास मन्त्रालयले गत वर्ष बजार अनुगमन तथा तथ्यांक व्यवस्थापन कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा खाद्य बाली, नगदे बाली, औद्योगिक बाली, दलहन बाली, तेलहन बाली, मसला बाली, फलफूल र तरकारीको औसत लागत र नाफा बारे अनुसन्धान गरेको थियो।
सो अनुसन्धानमा, तराई भेगमा पर्ने झापामा धान खेती गर्ने किसानलाई रु ८१७६ प्रति हेक्टर खुद नाफा भएको देखियो। खर्च मध्ये सबैभन्दा महंगो हुन पुगेछ ट्र्याक्टरको, जसको भाउ प्रति घण्टा रु ८७५ रहेछ। यसैगरी पाँचथर, डडेलधुरा जस्ता पहाडी भेगमा त खुद नाफा जम्मा रु ६३८ प्रति हेक्टर देखियो।
यस्तो अवस्थामा, यी बाली रोप्ने किसानलाई हातमुख जोर्न पनि किन धौधौ पर्छ त भनेर सोच्दा, अरू कारण खोज्न जरुरी छैन। यसका साथसाथै, यान्त्रीकरण राम्रोसँग स्थापित न हुनुको कारण पनि महंगीले खुलस्त रूपमा देखाएको छ।
नेपालको तराई भेगमा हिउँद र बर्खा दुबै मौसममा मकै खेती हुन्छ। यसरी त्यहाँको प्रशस्त जग्गामा मकै खेती गर्ने हो भने वर्षभरि नै उत्पादन हुनसक्छ। तर कुल मकै उत्पादनको २०% मात्र तराईमा हुने गरेको पाइएको छ।
अन्य तरकारी फलफूलको जस्तै यस बालीको बीउ पार्न कठिन नभएता पनि किसानको माग भने पूरा हुन सकिरहेको छैन। केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाले खाद्य बालीका जातहरुको मूल बीउ असाध्यै कम मात्रामा उत्पादन गरेको पाइएको छ। यसर्थ सम्पूर्ण जिल्लामा माग अनुसार बीउ उपलब्ध हुन सक्दैन। मकै उत्पादनका लागी चाहिने ३०% बीउ र धानका लागी १५% बीउ त आयत नै गरिन्छ।
कृषि मन्त्रालयले धान, मकै, गहुँ, कोदो ,जौ र फापर जस्ता खाद्य बाली उत्पादनको तथ्यांक संकलन गर्दै आएको छ, जसको अनुसार खाद्य बाली मध्ये सबैभन्दा धेरै जमिनमा धान लगाइन्छ र पछिल्ला तीन वटा बाली (कोदो, जौ र फापर) को खेती गरिने क्षेत्रफल अत्यन्त कम छ।
अझै केही वर्षको तथ्यांकले यस्तै देखाई रह्यो भने हाम्रो खाद्य बालीले आफ्नो पखेटा खुम्चाई धान, गहुँ र मकैमा मात्र सीमित हुनु बाहेक अरू विकल्प रहँदैन। फेरि क्षेत्रफल ओगटिए अनुसार उत्पादन कहाँ भएको छ र! उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २०७६ का अनुसार वार्षिक ५१ अर्ब, ८० करोड बराबरको खाद्य आयात हुन्छ, जसको ६०% त हामी सबै नेपालीको मुख्य खानाको रूपमा रहेको, धान/चामलले नै ढाकेको छ।
अहिलेको सन्दर्भमा कोदो, फापर जस्ता बाली को महत्व दिनानुदिन घट्दै गइरहेको छ। उनीहरूलाई धेरैजसो भिर पखेरामा लगाइने गरिन्छ। मल, जल, सिँचाइ, आदिको त व्यवस्था नै छैन तर अचम्मको कुरा के भने त्यस्तो तनाव ग्रस्त वातावरणमा पनि यिनीहरूको उत्पादन भने लोभ लाग्दो छ (१.१- १.२ टन प्रति हेक्टर)।
यी बालीहरूले चाहिए जति स्याहार सुसार र राम्रो वातावरण पाउने हो भने, अझै कति उत्पादन हुने थियो होला?
कसरी देखियो त असमानता?
कृषि हरेक मानिसको पेट पाल्ने सामर्थ्य र उद्देश्य बोकेको एक पवित्र पेसा हो। आजभोलि भने यस क्षेत्रमा, जुन बत्ती चम्किलो छ त्यसैमा झुम्मिने पुतली जस्ता मानिसहरूको ओइरो लागेको छ। एकै पेसामा पनि खण्डी करण भइरहेको छ। च्याउ खेती गर्ने किसान र धान फलाउने किसानलाई एउटै नजरले हेरिँदैन।
अनि दिगो कृषिको नारालाई बिर्सि क्षणिक आकर्षणमा तानिएकाहरु पनि धेरै छन्। उदाउँदो कृषि क्रान्तिका लागि विभिन्न वैज्ञानिक उपकरण, प्रविधि र यन्त्रको प्रयोग व्यापक छ तर यी प्रविधिले, कृषिको सबै क्षेत्रलाई भने समेट्न सकेको छैन।
एकातिर, खाद्य बालीका नयाँ उत्पादन प्रविधिहरू जस्तै; सघन धानखेती प्रणाली (एसआरआई), सघन गहुँखेती प्रणाली (एसडब्लुआई), गहुँको संकरिकरण (हाइब्रिडाइजेसन अफ ह्विट), छरुवा धान (डिएसआर) हरू अनुसन्धानमा मात्र सीमित भई किसानहरूसम्म विस्तार हुन नसकेको बेला, अर्कोतिर भने हाइड्रोपोनिक्स, एरियोपोनिक्स, ग्रिनहाउस, पोलिहाउस आदिले नव पुस्तालाई आफूतिर चुम्बकले झैँ तानेको देख्न सकिन्छ।
त्यसो त खाद्य बालीमा आम्दानी अत्यन्त कम भएको हामीलाई थाहा नै छ। तसर्थ एक मध्यम वर्गीय किसानको हैसियतले, धेरै आम्दानी र नाफाको पछि लाग्नु स्वाभाविक नै हुन्छ तर आम्दानीको ख्यालै नगरी बढ्दो आकर्षणको मात्र पछि लाग्नाले नै कृषिमा असमानता देखिएको हो कि भनि सोच्नु पनि आवश्यक छ।
कुखुरा पालन, यो आकर्षणको एक मज्जाको उदाहरण बनेको छ। कम समयमा धेरै आम्दानी हुने र उत्पादन पनि बढी हुने हुँदा यो व्यवसायले सबैलाई लोभ्यायो। अहिले भने, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार वार्षिक ६२,८९९ मेट्रिक टन कुखुराको मासु र १५,४९७ लाख अन्डा उत्पादन हुन्छन् जस अन्तर्गत प्रति व्यक्तिको भागमा ५३ अन्डा पर्न जान्छ।
अब भने नेपाल यस क्षेत्रमा आत्मनिर्भर भइसकेको छ र विदेशबाट आयत गर्नु पर्दैन। यसको आकर्षणले भने मानिसलाई अझै छोडेको छैन र नयाँ-नयाँ फाम खोलिने प्रकृया जारी छ। समय समयमा मागभन्दा बढी आपूर्ति भएकै कारण मासुको भाउ घटी, लाखौं चल्लाहरु मारिएको समाचार सुन्नमा आइरहेको हुन्छ।
हामीले बजार नपाएका टमाटर बाटोमा फ्याकिएको, दुधको ट्यांकर पोखिएको जस्ता अप्रिय समाचार सुन्दै आएका छौं तर भाग्यले भनौँ या दुर्भाग्य वश, खाद्य बालीले आजसम्म आफूलाई यस्तो समाचारमा संलग्न गराउन सकेको छैन। धेरै समयसम्म भण्डारण गर्न सकिने यस खाद्य बाली यदि कुखुराको मासु सरह नै उत्पादन हुने हो भने सो अन्नलाई बाटोमा फाल्नु पर्ने अवस्था आउला र?
समयको गोल चक्रमा फसेको खाद्यबाली
अन्न फलाउन त्यति सजिलो कहाँ छ र? सबैभन्दा पहिले त थोरै जग्गामा खेती गर्न नसकिनु नै खाद्य बालीको नकारात्मक पक्ष बन्न पुगेको छ। फसल पाकिसकेपछि हाम्रो किसानसँग चाहिएजति भण्डारण गर्ने क्षमता छैन। त्यस कारण उति बेला नै बाली बेचि दिनु पर्ने अवस्था सिर्जना हुन्छ।
यही कमजोरीको फाइदा उठाइ बिचौलियाहरुले असाध्य कम पैसामा अन्न खरिद गर्छन्। सरकारले न्युनतम मूल्य पनि धान र गहुँको मात्र तोकेको छ तर सो मूल्य पनि लागत अनुसार कम नै छ (मोटो धानको मूल्य रु २,५३३, मध्यम धानको रु २,६७३ र गहुँको रु ३,०१५ प्रति कुइन्टल।) कति किसानहरूलाई त न्यूनतम समर्थन मूल्य बारे ज्ञान पनि छैन।
किसानले नयाँ ठिमाहा जातका बीउ भित्र्याउँदै गर्दा, सँगै नयाँ चुनौतीहरू पनि लिएर आएका हुन्छन्। यिनीहरूको हुर्किने प्रक्रिया स्थानीय बीउको भन्दा फरक हुन्छ। यिनीहरुलाई अलि बढी रासायनिक मल, किरा र रोगविरुद्ध लड्नका लागि विषादीको आवश्यक पर्छ। फेरि पाइएको सबै बीउ गुणस्तरीय छन् भन्ने पनि छैन।
सन् २०१२ मा भारतीय कम्पनीबाट ल्याइएको एक्स-९२, सन्ध्या र राजकुमार नामक मकैको जात, तराईका पाँच वटा जिल्लामा लगाइएको थियो। उक्त जिल्लाहरूको ८००० हेक्टर जमिनमा लगाइएको मकैमा दाना नै नभएको घुँगा फलेको समाचार व्यापक भएको थियो।
यस्ता समाचारले गर्दा उत्पादनमा ह्रास आउने भयले किसानहरू त्रसित छन्। नयाँ-नयाँ प्रविधिको बारे सुनेपनि उनीहरू आफ्नो पुरानो पद्धति नै सजिलो र भरपर्दो मान्दछन्। अनियमित रासायनिक मल र विषादीको प्रयोग हुने हुँदा जमिनको उर्बरा शक्ति र उत्पादकत्व घट्दो छ। सिँचाइका लागि पनि आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ।
राइस प्लान्टर, हार्भेस्टर, थ्रेसर जस्तो नयाँ यन्त्र आएपनि किन्न वा त्यसको भाडा तिर्न नसकिने विडम्बना छ। यस्ता समस्या देखा पर्नाले अन्त्यमा पुनः उत्पादनमा ह्रास आएको छ अनि आम्दानी कम भएको छ। यही चक्र बारम्बार किसानहरूको जीवनमा घुमिरहेको छ र अझै कतिसम्म घुमि रहने हो थाहा छैन।
कृषि रूपी वृक्ष निकै फैलिएको छ। वृक्ष सुन्दर बनाउनको लागि सबै हाँगालाई उत्ति नै हेरचाह र काँटछाँट गर्नुपर्छ। हामीले भने कुनैलाई चाहिने भन्दा बढी हेरचाह गरी कुनैलाई चटक्क बिर्सिए जस्तै भएको छ। कृषि क्षेत्रमा समस्या अथाह छन्। विभिन्न संकट, समस्याको पछि लाग्दा लाग्दै हामीले ओइलाउँदै गरेको खाद्य बालीलाई नै देख्न सकेका छैनौँ।
पालिस गरिएको चामल खादै गर्दा अनदी, जर्नेली, आँप झोत्ते, पोखर्रेली जेठो बूढो, बर्मेली, मधेशी जस्ता चामलको स्वाद सम्झिएका छैनौँ। हरेक समस्याको बेला देशले खोज्ने युवा पुस्ता नै हो। कृषिको वृक्षलाई पनि सबैतिर एकैनास बनाउने जिम्मेवारी पक्कै पनि यही पुस्ताको रहन्छ।
त्यस कारण यो प्रश्न, आहिले कृषिमा उदाएका ती हरेक अनुहारहरूलाई के तपाई देख्न सक्नुहुन्छ त खाद्यबालीमा आफ्नो भविष्य?