बिहान सबेरै उठेर मोबाइलमा फेसबुक चलाउँदै थिएँ। 'सरकारले लकडाउन नबढाउने' शीर्षक भएको समाचार टाइमलाइनमा देखियो। त्यसको वेब एड्रेस चिनेको समाचार साइटको थिएन।
केही दिन पहिला एक जना भाइले पठाएको म्यासेज सम्झिएँ। लेखेको थियो 'दाजु यो भाइरस त मनतातो पानीले नुहाउँदा मर्छ भन्ने समाचारमा आएको छ।'
मैले लिंक मागेँ। हेर्दा न्युज-पोर्टल जस्तै देखिने त्यो लिंक कसैको व्यक्तिगत ब्लग थियो। यस्ता साइटहरूमा विश्वास गर्नु हुँदैन भनेर उसलाई सम्झाएको थिएँ।
म र ऊ जस्तै धेरै जना व्यक्तिहरू सिधै न्युज साइटमा भन्दा सामाजिक सञ्जालमा आउने समाचारका लिंकमा भर परिरहेका हुन्छौं। त्यसैले सूचना प्रवाहलाई सरल र प्रभावकारी बनाएको भए पनि त्यससँगै आउने यस्ता समस्याहरूले गलत सन्देश फैलाइरहेको हुन्छ। विशेषगरी अहिलेको जस्तो समयमा त झन् यसको जोखिम धेरै हुन्छ।
कोरोनापछिका समाचारहरू सम्झिन थालेँ।
झुक्किने समाचार, सूचनाहरू बढेका छन्। हेर्दा साँचो जस्तो लाग्ने तर आधिकारिक स्रोत बिनाका समाचार देखिन्छन्। कहिल्यै नदेखिएको पोर्टलहरू टाइमलाइनमा सलबलाउन थालेका छन्। लाइक, सेयर, भ्यु हेर्दा 'रिच' धेरै देखिन्छ। आधिकारिकता खोज्दा भेटिँदैन। विपदले भन्दा पनि धेरै त विभिन्न सामाजिक सञ्जालमा आएका भ्रामक समाचारको प्रभावले हामीलाई असुरक्षित बनाइरहेको हो कि जस्तो लाग्न थालेको छ।
समय संवेदनशील भएको बेलामा यस प्रकारको कार्य धेरै हुने गर्छन्। २०७२ को भूकम्पताका पनि यसखाले धेरै अफवाहपूर्ण समाचार हामीले देखेका हौं। अझ भूकम्पताका भारतीय मिडियाले अफवाह फैलाएको आरोप सहित 'गो ब्याक इन्डिया' ह्यासट्याग ट्रेन्डिङमा नै आएको थियो।
मनमा डर भएका बेलामा नै यो क्रियाकलाप बढी हुने रहेछ। झट्ट हेर्दा यसको प्रभाव प्रत्यक्ष नदेखिए पनि यसले पार्ने असर नजरअन्दाज गर्न मिल्दैन। सामाजिक सञ्जालमा आएका यस्ता सामग्री अन्य सकारात्मक सामग्रीभन्दा पहिला भाइरल हुन्छन्।
म समाचारको प्रभावबारे सोच्न थालेँ।
तातो पानीले नुहाउँदा कोरोना नलाग्ने समाचारलाई पालना गर्दा क्षणिक आत्मबल त बढ्ने थियो। तर त्यसले कोरोनाको जोखिम कम गर्ने थिएन। सावधानी अपनाउनु भन्दा तातो पानीले नुहाएर सुरक्षित महशुस हुने थियो।
पढ्नेले आफूले मात्र यो विधि अपनाउने थिएन, अन्यलाई पनि प्रेरित गर्ने थियो। पढ्ने, सुन्ने र देख्ने अधिकांशले यो विधि अपनाउन सक्ने सम्भावना बढ्ने थियो। यसले जोखिम बढाउने थियो। गलत सूचनाको प्रभाव कुनै एक व्यक्तिमा मात्र सीमित रहँदैन। अझ सामाजिक सञ्जालमा त यसको प्रभाव असीमित रहन्छ।
टाइमलाइनमा आएका केही प्रतिनिधि समाचार सम्झँदै गएँ।
'चीनमा अदुवा खाँदा कोरोनाको संक्रमण नलाग्ने' समाचार देखेपछि एक जना महिलाले अत्यधिक अदुवा खाएकाले अस्पताल भर्ना हुनु पर्यो। त्यस्तै अफवाहका आधारमा भारतमा गाईको गोबर शरीरमा दल्दा र गहुँत पिउँदा मानिसहरू समस्यामा परे।
मदिरा सेवन गर्दा कोरोना प्रभाव कम हुने भन्दै आएका समाचार, बढी तापक्रममा बस्दा, थाल ठटाउँदा, चिच्याउँदा कोरोना नलाग्ने, लामखुट्टेले कोरोना भाइरस बोक्न सक्छदेखि तातो पानी खाँदा यदि घाँटीमा कोरोना भएमा पेटमा पुगेर पेटको एसिडले कोरोना मार्ने जस्ता समाचारलाई मानिसहरू सत्य मानेर पालना र सेयर गरिरहेका थिए। कतिले जोक गरेर सेयर गरेको पनि अरूले सही बुझ्ने सम्भावना पनि हुने रहेछ।
जिम्मेवार ठानिएका, नाम चलेका समाचार पोर्टलले पनि सामग्री प्रकाशनमा अगाडस हुने होडमा गलत सूचना प्रवाह गर्ने जोखिम बढिरहेको छ। साथै मान्छेलाई झुक्क्याएर साइटमा ल्याउनका लागि 'क्लिकबेट' बनाएर समाचार सम्प्रेषण पनि भइरहेका छन्। नागरिक पत्रकारिताका नाममा स्रोत नराखी एक तर्फी रूपमा प्रकाशित समाचारले पनि समस्या थप्ने काम गरिरहेको हुन्छ।
जनकपुरमा दुई महिलाले थुक लगाएर पैसा फालेको समाचार सबै नाम चलेका मिडियामा आए। महिलाहरूको खोजी भयो, पक्राउ गरेर र्यापिड टेस्ट भयो। टेस्टमा पोजेटिभ आयो। पिसिआर टेस्टमा नेगेटिभ। अनुसन्धान गर्दा नियत बस नभई बैंकबाट फर्कँदा पैसा झरेको भन्ने पुष्टिसहितको समाचार आयो।
धन्न त्यसको प्रभाव धेरै फैलिन पाएन। कतिले त त्यस्ता समाचारकै आधारमा कुनै जाति विशेषलाई दोष दिएर घटना साम्प्रदायिक बनाउने प्रयत्न पनि गरे। हतार गर्दा दुर्घटना हुन सक्छ।
चीनको वुहान सहरबाट सुरू भएर विश्वभर महामारी फैलिएको कोरोना भाइरसले सारा विश्व यति बेला लकडाउन छ। शक्तिशाली राष्ट्रहरू समेत अप्ठ्यारोमा परेका छन्। औषधी-उपचार अनुसन्धानको चरणमा रहेको यो प्राणघातक भाइरसको त्रासले विश्व समुदाय अहिले अत्तालिएको देख्न सकिन्छ। यसबाट हामी पनि अछुतो छैनौं।
हामी भित्र अनेकन प्रश्नको जालो छ। कोरोना नेपालमा इटाली, अमेरिकामा जसरी फैलियो भने के हुन्छ होला भन्ने डर, त्रास छ। त्राससँगै आशंकासहितको आशा पनि छ। यही आशाले हामीमा धैर्य र आत्मबल प्रदान गरिरहेको छ। यस्तो बेलामा सूचना प्रवाह गर्ने साधन तथा त्यसलाई हेरेर सामाजिक सञ्जालमा धारणा बनाउनेहरू सबै संयमित हुनु जरुरी छ।
विश्व समुदाय व्याकुल रहेको अवस्थामा सामाजिक सञ्जालबाट समाचार बनाउन सजिलो भएर होला जसले जे मन लाग्यो त्यही अफवाहलाई समाचारको रूप दिइरहेको पाइन्छ। यसलाई कम गर्न अति आवश्यक भइसकेको छ। कतिपय समाचारले अफवाह मात्र फैलाइरहेका छैनन्, सामाजिक, धार्मिक, जातीय द्वन्द्वलाई प्रशय दिने आपराधिक कार्य पनि गरिरहेका छन्।
आवश्यक परेमा सरकारले यसप्रकारका क्रियाकलाप गर्नेलाई कानुनी उपचार गर्न पछि पर्नु हुँदैन। हामीले पनि नजिर कायम गर्न राम्रालाई प्रोत्साहन र गलतलाई बहिष्कार गर्न सक्छौं।
सामाजिक सञ्जालको दुनियाँ आकाश जस्तै विशाल छ। यसको सही प्रयोग गर्न जानेमा सारा ब्रह्माण्डलाई बुझ्न र प्रभाव पार्न सक्ने क्षमता राख्छ। त्यसैले भ्रम हैन सचेतना फैलाऊँ, एकअर्काको सहयोगी बनौं। यो महामारीलाई हामी सबैले मिलेर सामना गर्ने हो। एकले अर्कोको हौसला बढाउने हो।
विपद बाजा बजाएर आउँदैन, अनावश्यक अफवाह फैलाउनु निन्दनीय हो। एकअर्काको सहयोगी बन्नुपर्नेमा आत्मबल, आत्मविश्वास कमजोर बनाउने कार्य कसैबाट नहोस्। जात, धर्म, भाषा, राष्ट्रभन्दा माथि उठेर कार्य गर्नुपर्ने हुन्छ। हाम्रा लागि काम गरिरहेका स्वास्थयकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी लगायतको हिम्मत बढाउन सुरक्षित रही सहयोगी भूमिका खेलौं।
सामाजिक सञ्जालको सदुपयोगले पनि कयौं नकरात्मक घटना रोक्न सकिन्छ। सुरक्षित रहन प्रेरित गर्न सकिन्छ। गलत अफवाह वा समाचार हामीले फैलायौ भने फैलिने हो। त्यसैले त्यस्ता समाचार पढेर आफूलाई प्रभावित पार्न नदिऊँ। नबुझी नजानी सेयर पनि नगरौं।
संयमित बनौं, लाइक, कमेन्ट, भ्युभन्दा मानवतालाई माथि राखौं।