सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सबैलाई नमस्कार!
मेरो नाम आर्ज्वल वस्ती हो। नोबल एकेडेमी, नयाँबानेश्वरबाट कक्षा ५ मा को भर्खरै वार्षिक परीक्षा दिएर घर बसिरहेको छु।
पोहोर साल यति बेला नयाँ किताब किनेर घरमा ल्याएर उल्टाइ-पल्टाइ हेरेर कक्षा ५ मा जाने भनेर निकै खुसी भएको थिएँ। यसपालि रिजल्ट आएको छैन र बाहिर जाने अवस्था पनि छैन। नयाँ कक्षाकाे किताब पनि किन्न पाएको छैन।
सधैझैं वार्षिक परीक्षा सकिएपछि हामी घुम्न जान्थ्यौं। यसपालि ममी र म बिराटनगर मामाघर जाने तय भएको थियो। मामाघर जाने बेग्लै रमाइलो र खुसी थियो। मामाको सानो छोरा पनि जन्मिएको थियो। उसलाई बोक्न र खेल्न धेरै मन थियो। विश्वमा फैलिएको कोरोना भाइरसका कारणले जान पाइन। विद्यालय कहिले खुल्ने भनेर पनि थाहा भएको छैन।
बिहान उठेर व्यायाम गरेर मेरो दिन सुरू हुन्छ। त्यसपछि खाना खान्छु। ममी-बाबासँग धेरै कुरा सोधेर र उहाँहरूले गरेका काम नजिकबाट हेरेर सिक्ने मौका पाएको छु। ममी र बाबाको काम सिक्न र बुझ्न पाउँदा धेरै खुसी लागेको छ।
मेरो बाबा सरकारी कार्यालयमा काम गर्नुहुन्छ। अहिले उहाँको पनि बिदा छ। यसकारण हामी सँगै खेल्न पाउदा खुसी लागेको छ। मलाई सानैदेखि माछा मनपर्छ। त्यही भएर ममी-बाबाले एउटा माछा राख्ने भाँडो ल्याइदिनुभएको थियो। त्यसमा मैले एउटा माछा पालेको थिएँ। माछासँग खेल्नु मेरो दिनचर्या थियो। तर केही दिनअघि माछा एक्कासि मर्यो। माछा मरेपछि धेरै दु:ख लाग्यो।
कोरोना भाइरसका कारण धेरै मान्छे मरेको टेलिभिजनमा देख्दा भने आफ्नो दुःख सानो मानेर चित्त बुझाएको छु। विश्व नै अहिले कारोना भाइरसका कारण आतंकित भएको छ। तर यस्तो विपतका बेलामा पनि धेरै कुरा सिक्न र बुझ्न सकिने रहेछ।
मैले पनि बाबालाई भाइरसका बारेमा सोधिरहन्छु, 'भाइरस भनेको के हो? यो कसरी बन्छ?'
बाबा पनि प्रश्न सुनेर असाध्यै खुसी मान्नुहुन्छ। अनि मलाई सोध्नुहुन्छ, 'तिमीलाई कति किसिमका भाइरस बारेमा थाहा छ?'
एक पटक विज्ञान किताब पढ र बताऊ भन्नुभयो। मैले त किताबमा पढेको जस्तो लागेन। तर पनि बाबाले भनेपछि विज्ञान किताब त पढ्नै पर्यो भनेर निकालेँ। हाम्रो किताबमा भएको भाइरस सम्बन्धी ज्ञान मैले पढे पनि बुझेको थिइनँ।
बाबाले मलाई देखाएर बुझाउनुभयो। मैले सुनेका कतिपय रोग पनि भाइरस कै कारण लाग्ने जानकारी पाएँ। जस्तै, चिकेनपक्स, फ्लु र एचआइभी एड्स जस्ता रोग। यी भाइरसले लगाउने रोगको औषधि केही बनिसकेका रहेछन्। त्यसैले भाइरस र हामी मान्छेको सम्बन्ध त धेरै पहिलेदेखि कै पो रहेछ।
कोरोनाको औषधि पनि चाँडै बन्छ होला। हुन त विभिन्न देशका बैज्ञानिक यो कार्यमा लागेका छन्। औषधि बनाउन परीक्षण गरिरहेको मैले समाचारमा सुनेको छु।
कहिलेकाहीँ हामीले मात्र यस्ता प्राकृतिक प्रकोप किन भोग्नु परेको होला भनेर सोच्छु। कहिले भुइँचालो त कहिले यस्ता भाइरसहरू। कहिले घर बाहिर बस्नु पर्ने त कहिले घर भित्र। मनमा यस्ता अनेक जिज्ञासा आउँछन् र बाबालाई सोध्छु। बाबाले यसको सहज उत्तर दिनुहुन्छ।
'हामी मान्छे यो पृथ्वीकै सर्वोत्कृष्ट प्राणी हौं। यस्तै चुनौती र प्रकोपको सामाना गरेर नै मान्छे आजको युगसम्म आएको हो। पहिले पनि यस्ता महामारी धेरै आए, गए। ती सबै महामारीलाई मान्छेले जितेर हामी यहाँसम्म आउन सफल भएका हौं।'
यस्तो कुरा सुन्दा असाध्यै खुसी लाग्छ। साथीहरू, यो बिदामा मैले धेरै भाइरसबारेमा बुझ्ने कोशिश गरेँ।
भविष्यमा पनि भाइरससम्बन्धी अध्ययन गर्न मन छ। बाबाले भन्नुभएको भाइरस सम्बन्धी विज्ञलाई ‘भाइरोलोजिस्ट’ भन्छन् रे। हामी सबैले यो रोगको औषधि पत्ता नलागेसम्म सुरक्षा अपनाउनु नै पर्छ। भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने काम गरेमा हामी धेरै सुरक्षित हुन सक्ने रहेछौं।
धन्यवाद!
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]
यी पनि पढ्नुस्ः