सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बुधबार सेतोपाटीमा मजस्तै भर्खरै ६ कक्षाको परीक्षा दिएर बसेकी केटीले लेखेको ;लकडाउन डायरी' पढ्न दाइले लगाउनुभयो। मलाई त्यस्ता कुरा पढ्न फिटिक्कै मन लाग्दैनथ्यो। दाइले कहिले नीतिकथा त कहिले 'ईसव'का कथा पढ्न लगाउनुहुन्थ्यो। म बाध्यतामा पढ्थेँ।
त्यो लेख (डायरी) को पढाइ बाध्यताबाट सुरू भएको थियो। तर पढ्दै जाँदा रमाइलो लाग्दै गयो। मलाई मज्जा आयो। मजस्तै केटीले लेख्न सक्छिन् भने मैले पनि त लेख्न सक्छु होला झैं लाग्यो।
अब लेख्नु पो कसरी? अंग्रेजीमा लेखेर पठाउन पनि नमिल्ने। नेपाली टाइप त परकै कुरा, कपीमा लेख्न पनि अप्ठ्यारो लाग्छ। आधी अक्षर, ह्रस्व, दीर्घ अरू पनि के-के, कस्तो गाह्रो हुने के। नेपाली गाह्रो हुने भएकैले मैले मेरा साथीहरूलाई मेरी आमा विश्वविद्यालयमा नेपाली पढाउनु हुन्छ भनेर समेत बताएकी पनि छैन। कस्तो लाजमर्दो, अब कसलाई के भन्नु?
मलाई जसरी भए पनि लेख्नु थियो। रहर लाग्यो। दाइलाई भनेँ, नाइँ भन्नुभयो। 'आफैं गर, तेरै उमेरका अरूले सक्ने, तैंले नसक्ने हुनै सक्दैन, प्रयास नगरी कसरी हुन्छ।'
दाइले के-के हो के-के भन्नुभयो, भनी साध्य छैन। सुन्नुभन्दा नसुन्नै बेस् भनेर रिसाउँदै उठेर हिडेँ। फेरि एकैछिनमा मनमा 'लेख्न पाए हुन्थ्यो' भन्ने लागि रह्यो।
कपीमा लेखेँ, आफैंलाई चित्त बुझेन। फेरि लेखेर ममीलाई देखाएँ। 'ठिकै छ' भन्नुभयो। अनि फेरि त्यसलाई राम्रा अक्षर बनाएर अर्को कपीमा सारेँ।
अब पालो टाइप गर्ने। तर कसरी? फेरि दाइलाई भनेँ। तर उहाँलाई पनि नेपाली टाइप गर्न आउँदो रहेनछ। अब गर्नु के?
होस्, लेख्दिनँ भनेर मन बुझाउन खोजेँ। तर मनले मानेन। अचानक ममीको फेसबुकमा कहिलेकाहीँ नेपालीमा म्यासेज टाइप गरेको याद आयो। उपाय निस्कियो। हाम्रो पात्रोको हाम्रो किबोर्ड। धन्यवाद ! हाम्रो किबोर्ड।
डायरी सुरू गर्नुअगाडि मिति लेख्नुपर्यो भनेको, यादै रहेनछ। दाइलाई सोधेँ।
'दाइ, आज कति गते हो? कुन बार? अनि लकडाउन सुरू भएको कति दिन भयो?'
भाइ र भाउजूसँग लुँडो खेल्न व्यस्त दाइ मात्रै हैन लुँडो खेलेको हेरिरहनुभएकी हजुरआमा र दिदीहरू सबै अक्क न बक्क हुनुभयो।
स्कुल लाग्दा मलाई कहिले शनिबार आउला जस्तो हुन्थ्यो। औंला भाँच्दै दिन गन्ती गर्थेँ। त्यति मात्रै हैन औसीं, पूर्णिमा, एकादशी र वर्षमा कहिलेकाहीँ आउने सराद्देको पर्खाइमा म सधैं चासो राख्थेँ। टीका लगाएर दक्षिणा पाइन्थ्यो। तर आज कस्तो अचम्म! मलाई मात्रै हो कि अरूहरूलाई पनि यस्तै हुँदो हो? दिन, बार नै याद नहुने।
चीनबाट सुरू भएको यो कोरोना भाइरसले संसारै हल्लाएको छ। चीन र इटाली मात्रै होइन, सर्व-शक्तिशाली भनिएको देश अमेरिका पनि रन्थनिएको छ। यसको औषधि बनेकै छैन रे। कोरोनाबाट बच्न साबुनपानीले बेलाबेलामा मिचीमिची हात धुनुपर्छ रे। अरूबाट सर्ने भएकाले भिडभाडमा जानु हुँदैन रे। त्यसैले यो भाइरसबाट बच्न लकडाउन गरेको रे।
तपाईंलाई थाहा छ? लकडाउनलाई नेपालीमा बन्दाबन्दी भन्छन् रे। याद गर्नुस् है। के थाहा, कुन बेला काम लाग्छ।
कहिल्यै समचार नसुन्ने, नहेर्ने, नपढ्ने मलाई पनि आजकाल खुब चासो लाग्न थालेको छ। कुन देशमा कति मान्छे प्रभावित भए? कति मरे? जस्ता डरलाग्दा गफगाफहरू हाम्रो घरमा सुन्ने गरेकी छु। हजुरबुवाले बजाउने रेडियोबाट बेलाबेलामा साबुनपानीले मिचीमिची कम्तिमा २० सेकेन्डसम्म हात धुन, घर बाहिर ननिस्कन, भिडभाडमा नजान र यस्तै अरू सन्देशहरू बजिरहन्छन्।
ब्यारेकमा हुनुभएका मेरो ड्याडीलाई फोन गर्दा पनि आजकाल यस्तै कोरोना बारेका सन्देशहरू सुन्न पाइन्छ। त्यसैले गर्दा होला हामी बेलाबेलामा साबुनपानीले मिचीमिची हात धुने गर्छौं। ममीले हामीहरूलाई घरीघरी तातोपानी पिउन लगाउनु पनि हुन्छ।
अरू बेला यस्ता लामा बिदामा मौका मिलेसम्म हामीहरू ड्याडीका ब्यारेकमा गएर समय बिताउथ्यौं। लामो बिदाको मात्रै के कुरा भयो र, शनिबार र अरू बिदाहरूमा पनि हामी कहिले मामाघर, कहिले आफन्तहरूकोमा त कहिले पार्क, पौडीपोखरी र भाटभटेनी गएर रमाइलो गर्थ्यौं।
आजकाल लकडाउनले घरमै थुनिनुपर्दा पनि रमाइलो नै भइरहेकै छ।
हजुरबुवा र हजुरआमाबाट उहिले उहिलेका रमाइला रमाइला घटना र कथाहरू सुन्न पाइएको छ। मन लागुन्जेल स्किपिङ (के भन्छन् साँच्चै नेपालीमा? डोरी?), चुंगी , लुँडो र चिट्ठा खेल्न पाइएको छ। घरमै बनाएको मःम, चाउमिन, जुस खान पाइएको छ।
यही मौकामा मैले अलिअलि खानेकुराहरू बनाउन पनि सिकेँ। मैले अहिलेसम्म अम्लेट, रोटी, आलुभुटुवा र चिया बनाइसकेँ। हिजो मैले पकाएको एउटा रोटी डढेर कालै पो भएछ। ममीले थाहा पाउनुहोला कि भनेर मैले खुसुक्क खाइदिएँ। मैले मिठो भए झैं गरेर खाएको थिएँ। तर कस्तो तितो थियो।
म आजभोलि एउटी जापानी लेखिका तेच्चुको कुरोयानागीको 'तोत्तो-चान' भन्ने बाल्यकालको संस्मरण पढ्दैछु। रमाइलो लागिरहेको छ। मैले अस्ति मत्रै लक्ष्मण गाम्नागेको 'कति धुनु गधाहरूलाई' भन्ने एउटा रमाइलो किताब पढेर सकाएकी थिएँ। अनि त्योभन्दा अगाडि चाहिँ 'मुनामदन' र एउटा चुट्किलाको किताब पढेर सकाइसकेकी थिएँ।
अब अरोरा बुक कम्पनी भन्नेको 'क्लासिक टेल्स फर चिल्ड्रेन' (Classic Tales For Children) र ढिङ्रा पब्लिसिङ हाउसको 'द वर्ल्ड अफ चिल्ड्रेन नलेज' (The World of Children Knowledge) पढ्ने योजनामा छु। मैले ममीको मोबाइलमा 'मिडास इक्लास' डाउनलोड गरेर पढ्ने गरेकी पनि छु।
मलाई आजभोलि स्कुलका साथीहरूसँग रमाइलो गरेको खुबै याद आउँछ। मेसमा खाना/खाजा खाएको, ग्राउन्डमा दौडेको, ढिकिच्याउँ, पिङ खेलेको, साथीहरूले फकाउँछन् कि भनेर रिसाएजस्तो गरेको, टिचरहरूसँग रमाइलो गरेको, सबै याद आइरहेको छ।
मेरो घरैसामुन्ने मेरा मिल्ने साथीहरू संस्कृति र आर्यनको घर छ। अरू बेला हामी साँझ पर्नेबित्तिकै कहिले उनीहरूको घरमा त कहिले हाम्रो घरमा खेल्थ्यौं। तर आजकाल हामीहरू छतबाटै हेराहेर र अलिअलि गफ गर्छौं। जे-जे भए पनि अहिलेलाई हामी सुरक्षित बस्नुपरेको छ। घरमै बस्नुपरेको छ र यो नै सबैभन्दा राम्रो हो रे।
म त घरमै बसिरहेछु तपाईंहरू नि?
अन्तिममा एउटा अर्को खुसीको कुरा, आजकाल होमवर्क गर्नु परेको छैन।
(एलिसा घिमिरे सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]
यी पनि पढ्नुस्ः