सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कक्षा ६ को परीक्षा दिएर म अहिले घरमै बसिरहेकी छु। हुन त परीक्षा दिएपछि केही दिन बिदा हुन्थ्याे। तर यसपटकको बिदा अलि फरक छ।
वार्षिक परीक्षा दिएपछिको मेरो बिदा कहिले गुल्मीमा हजुरआमासँग बित्थ्यो, कहिले बुटवलमा काका-काकीसँग। काठमाडौंमा बाबा र मामु दुवै अफिस जाने भएकाले प्रायः म लामो छुट्टी हुनेबित्तिकै काठमाडौंबाहिर जान्थेँ। यसपटक बिदामा काठमाडौंबाहिर त के, घरबाहिर पनि निस्कन पाइनँ। कारण, डरलाग्दो रूपमा संसारभर फैलिएको कोरोना भाइरस।
नेपालमा पनि संक्रमण देखिएपछि फैलिन सक्ने डरले सरकारले लकडाउन गरेको छ। म ६ कक्षा पढ्दासम्म धेरै प्रयोगमा नआएको शब्द 'लकडाउन' अहिले रेडियो, टेलिभिजन, युट्युब र विभिन्न माध्यमबाट बारम्बार सुनिरहेकी छु।
मैले कहिलेकाहीँ नेपाल बन्द मात्रै थाहा पाएकी थिएँ। त्यस्तो बेला स्कुल बन्द हुने भएकाले मलाई खुसी लाग्थ्यो। अहिलेको बन्दमा सब कुरा बन्द छन्। म पनि बाहिर निस्कन नपाएर घरभित्रै बन्द भएकी छु। यस्तो बन्द (लकडाउन) ले मलाई पटक्कै खुसी बनाएको छैन। न घुम्न, न साथीसँग खेल्न, न बाहिर गएर खान पाइन्छ।
एकपटक त मैले बाबालाई सोधेँ, 'किन यस्ताे लकडाउन?'
बाबाले भन्नुभयो, 'कोरोना भाइरस असाध्यै छिटो सर्ने रोग भएकाले। यो आफैं शरीरभित्र सर्दैन, अरू कसैबाट सर्छ। मान्छे एकआपसमा कम भेटघाट होस् भनेर सरकारले हाम्रै सुरक्षाका लागि गरेको हो।'
घरमै बस्दा राम्रो हुने जानेपछि म घरै बस्ने र घरमै बनाएको खानेकुरा खानेमा सहमत भएँ।
बाबामामु पनि घरमै हुँदा रमाइलो भइरहेको छ। सधैं अफिसबाट आएर 'होमवर्क सक्यौ छोरी?' भनेर सोध्ने बाबामामु अहिले पढाइबाहेकका कुरा पनि गर्नुहुन्छ। नयाँ–नयाँ कुरा घरमा सिक्न पाइरहेकी छु।
'तिम्रो बाबाले समाचार पढ्नुहुन्छ?' भनेर धेरैले सानाेमा मलाई सोध्नुहुन्थ्यो। मैले टाउको हल्लाएर 'अँ' मात्र भन्थेँ। बाबाले पढेको समाचार मैले कहिल्यै सुनेकी थिइनँ। मलाई उहाँ समाचार पढ्नुहुन्छ भन्ने मात्रै थाहा थियो।
आजकाल रेडियोमा समाचार पढ्न छाडेर बाबा मानिसलाई प्रेरणा बाँड्न थाल्नुभएको छ भन्ने थाहा पाएकी छु। उहाँ मान्छेलाई कसरी प्रेरणा बाँड्नुहुन्छ भनेर सोचिरहेकी हुन्थेँ।
स्कुल हुँदा पढाइ अनि मेरो बिदा हुँदा बाबामामुको बिदा नहुने। कहिले सँगै भइहाले घुम्न जाने। मैले यति नजिक भएर उहाँहरूलाई कहिले बुझ्नै पाएकी थिइनँ। केही समय दिक्क लागे पनि आजकल मलाई घर बसाइ रमाइलो लाग्न थालेको छ। यो बसाइ मेरा लागि नयाँ कुरा सिक्ने र बाबामामुसँग नजिकिने अवसर पनि हो।
म सधैं टिभीमा तारक मेहता, मोटुपत्लु लगायत कार्टुनमा रमाउँथेँ। यसपटक बाबाले मलाई सबभन्दा सानो उमेरमा नोबेल शान्ति पुरस्कार पाएकी पाकिस्तानी युवती मलाला युसुफजाईको प्रेरक भाषण हेर्न भन्नुभयो। मलाई निकै रमाइलो लाग्यो। उनले पुरस्कार पाउने बेलादेखि पछिल्लोपटक क्यानडामा दिएको भाषणसम्म नछुटाई हेरेँ। मलाई मनपर्ने हिरो आमिर खानको थ्री इडियट्स, तारे जमिन पर, सिक्रेट सुपरस्टार, दंगल लगायत फिल्म हेरिसकेकी मैले यसपटक उनको टिभी शो सत्यमेव जयते पनि युट्युबमा हेरेँ।
कोरोनाका कारण धेरै देशमा स्कुल बन्द भएपछि 'अमेजन' ले बच्चाहरूका लागि पढ्न मिल्ने र सुन्न मिल्ने किताब अनलाइनमा निःशुल्क राखेको छ। म stories.audible.com मा कथाहरू पनि सुनिरहेकी छु। घरमा सबै जना बस्दा कहिले योग, कहिले फिल्म त कहिले चेस, लुडो लगायत खेलेर समय बिताउछौं।
मलाई थाहा छ, कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु भइसकेको छ। ठूला देशमा पनि मानिस बिरामी छन् र मरिरहेका छन्। वैज्ञानिकहरूले औषधि बनाउने प्रयास गरिरहेका छन्। सबै मान्छे एकजुट भएर लागिपरेका छन्। हामी पनि घरभित्रै बसेर सरकारले भनेको मानिरहेका छौं।
यो समय धेरैलाई नकरात्मक सोच पनि आउलान्। मलाई भने घरमा रहँदा कति सकारात्मक कुरा हुन्छन् भन्ने लागिरहेको छ। आफ्नो परिवारसँग समय बिताउन पाउनु, उहाँको बच्चा बेलाको कुरा सुन्न पाउनु, कक्षाका किताबभन्दा बाहिरका किताब पढ्न पाउनु सकारात्मक कुरा हुन्। त्यसैले घरभित्रै बसे पनि खुसी बन्ने धेरै कुरा रहेछन्।
म कक्षा २ मा पढ्ने बेला नेपालमा भूकम्प गएको थियो। हामी घरमा बस्न नसकेर बाहिर बस्यौं। अहिले करिब पाँच वर्षपछि कोरोनाका कारण घरबाहिर नभएर भित्रै बसिरहेका छौं। सानैमा मैले धेरैवटा घटनाको अनुभव गर्न पाएँ। ती अनुभवले धेरै कुरा सिक्न पनि पाइरहेकी छु। यस्ता अनुभवले हामीलाई भविष्यमा आइपर्ने धेरै घटना सामना गर्न सिकाउँछन्।
मैले घर बस्दा पहिलोपटक यो लेख लेख्ने प्रयास गरेकी छु। लेखसँगै कोरोनाबाट कसरी बच्ने भन्ने सानो भिडिओ पनि तयार गरेकी छु। यो भिडिओ पनि योसँगै पोस्ट गरेकी छु।
पढ्नु र हेर्नु भएकोमा धन्यवाद!
(ईरा ज्ञवाली सेन्ट मेरिज स्कुल, ललितपुरमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]