सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नियमित तालिकाअनुसार चैत १३ देखि परीक्षा सुरू हुनेवाला थियाे। कोरोना भाइरस जोखिमका कारण फागुन २८ देखि चैत ५ गतेसम्म भयाे। वार्षिक परीक्षा सकाएर जन्मथलो सुर्खेत जाने मेराे योजना थियो।
हजुरबाआमा र मामाघरकी हजुरआमाले सधैं सोध्ने एउटै प्रश्न हुन्थियो, 'तिमीहरू घर कहिले आउँछौ?'
परीक्षा छिटाे सकिएकाले धेरै दिन उता बस्न पाइने भनेर मनमनै खुसी थिएँ। तर विश्वभर फैलिएको खतरनाक भाइरस कोभिड–१९ र अचानक भएको लकडाउनले मेरा सारा योजना केवल मानसपटलमै सीमित रहे। अहिले म महाराजगञ्जको भाडाको घरमा बाबा, आमा र सानी बहिनीसँग छु।
चञ्चले स्वभावका कारण छिनमै भित्रबाहिर अनि खेलिरहनुपर्छ मलाई। यसरी कोठामा कैद हुँदा उकुसमुकुस भइरहेको छ। तर पनि हाम्रो सुरक्षा र जीवन रक्षाका लागि सरकारले घोषणा गरेको लकडाउनलाई स्वीकार्नुको विकल्प पनि छैन।
साेचेकाे थिएँ, यसपालि घर गएर आफ्नै उमेरका दाजु नुतन, वासु, ऋषि, निशान्त, दिदी हिमानी र भाइ समिग, हिमान्सु, नैतिक र पोषणसँग रमाइलो गरेर बिताउँछु। वीरेन्द्रनगरमा रहनुभएका सम्पूर्ण आफन्तसँग भेटघाट गर्छु। मटन म:मका लागि सुर्खेतकै प्रसिद्ध होटल खड्का होटल र होटल थकालीमा म:म र सेकुवा खान्छु। सुर्खेतको गणेश चोकमा छोटु चाट पसलको चाट र पानीपुरी खान्छु।
पर्यटकीय गन्तव्य काँक्रेबिहार (सुर्खेत जिल्लाको दक्षिण भेग लाटीकोइलीमा छ) मा घोडामा सवार गर्छु। बुलबुले तालमा डुंगा खियाउँछु, खोर्के खोलाको जिरो ड्यामदेखि बयलकाँडा टेलिकम टावरसम्म हाइकिङ गर्छु। अनि सुर्खेतको लादेमा रहनुभएका जेठो हजुरबाका परिवारसँग भेटघाट गर्छु।
सरकारी जागिरको सिलसिलामा दैलेख रहनुभएका कान्छाबाबा, कान्छीआमा र सानो अति प्यारो भाइलाई भेट्छु र केही समय त्यहीँ बस्छु। त्यहाँका धार्मिक स्थल पञ्चदेवल, बेलासपुर माताको मन्दिर दर्शन गर्छु र बिदा सकाएर काठमाडाैं फर्किन्छु। त्यसबीच चितवनमा रहनुभएका माइलाबासँग भेट गरी सौराहा घुम्छु र जंगल सफारी गर्छु।
लकडाउनले मेरा सबै योजनामा तुषरापात गरेको छ। मन कुँडिएको छ। सम्झिएर कहिलेकाहीँ आखाँभरि आसुँ आउछ। मेरो खुसीमा एकाएक ठेस लागेको छ। आखिर जे भए पनि मैले काेठामै बस्नुबाहेक कुनै दोस्रो उपाय छैन। त्यही भएर याे समय रचनात्मक बनाउनेबारे साेच्न थालेँ।
एकदिन साहस बटुलेर बाबा र आमालाई भने, 'म लकडाउनको समय रचनात्मक तरिकाले प्रयोग गर्न चाहन्छु। मलाई हजुरहरूको सहयोगको खाँचो छ।' उहाँहरूले मतिर हेरेर मुसुक्क हाँस्दै टाउको मुसारेर सहयोग गर्ने वाचा गर्नुभयो।
कोराेनाले मलाई समय सधैं एकनासको हुँदैन र सबै कुरा आफ्नो बसमा पनि हुँदो रहेनछ भन्ने सिकाएकाे छ। याे समयलाई सदुपयाेग गर्नुपर्छ भनेर योजना बनाउन थालेँ। समय अभावका कारण विद्यालयमा पूरा हुन नसकेका पाठ अध्ययन र त्यसका अभ्यास समाधान गरेँ। माइलाबाबाले किनिदिनुभएको सामान्य ज्ञानसम्बन्धी पुस्तक अध्ययन गरेँ। त्यसैगरी, आफ्नो कोठा सफा गर्न र ओछ्यान मिलाउन थालेँ। त्याे काम मैले पहिला कहिल्यै गरेको थिइनँ। आमालाई भान्साका काममा सघाएँ।
मेरी सानी बहिनी छिन्। मलाई असाध्यै माया गर्छिन्। म पनि उनलाई धेरै माया गर्छु। खेल्ने, खुवाउने र बहिनीसँग समय बिताउन थालेकाे छु। घरबेटी अंकलको छोरा र मेरो साथीजस्तै मिल्ने भाइ विपीनसँग घरभित्र खेलिरहेकाे छु।
रमाइला टिकटक भिडिओ बनाउने, फिल्म हेर्ने, टाढा रहनुभएका आफन्तसँग फोन र अनलाइन कुराकानी गरिरहेकाे छु। लेख्ने सीप र सिर्जनशिलता विकास गर्न विभिन्न प्रकारका लेख लेख्ने प्रयास पनि गरिरहेकाे छु। यो लेख पनि त्यसैको परिणाम हो।
कोरोनाका कारण विश्वभर भइरहेकाे मानवीय क्षति एकदम पीडादायी छ। मजस्ता सबै विद्यार्थी साथीहरूलाई यस्ताे कठिन समयमा इमान्दारिता र धैर्यपूर्वक आज्ञाकारी भएर घरभित्रै बस्न र अध्ययन तथा सिर्जनशील काम गर्न अनुरोध गर्छु।
साथै, संसारले कोरोना भाइरसको पीडाबाट छिट्टै मुक्ति पाओस् भन्ने कामना गर्छु।
धन्यवाद!
(दीपकिरण आचार्य व्हिज किड्स इन्टरनेशनल स्कुल, विशालनगर काठमाडाैंमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]
यी पनि पढ्नुस्ः