सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
समय डरलाग्दो छ। विश्वव्यापी कोरोना भाइरस संक्रमणले निम्त्याएको प्रलयको समाचार हाम्रा कान कानमा गुञ्जिएको छ। जताततै यसकै कुराकानी चलिरहेको छ। हामी सबै इन्स्टाग्राम, फेस्बुक, ट्विटर जस्ता सामाजिक सञ्जाललाई माध्यम बनाएर विचार, समाचार बाँड्न र प्राप्त गर्नमा मग्न छौं। तर यस्तो समयमा सामाजिक सञ्जालमा विभिन्न स्रोतबाट सत्य तथा असत्य समाचार सूचना आउने हुँदा यसमै भर पर्नु खासै बुद्धिमानी नहोला।
अझै व्यापक रूपमा भन्दा, कोरोना संक्रमण अवधिमा दुई किसिमका मान्यता वा आचरण भएका मान्छे हामीले भेटेका छौँ- एकथरी संक्रमण विश्वव्यापी रूपमै जति वृद्धि हुँदै गए पनि नेपालमा कुनै हालतमा नभित्रिने निश्चित मानेर ढुक्क बस्नेहरू। अर्काथरी चौबिसै घन्टा संक्रमणसम्बन्धी तथ्यांक खोज्दै आत्तिएर आफू र अरूलाई पनि गलत समाचारले घेरेर तर्साउनेहरू ।
यस्ता किसिमका मान्छेलाई उपयुक्त सूचना प्रदान गरी कोरोनाविरुद्ध लडाइँ सही मार्गतर्फ डोर्याउँदै लैजानमा हामी केटाकेटीको ठूलो भूमिका देख्छौँ।
विभिन्न सरकारी तथा निजी कार्यालय, कारखानाका साथै विद्यालय पनि बन्दाबन्दीमा परेपछि हामी विद्यार्थीको दिनचर्याले नयाँ मोड लिएको छ। घरभित्रै क्वारेन्टाइनमा सीमित भएर बस्न बाध्य बनेपछि कतिपयलाई समय व्यर्थ गएको छ कि भन्ने लाग्छ।
पठनपाठन बन्द भएपछि कोठाका चार भित्ताभित्र हाम्रो दैनिक जीवन रूमलिएको छ। भर्खरै हतार हतार वार्षिक परीक्षा सकियो। अहिलेसम्म नपाइएको लामो बिदा पनि पाइयो। तर हातमा खासै केही काम नहुँदा हामी विभिन्न भित्री मनोरञ्जनका माध्यमतर्फ लीन भएका छौं।
विद्यालयले हामीलाई दिएको चालिस दिन बिदामा हामीले सामाजिक सञ्जाल तथा टिभी, फोनमा झुन्डिएर व्यर्थ जान नदिने अठोट लिएका छौं। बाहिरी मनोरञ्जन गर्न नपाउँदा हामीलाई नरमाइलो लाग्नु त स्वाभाविक नै छ। तर यो समयको सही सदुपयोग गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कोरोना संक्रमणको यो समय भय र त्रासको समयमा परिणत हुन नदिई चरित्र तथा सीप विकास गर्न सकिने अवसर रूपमा लिएका छौं।
चित्रकला र बोलीवाचन तथा छलफलमा रूचि लाग्ने हुनाले हामीले आफूलाई यस्ता क्रियाकलापमा समर्पित गरेका छौं। बेलुका समयमै सुतिसक्ने, बिहान चाँडै उठ्ने, आफ्नो ओछ्यान मिलाउने, कोठा सफा राख्ने, खाएको भाँडा माझ्ने जस्ता साना अठोटद्वारा हामी आफ्नो आचरण विकासतर्फ अग्रसर छौं। र यस्ता क्रियाकलापलाई नै यस संक्रमणको औषधिका रूपमा लिएका छौं।
कोरोना महामारी भए पनि यसको मृत्युदर कम छ। प्रतिरोधात्मक शक्ति बलियो हुँदा संक्रमण भए पनि निको हुने सम्भावना एकदमै धेरै हुन्छ। साथै चारैतिर रोगका ब्याक्टेरिया र भाइरस अदृश्य उपस्थित हुनाले शरीरभित्र प्रवेश गर्न नदिन प्रतिरक्षा नै बढाउनु पर्ने रहेछ भनेर हामी लागि परेका छौं। आफ्नो सम्पर्कमा आउनेलाई पनि उत्प्रेरित गरेका छौं।
यसै अनुरुप, पर्याप्त मात्रामा (कम्तिमा आठ घन्टा) सुत्नु राम्रो हुन्छ। हामीले घरेलु खानेकुरामै जोड दिएका छौं। हिजोआजका हामी बालबालिका विभिन्न अस्वस्थ पत्रुखानामा आकर्षित भएको तथ्य अस्वीकार्न सकिँदैन। यो संकटकालीन अवस्थामा बाहिरका खाद्यपदार्थ अस्वस्थकर नै हुने बुझेर हामीले आफ्नो खानपिनमा परिवर्तन ल्याएका छौं। सधैं र विशेष यस्तो बेलाम पत्रुखानाबाट जति टाढा रहन सकियो, प्रतिरोधात्मक शक्ति त्यति नै बढ्छ।
प्रकोप बढ्दै जाँदा विश्वव्यापी समाचार मुख्यतया कोरोनामै केन्द्रित देखिन्छन्। हुनत संगठनको अभिप्राय सूचनामूलक छ, तर त्यस्ता समाचारको निरन्तर प्रवाहले असुरक्षित महशुस गराउन सक्छ। विशेष गरी क्वारेन्टाइनको तनावमा। समाचार सुन्दा अधिकांशलाई तनाव हुने स्वाभाविक छ।
यसकारण आफ्नो घरभित्र तनावपूर्ण, उराठलाग्दो वातावरण हटाएर आपतकालीन अवस्थामा पनि रमाइलो, आनन्दपूर्ण वातावरण सिर्जना गर्नुपर्छ।
हामीले गीत, मधुर धुन बजाउने, परिवारसँग गफ गर्ने, संक्रमणसम्बन्धी चिन्ताबाट दिमाग मोड्न घरमै विभिन्न विषयमा प्रस्तुति गर्ने, वाक प्रतियोगिता, हाजिर जवाफ, हिज्जे र नेपाली तथा अंग्रेजी लेखन प्रतियोगिता, अन्ताक्षरीलाई प्राथमिकतामा राखेका छौं। साथै आजका युगीन समस्या, करिअर, विभिन्न किसिमका अनुसन्धानबारे छलफल र परामर्श पनि गर्छौं। किताब पढ्ने, जिज्ञासा लागेका विषय अध्ययन गर्ने, फिल्म हेर्ने, बास्केटबल, ब्याडमिन्टन, चेस खेल्ने, विभिन्न परिकार पकाउने त अन्य विकल्प भइहाले।
आमाबुवाले यस समयमा आफ्ना छोराछोरीसँग कुरा गर्ने, उनीहरूको मनोकांक्षा बुझ्ने र सँगै समय बिताउनेमा जोड दिनुपर्छ। दिनभर दिमागलाई यस समस्याबाट मोड्न अनावाश्यक समाचार हेर्ने जा सामाजिक सञ्जाल चलाउने बानी हटाउनुपर्छ। आफ्ना भाइबाहिनी, घरका सहयोगी दाइदिदीलाई यसबाट सुरक्षित रहन सिकाउनु पनि हामीले आफ्नै दायित्त्व सरह लिनुपर्छ।
हाम्रै उमेरका दाजुभाइ-दिदीबहिनीलाई पनि आफ्नो यस्तो समयलाई यस्तै माध्यमबाट आफ्ना सोख पछ्याएर सदुपयोग गर्न आग्रह गर्छौं। साथीभाइ भेट्ने निहुँमा अनावश्यक रूपमा घरबाट बाहिर निस्कने प्रवृत्तिमा सुधार ल्याउन जरूरी छ। तर यसको अर्थ कोठाभित्रै थुनिएर बसिरहनुपर्छ भन्ने पनि होइन। यसरी काम नभएर के गरूँ के भएको अवस्थामा परिवारसँग समय बिताए घरमा रमाइलो र प्रेमको वातावरण सिर्जना पनि हुन्छ।
श्वास-प्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, विशेषगरी धूमपान गर्ने र दमका रोगी हाम्रै घरपरिवारमा हुन सक्छन्। यस्ता विरामी तथा ज्येष्ठ सदस्यमा संक्रमण सम्भावना बढी भएकोले हाम्रा साथी र परिवारमाझ महामारीबारे जानकारी फैलाउनुपर्छ। विभिन्न माध्यमबाट सावधानी अपनाउन पनि अत्यावश्यक छ।
हामी तीन पुस्तासँगै बस्ने हुनाले हुँदा हाम्रो प्राथमिकता नै हजुरआमा-हजुरबुवालाई संक्रमणबाट जोगाउनु हो। उहाँहरूलाई यसले छिटो समात्ने हुँदा उहाँहरूबीच दूरी कायम राख्ने, प्रत्यक्ष अन्तरक्रिया घटाउने, बाहिरबाट आएका पाहुनालाई उहाँहरूसित भेटघाट गर्न नदिने जस्ता उपाय हामीले अपनाएका छौं। उहाँहरूको भजनकीर्तनमा जाने, मन्दिर दर्शन गर्ने रहर पनि दबाएरै राख्न आग्रह गरेका छौं।
हाम्रा बुवा चिकित्सक भएकाले हामीले उहाँबाट निरन्तर यससम्बन्धी जानकारी पाइरह्यौं। के गर्न हुने-नहुने भन्नेबारे थाहा पायौं। तर अरू सबैलाई यो सुविधा हुँदैन। देशभरका दाजुभाइ, दिदीबहिनी, खासगरी गाउँमा बस्ने हाम्रै उमेरकाहरू भने यस्ता सही जानकारीबाट वञ्चित छन्।
कतिपयका त अभिभावकलाई नै जानकारी छैन। यसले गर्दा उहाँहरू सामाजिक सञ्जालमा आएका समाचार र सूचनामा पूर्णरूपमा भर पर्नुहुन्छ जुन कहिलेकाहीँ गलत हुनसक्छ। अनि परिवारले पनि अनुपयुक्त जानकारी पाउँछन्। यो निकै घातक पनि ठहरिन सक्छ।
यसकारण यस विषयबारे राम्रो जानकारी भएकाले आफ्नो घरपरिवारमा बुझाइदिन र देशभरका बाआमा तथा जान्नेबुझ्ने सदस्यलाई पारिवारिक स्वास्थ्य जोगाउन चुरोट तथा मद्यपानबाट टाढा रही यो महामारी संक्रमण प्रभाव न्यूनीकरण गर्न सहयोग गरिदिनुहोला।
(युगोत्तम र युगेश्वर कोइराला कक्षा नौमा अध्ययनरत विद्यार्थी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]