सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार, म समिता पौडेल। लमजुङ जिल्लाको इनसाइट भिजन एकेडेमीबाट भर्खरै कक्षा आठको परीक्षा दिएर बसेकी छु।
परीक्षा सकिएको दिन चैत ५ गते मेरो खुसीको सीमा थिएन।
'अब त बिदा भयो, एक महिनाका लागि। यही समयमा म सम्भव भ्याएसम्मका विभिन्न ठाउँ घुम्नेछु भन्ने थियो। मेरो बाबा शिक्षक हुनुहुन्छ। स्थानीय साप्ताहिक पत्रिकाको सम्पादन पनि गर्नुहुन्छ। यही समयमा बाबाको पनि बिदा र फुर्सद हुने भएकाले केही ठाउँ घुम्ने हाम्रो सल्लाह भएको थियो। खासगरी लुम्बिनी घुम्ने र हाम्रै जिल्लाको पर्यटकीय गाउँ घलेगाउँमा जाने कुरा थियो।
म त्यसैको कल्पनामा रमाइसकेकी थिएँ।
ममी व्यापार गर्नुहुन्छ। स्टेशनरी र कम्प्युटरको काम गर्ने हाम्रो पसलमा बाबा विद्यालयबाट आएपछि सधैंजसो त्यतै व्यस्त हुनुहुन्छ। बेलुका बाबाले एसइई परीक्षा स्थगित भएको समाचार लिएर आउनुभयो। विश्वमा हाल फैलिरहेको कोरोना भाइरसका कारण विद्यार्थीहरूको सुरक्षाका लागि केही समयअघि मात्र एसइई परीक्षा स्थगित भएको बताउनुभयो।
सँगै सामाजिक सञ्जालमा देशभर यातायातहरू नचल्ने भनेको कुरा पनि बाबाले सुनाउँदा मेरो मन त्यसै ओइलायो।
सोचेँ, 'बरू भोलि बिहानै घुम्न जाऊँ भन्नुपर्छ कि क्या हो।' बाबालाई यही कुरा भनेँ।
'घुम्न गएका हामी उता पुगेपछि आउन पाइएन भने के गर्ने? अवस्था बुझेर पछि जाउँला,' बाबाले यही भन्नुभएको थियो।
बाबाममीको कुरामा सहमत भएर म टिभी हेर्न थालेँ। टिभीमा रमाइला रमाइला कार्टुन, सिरियल हेर्दै एक-दुई दिन बिते। सधैं पढ्ने, लेख्ने र होमवर्क गर्दा यसो टिभी हेर्न पाए पनि कस्तो आनन्द आउने थियो जस्तो लाग्थ्यो। तर, दिनभरी टिभी हेर्दा पनि अत्यास लाग्दो रहेछ।
एकदिन बिहान म ममीलाई खाना बनाउन लगाएर पसलमा गएर बसेँ। बिहानै पसल खोलेको मात्र के थिएँ, दुईजना पुलिस आएर पसल बन्द गर्न लगाए। मलाई थाहा भएन के भएको भनेर। वरपरका पसलहरू सबै खुला थिए। सबैले सटर लगाउन थालेपछि मैले पनि घरमा बाबालाई फोन गरी पसल बन्द गरेर घर गएँ।
विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा फैलन नदिन सरकारले भिडभाड हुने पसल, यातायात र ठाउँहरू बन्द गर्न लगाएको रहेछ। सरकारले लकडाउन गरेको कुरा बेलुका समाचारबाट थाहा भयो।
मलाई लाग्यो, अब कतै जान नपाइने भयो। यो बेलामा टिभी पनि कति हेर्ने? के गरेर दिन कटाउने? टिभीमा पनि सधैं कोरोना भाइरस सर्नबाट जोगिन के गर्ने भन्ने सन्देश मात्र प्रशारण भइरहेका छन्। खुबै अत्यास लागेर आयो।
घरमा पुस्तकहरू पनि धेरै नै छन्। तर मैले बुझ्ने किसिमका छैनन्। एकदिन ममीले चलाउने मोबाइल लिएर टिकटकमा विभिन्न कुराहरू हेर्दै बनाउँदै गर्न थालेँ। मैले यसो गर्दा मेरो कक्षा दुईमा पढ्ने भाइ सुसेन पनि मेरोपछि लाग्दै आउँथ्यो। हामीबीच मोबाइल चलाउने निहुँमा झगडा पर्न थाल्यो।
बाबाले यो थाहा पाएर बरू नयाँ-नयाँ सिर्जना गर्न लगाउनुभयो। सोही अनुसारका भिडिओ युट्युबमा हेर्न लगाउनुभयो।
मैले बाबाले भनेअनुसार नै गरेँ। युट्युबमा नयाँ-नयाँ कुराहरू सर्च गरेर सिक्ने अवसर पाएँ। साथै भान्सामा ममीले खाना बनाएको समयमा सघाउन थालेँ। त्यसबाट मैले धेरै कुराको ज्ञान आर्जन गरेँ। सधैंजसो पढ्न र विद्यालय जानमै व्यस्त हुने म र भाइ अनि आ–आफ्नो काममा व्यस्त हुने मेरो बाबा ममीसँगै उहाँहरूकै कुरा सुन्न थालेकी छु। नयाँ नयाँ समाचारहरू सुन्न, हेर्न र विभिन्न किसिमका सीप सिक्दा आफैं खुसी भएकी छु।
यतिखेर कहिले चित्र बनाउने, कहिले युट्युबमा विभिन्न क्राफ्टहरू हेर्ने, नयाँ कुरा सिक्ने, खानाका परिकारहरू बनाउने तरिका सिक्ने, पुराना सामानहरूलाई कसरी पुनः प्रयोग गर्न सकिन्छ भनेर हेर्ने, बाबाममीलाई घरायसी काममा सघाउने जस्ता काम गर्दा खुबै आनन्द आउँदो रहेछ।
यसअघि हामी परिवारका सबै सँगै बसेर बिहानको खाना खान पाउँदैनथ्यौं। सबै सँगै बसेर खाना खाने र जस्तोसुकै काम गर्दा पनि आनन्द आउने रहेछ भन्ने अनुभव मैले गरेकी छु।
अँ, साँच्ची एउटा कुरा त लेख्नै बिर्सेकी। हाम्रो घरको छतमा धेरै गमलामा फूलहरू फूलेका छन्। ती गमलाका फूलहरू गोडमेल गर्ने, मल राख्ने र डाँठ काटेर अर्को गमलामा सार्ने काम बाबाममी र म मिलेर दुई दिन लगाएर गर्यौं।
घरको भर्याङ छेवैमा दुई वटा माटाका खुत्रुकेलाई भँगेराको गुँड बनाइएको छ। त्यहाँ भँगेरा र भँगेरी आवतजावत गरिरहेका छन्। मैले सानोमा पढेको भँगेरा र भँगेरी कविता सम्झँदै तिनीहरूको ओहोरदोहोर हेरिरहेकी छु। भाइले दुई कक्षामा पढ्ने किताबमा त्यो कविता छ। भाइलाई पनि त्यही सम्झाउँदै देखाउने गरेको छु। भित्र बचेरा रहेछन् कि कुन्नी, टाढाटाढाबाट आहारा ल्याउँछ।
पहिले त्यो भँगेरा नजिकैको तारमा बस्छ। यताउता हेर्छ, अनि गुँडमा बनाइएको टेक्ने ठाउँमा आउँछ र भित्र पस्छ। अनि केही बेरमा निस्कन्छ। हाम्रो जस्तै तिनीहरूको पनि दिनचर्या छ।
तर, हाम्रो छतको खोरमा भएका एक जोडी खरायो भने सधैं खोरभित्रै थुनिएका छन्। बिहान घाँस र अरू खानेकुरा खाएपछि दिनभर सुतिरहन्छन्। ती खरायो र हाम्रो दैनिकी उस्तै भएको छ आजकल। उता भँगेराहरू स्वतन्त्र भएर उडिरहेका छन्। उनीहरूलाई लकडाउनको केही वास्ता छैन।
आकाशमा उडिरहेका चरा जस्तै उड्न पाए म उहिल्यै काठमाडौं पुगिसक्थेँ होला। फेरि घर आउँथेँ होला। यस्तै सोचाइ पनि आउँछ।
सम्भव हुने कुरा मात्र गर्ने हो, असम्भव कुरा र ज्ञान आर्जन नहुने कुरामा समय खर्च गर्न हुँदैन भनेर बाबाले भन्ने गरेको सम्झिन्छु।
'एक दिनमा कम्तिमा एउटा नयाँ कुरा सिक्यो भने एक वर्षमा कति धेरै कुरा जानिन्छ, त्यसैले दिनदिनै एउटा नयाँ कुरा सिक्नुपर्छ' भन्ने बाबाको कुरा सम्झेर सिक्न, खोज्न र गर्न थालेकी छु यतिखेर।
घर पछाडि सानो करेसाबारी छ। बाबाले त्यहाँ घिरौंला र काँक्राका बिरुवा हुर्काउनु भएको छ। यो समयमा बाबाले तिनीहरूको स्याहार गरेको झ्यालबाट हेरिरहन्छु। लहरा जानको लागि बाँस गाडेर टाँड जस्तो बनाइदिनु भएको छ। यतिखेर मलजल गर्ने तरिका पनि सिकेँ मैले। कक्षामा 'अकुपेशन विजनेस एण्ड टेक्नोलोजी'मा पढेका कुरा यस्तो काम लाग्दो रहेछ। यसअघि मैले यी कुनै कुरामा ध्यान दिएकी थिइनँ।
एउटा छेपारो पर्खालबाट यताउता गरिरहन्छ। यसले घिरौंला र काँक्राका बिरुवा काट्छ भनेर ममी त्यसलाई लखेट्नुहुन्छ। करेसाबारीमा कसरी बिरुवा उमार्ने र सार्ने, स्याहार गरेर कसरी फल्ने बनाउने भन्ने कुरा बाबाममीसँग सोधेर सिक्ने अवसर पाएँ। अर्को वर्ष यो काममा सघाउनुपर्ला भन्ने सोचेकी छु।
घरछेवैमा भक्तपुरबाट माटोका भाँडा बनाउने व्यक्तिहरू आउँछन्। तिहार सकिएपछि पोहोर पनि आएका थिए। अहिले माटाका भाँडा बनाइरहेका थिए।
'कालो माटो कहाँबाट ल्याउँछन्, कसरी भाँडा बनाउँछन् र ती भाँडा कसरी रातो हुन्छन् गएर हेर,' बाबाले भन्नुभयो।
म र भाइ त्यहाँ गएर टाढै बसेर हेर्यौं। अरू कुरा भने सोध्न सकिनँ। भाँडा बनाएर सकिनै लागेका थिए। अस्ति भर्खरै भाँडा पोलेर रातो बनाएको बाबाले देखाउनुभयो। भाँडा बनाएर सकियो रे। अब उनीहरू घर जाने समय हो रे। तर, लकडाउन भएकोले उनीहरू पनि त घर जान नपाएर बसिरहेका छन्।
लकडाउन भनेको हामी सबै जहाँ बसेका छौं, त्यहाँ सुरक्षित भएर रहने हो भनेर बाबाले भन्नुभएको थियो। तर कोही कोही मानिसहरू बाटोमा ओहोरदोहोर गरिरहेका पनि छन्।
बाबा भन्नुहुन्छ, 'यसो गर्न राम्रो होइन। एउटालाई रोग लाग्यो वा भाइरसले आक्रमण गर्यो भने उसँग भेट भएका सबैलाई सर्ने सम्भावना हुन्छ। त्यसैले कतै हिँडडुल गर्नु हुँदैन।' मैले यो कुरा बुझेकी छु।
म जन्मिनुअघि बाबाले कम्प्युटर इन्स्टिच्युट राख्नुभएको थियो रे। अहिले पनि कम्प्युटरको काम गर्नुहुन्छ। विद्यालयमा पनि कम्प्युटरै पढाउनुहुन्छ। त्यसैले हाम्रो घरमा पहिलेदेखि नै कम्प्युटर र ल्यापटप थिए।
बाबा र ममी पसलमा यसैबाट धेरै काम गर्नुहुन्छ। मैले पनि कम्प्युटर चलाउन जानेकी छु। बाबाले नेपाली टाइप गर्न सिकाउनुभएको छ, सिक्दै छु। कक्षामा सिकेको ज्ञान अहिले कम्प्युटरमा खोजिरहेकी पनि छु।
बाबा कम्प्युटरमा विभिन्न पत्रपत्रिकाहरू पढ्नुहुन्छ। बिहीबार बिहानै बाबाले सेतोपाटी अनलाइनमा केटाकेटीहरूका लागि लेख श्रृंखला सुरू भएको रहेछ भनेर देखाउनुभयो। मैले पनि आफ्ना अनुभव लेख्ने विचार गरेँ।
बाबाकै सुझावअनुसार लेखेँ। सकेपछि बाबालाई देखाएँ। नमिलेका केही शब्द बाबाले सच्याई दिनुभयो। बाबालाई टाइप गर्न लगाएर पठाएकी हुँ।
मजस्तै कति विद्यार्थीहरू लकडाउनका समयमा बाहिर निस्कन नपाएर छटपटाई रहनुभएको छ होला। तपाईंहरू पनि म जस्तै सिर्जनशील काममा लाग्नुहोस् भन्न चाहन्छु।
कोरोना भाइरस फैलिन नदिन दिनभर घरमा बस्ने, साबुनपानीले पटक-पटक हात धोइरहने, प्रशस्त झोलिलो खानेकुरा खाने र यस्तै सिर्जनशील काममा लाग्नुभयो भने धेरै ज्ञानआर्जन गर्न सकिने रहेछ। हामीले किताबमा नपढेका कुराहरू घरमा सिक्न पाइने रहेछ।
तपाईंहरूलाई कस्तो लाग्छ, यसैगरी अनुभवहरू लेख्दै गर्नु। धन्यवाद।
(समिता पौडेल इनसाइट भिजन एकेडेमी, सुन्दरबजार, लमजुङमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]
यी पनि पढ्नुस्ः