एक शिक्षकलाई केही समयअघि सार्वजनिक गाडीमा एक युवतीमाथि सुइँ रोपेको आरोपमा निर्घाट कुटपिट गरियो। अनुसन्धान पश्चात उनी निर्दोष सावित भए। यस विषयले सामाजिक सञ्जाल तातेको थियो।
यो त भयो सञ्जालमा छरिएको एक किस्सा। कुटपिटले अनुहारको नीलो त मल्हमले जाला, हृदयको ‘नीलो’लाई कसरी पखाल्ने ? प्रतिष्ठाको दुखाइ त त्यही हो नि, के पुरुष, के महिला?
यस्तै घटनाको म पनि प्रत्यक्षदर्शी छु।
छ महिनाअघि सार्वजनिक गाडीभित्र यात्रा गर्दै थिएँ।
भीडबाट एक महिला चिच्याइन्,‘घरमा दिदीबहिनी छैन कि क्या हो? अर्काको शरीरमाथि हात हाल्छस्? ’ महिलाको चिच्याहटमा सबैको ध्यान आकर्षित भयो।
एकक्षण पछि त्यो पुरुष कालो नीलो भएर गाडीबाट नै झर्यो। पछि पो कुरा बुझियो, त्यो बाहिरिने पुरुषको कुनै दोष थिएन। त्यो पनि पछाडिको एक महिलाबाट नै धकेलिएको रहेछ।
यो कुरा वरिपरिको अरु प्रत्यक्षदर्शीहरूले खुलासा गर्दा पो बुझियो।
पछाडिबाट धकेल्ने महिलाले पनि आफू अरुबाट धकेलिएर, धकेल्न पुगेको स्वीकारिन्।
कसैले दिएको पहिलो धक्का, दोस्रो, तेस्रो र चौथो हुँदै फैलिने क्रममा, एक सकुंचित विचारधारा भएकी महिलासम्म पुग्दा चड्कनको रूप लियो।
एक निर्दोष पुरुषले गर्दै नगरेको गल्तीको सजायको सिकार हुनु परेको यो एक प्रतिनिधि घटना मात्र हो।
काठमाडौं सहरमा दिनहुँ ओहोरदोहोर हुने यस्ता सार्वजनिक सवारीका गाडीमा यस्ता घटना त कति पुनरावृत हुँदा हुन्।
पुरुषभित्र हुने मर्यादा र सामाजिक मूल्य-मान्यतालाई यस्ता घटनाले कुण्ठित पारेका छन्।
गाडीभित्र पुरुषले महिलालाई छोइयो कि नियतवश छोइयो भनी परिभाषित गर्ने एक महिलाको झुण्डले गाडीभित्र पुरुषहरू निकै सर्तक र सजग हुनु परेको अवस्था सृजित भएको छ।
सार्वजनिक गाडीभित्र महिलामाथि हुने दुर्व्यवहार निकै जल्दोबल्दो विषय हो। तर, त्यही गाडीभित्र हुने पुरुषप्रतिको दुर्व्यवहारको न चर्चा हुन्छ न त परिचर्चा नै।
महिला हिंसामाथि हुने यो घटना अहिले यति ताजा छ कि संकुचित भावना राख्ने एकाध पुरुषको कारण पुरुषवर्ग नै लज्जित हुनु परेको अवस्था छ।
पहिलो कुरा, नेपालको कुनै पनि सवारीमा सिट संख्याको प्रबन्ध गरेको छ । यदि त्यो नियम पालन भएको भए, त्यहाँ सहजताले यस्तो दुर्व्यवहारले प्रश्रय पाउँदैन्थ्यो। परन्तु, सम्बन्धित निकायबाट नै यसको ठाडो उल्लंघन भएको पाइन्छ।
भीडभाडमा कुनै पनि ट्राफिक प्रहरी आएर, सार्वजनिक गाडीभित्र यात्रुहरूका टाउका गनेको पाइएको छैन।
‘यो फलानो सवारी हो, यस्मा किन यति टाउको बोकिस् ? भनी प्रश्न गरेको पाइँदैन। जति मन लाग्यो, त्यति यात्रुलाई कोचाकोच गर्ने काठमाडौं सहरको सार्वजनिक गाडीमा महिलाले पुरुषलाई छुनु र पुरुषले महिलालाई हल्का धक्का दिनु सामान्य कुरा हो।
बाध्यता र विवशतामा छोइएको त्यो अवस्थालाई महिलामाथि पुरुषको दुर्व्यवहार मान्ने हो भने अर्को अर्थमा पुरुषमाथि महिलाको पनि दुर्व्यवहार मान्नुपर्छ।
भीडभाडमा परिस्थितिवस हल्का छोइनुलाई अन्यथा लिइनु हुन्न। यस्तो अवस्थामा महिला र पुरुष दुवैले एक अर्कोको परिस्थिति बुझेर, सहज यात्रा गर्नुपर्छ।
कैयौं महिलाहरू त यस्तो असहज परिस्थितिलाई नजरअन्दाज गरी ‘अर्काको शरीरमाथि हात हाल्छस्? घरमा दिदीबहिनी छैन?’ भनेर पुरुषमाथि ठेस पार्ने अपशब्द प्रयोग गर्न पनि चुक्दैनन्।
सबै पुरुष खराब नियतका हुँदैनन्। कतिपय स्पर्शलाई गलत अर्थमा लिनु हुन्न। संकुचित विचार बोकेका यस्ता महिलाले पुरुषमाथि सार्वजनिक गाडीमा दुर्व्यवहारमात्र भएको छैन, गाडीभित्र सवार हुने कैयौं उदार विचार बोकेका महिलाभित्र पनि डर र त्रास उमारिदिएका छन्।
साँच्चै त्यो कड्किने युवतीमाथि त्यो पुरुषले चिमोटेकै हुन् कि? उनको संवेदनशील अङ्गमा छोइएकै हो कि ? भन्नेखालको शंका र उपशंका अरु महिलामा पनि विस्तार गरी महिलाभित्र कलुषित विचारको क्षेत्रफल बढाइदिन्छ।
एउटी महिला गाडीभित्र एउटा पुरुषको अनजान स्पर्शमा कड्किए जस्तो, एक पुरुष महिलाको स्पर्शमा ‘अर्काको शरीरमाथि हात हाल्छेस् ? घरमा दाजुभाइ छैन ?’ भनी अपशब्द प्रयोग गर्ने हो भने महिलाको सामाजिक प्रतिष्ठामा कस्तो धब्बा लाग्ला, त्यो विचारणीय छ।
सार्वजनिक गाडीमा महिलामाथि दुर्व्यवहार पुरुषलाई भन्दा बढी हुन्छ, त्यो सत्य कुरा हो।
यदि कोही पुरुष यस्तो दुर्व्यवहारमा संलग्न हुन्छ भने उसमाथि कारबाही नै चलाइयोस्। यसको अर्थ यो हैन कि सार्वजनिक गाडीभित्र हुने प्रत्येक पुरुष स्पर्श, धक्का र समीपता यौनआवेगकै तरंग हो।
महिलाहरूको पीडालाई आत्मसात गरी कैयौं पुरुषहरू महिलालाई आफ्नो भागको सिट दिएर आफू भीडमा उभिदिनेहरू पनि छन्।
कुनै पनि महिलाले यसरी सार्वजनिक गाडीमा पुरुषलाई सिट छोडेको घटनाको अपवादको पनि यता चियो छैन। यदि सबै पुरुषहरू खराब नियतका दास हुन्छन् भने किन महिलाको शरीरलाई सम्मान गरी आफू गाडीको भीडमा निस्सासिन जान्छन्? महिलाको शरीरलाई इज्जत गर्ने पुरुषको इज्जतलाई महिलाले पनि इज्जत गर्नुपर्छ।
सार्वजनिक गाडीमा महिला मात्र हैन, पुरुष पनि शारीरिक र मानसिकरूपमा पीडित छन्।
पुरुषको पीडाको आवाज खोइ ? एउटा पुरुष हुनु नै अभिशप्त जस्तो हीन भावना पालेर गन्तव्य पछ्याउनु परेको छ, कैयौं पुरुष यात्रुले काठमाडौंका सार्वजनिक गाडीहरूमा, त्यो पीडा केवल पुरुषले मात्र अनुभव गर्न सक्छ।
सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसाको मात्र होइन अब पुरुषमाथि थोपरिने हिंसाको पनि बहस आवश्यक भइसकेको छ।
के थाहा भोलिको दिनमा, गर्दै नगरेको गल्तीमा गालादेखि दिलसम्म दुख्ने पुरुषमा हामी पो परौला कि !