०४८ सालको अन्त्यतिर म बासँगै धनगढीबाट भारत पसें। गौरीफन्टा नाकाबाट खै कता हो कता हुँदै खजुरिया निस्किएर बेलौरी पुगें।
नेपालबाटै त्यहाँ पुग्ने बाटो उति राम्रो थिएन, धूलाम्मे बाटो, गाडी पनि फाट्टफुट्ट चल्ने। कर्णालीको बाटो कालोपत्रे भइसक्यो तर कलुवापुरबाट बेलौरी जाने २७ किलोमिटर बाटो अहिलेसम्म कालोपत्रे भएको छैन। उनीहरू भन्छन्: लफडा छ यो बाटो बन्न। अझै पाँच वर्ष त ‘कन्फर्म’ बन्दैन।
कञ्चनपुर जिल्लाको यो सानो सहर एक दशकअघि सदरमुकामको उपाधि खोसिएर झोक्राइरहेझैं लाग्थ्यो। यहाँबाट सदरमुकाम महेन्द्रनगर सारिएछ।
त्यसैले होला चहलपहल, भीडभाड, तामझाम, व्यापार व्यवसाय त्यति विधि देखिन्नथ्यो। होस् पनि कसरी न कालोपत्रे सडक थियो, न एयरपोर्ट। पहुँचबाट टाढा भएपछि सुस्ताउने नै भयो।
महाकाली मावि।
बजारको छेऊमा रहेको पहेलो रंग लगाएको पुरानो स्कुल । मेरो बालकालका कक्षा पाँचमा पढ्दा ताकाका नौ महिना यहीँ बितेका थिए । पढाइमा फन्टुस अनि चकचक र बद्मासीमा अब्बल मलाई महाकाली स्कुल र बालसखाहरूले खुब झेले होलान्।
सबै कुरा त सम्झना छैन।
सम्झना छ त बा काम गर्ने वाणिज्य बैंकमा कारोबार गर्न चाबी नभएको साइकल लिएर आउने प्रत्येकजसो ग्राहकको प्रतीक्षा गरेको।
पहिलो पटक ओनिडाको ब्ल्याक एन्ड ह्वाइट टिभी हेरेको।
पहिलो पटक वर्षायाममा पानी जम्ने बाटोमा पुल नहुँदा भारतीयहरूले चलाएको सानो डुङ्गा चढेर पटक पटक बासँगै पार गरेको ।
हामी भाडामा बस्ने गैरे अंकलको घरको भित्तोमा अफिस टाइमपछि झुण्डिने बाको ‘प्यान्ट’को गोजीबाट दैनिक पाँच रुपैयाँ झिकेर लेदरको पर्स किनेको।
त्यै पर्स ‘कहाँबाट ल्याइस्’ भनी बाले सोध्दा उत्तर दिन नसकेर सातो गएको।
सबै सम्झनामध्ये साइकल पहिलो नम्बरमा आउँछ।
बेलौरी छोडेपछि पनि साइकल जीवनको अभिन्न अंग बनिरह्यो, त्यसैले पनि होला। बैंकमा आउने ग्राहक बाहिर साइकल अड्याएर कारोबार गर्न छिर्थे म भने साँचो नलगाएको साइकल खोजेर डोर्याउदै पर्तिर खुलामञ्चको चउरमा लैजान्थे, सिक्नको लागि।
फुच्चे भएकोले एकैचोटि माथि उक्लिएर सिक्न सक्दिनथें। कोही मलाई पछाडिबाट थामिदिने सहयोगी थिएनन्। त्यसैले एक हातले डण्डीमा च्याप्प समात्थे अनि अर्को हातले ह्यान्डलमा झुण्डिएझैं गरेर साइकलभित्र घुस्थें र चलाउन कोशिस गर्थें। सिकारुहरू ‘कैची स्टाइल’ भन्दा रहेछन् यसलाई। यसरी सिक्दा कतिपटक पछारिए ? कतिवटा पाइन्टको सिलाई उध्रियो ? घाममा कति पसिना चुहिए ?
त्यतिखेर नयाँ नयाँ हिन्दी फिल्मको क्यासेट ल्याएर भिडिओ देखाउने खुब चलनथ्यो तराईमा। भिडियो हेर्नेको भीड हुन्थ्यो बजारमा। खुब चलेका थिए साजन, सौदागर, हम, सडक, चाँदनी, त्रिदेव जस्ता फिल्म।
तर मलाई रामकृष्ण दाइको भिडिओ हलमा गएर फिल्म हेर्न भन्दा साइकलै प्यारो थियो। सोच्थे ‘हिरोइन पो छैन, नत्र हिरो मै हुँ।’
हुन त कहाँ मोटरसाइकल, गाडीमा कुद्ने फिल्मको हिरो, कहाँ म अर्काको साइकल झ्याप मारेर ‘कैँची स्टाइल’मा चलाउने जिरो।
चैत वैशाखको टन्टलापुर गर्मीमा मान्छेहरू आक्कल झुक्कल घरबाहिर निस्किँदा म भने खट्याक खट्याक गर्दै देब्रे गोडाले साइकलको ‘प्याडल’ दबाउँथें अनि दाइने गोडाले उठाउँथें। साइकल सिक्ने खुलामञ्चको बीचैबीच दुइटा समानान्तर धर्सा बाटा थिए, बाँकी सबै दुबो। चौकोस आकारको चौरमा गोरुगाडा र डनलप गुड्दा गुड्दा बनेका तीनै दुई धर्साहरूमा मेरो साइकल ‘क्लास’ चलेको थियो। जसको प्रशिक्षक मै थिएँ र प्रशिक्षार्थी पनि मै।
पाँच सात दिनमै साइकल चलाउन सिकिसकेको भए पनि दाउ हेर्दै अर्काको साइकल अपहरण शैलीमा लिएर चलाउने काम महिनौ गरिरहेको थिएँ। यो बीचमा आफ्नो साइकल नसोधी कुदाएको भनेर कतिले गाली गर्थे, रिसाउँथे । बैंकका गार्ड दाइले पिटाई खान चाहिँ दिएनन्।
भन्थे ‘स्टाफको छोरो हो।’
कतिले बालाई गुनासै गरे होलान् तर बाले कहिल्यै व्यक्त गरेनन् ।
म मज्जाले सिटमै बसेर साइकल चलाउन सक्ने भइसकेको थिएँ। हुन त तराईमा अत्यावश्यक साइकल छोरोले ख्यालख्यालमै सिकेको देखेर दङ्गदास परे होलान् बा। आफूले धेरै प्रयासका बाबजुद सिक्न नसकेको साइकल छोरोले स्वाट्टै सिकेको देख्दा मनमनै गमे हुन् ‘यसपालि दसैंमा यो बद्मासलाई साइकल किनिदिनुपर्ला।’
त्यतिबेला सामान्य साइकल फलामको हुन्थ्यो। १६–१७ किलोजति गह्रुंगो। एक दिन एक जनाले मसिना रिङ र टायर देखिने, घोप्टो ह्यान्डल भएको, निहुँरिएर चलाउने खाले आल्मुनियमको हल्का साइकल कुँदाएको देख्दा चकित परेँ। यस्ता पनि साइकल हुँदा रै’छन्। कैची छिर्ने ठाउँ पनि नभएको। बरु त्यहाँ त पानीको बोतल राखिएको रै’छ।
म बच्चोलाई त्यो परदेशीसँग साइकल माग्ने आँट आएन। फेरि ऊ बैंकमा कारोबार गर्न छिरोस् भन्ने प्रार्थना गरें, तर छिरेन । छिरेको भए नि क्यै गर्न सक्दिनथेँ । त्यसमा ठूलो ताल्चा रहेछ, निकालेर झोलामै हाल्न मिल्ने खालको। यस्तो त साइकल पनि देखेको थिइनँ र ताल्चा पनि। अहिले जस्तो समय भएको भए त्यस साइकललाई ब्याकग्राउन्डमा राखेर कम्तीमा सेल्फी भएनि खिच्थें। उतिबेला बोल्ने समेत आँट आएन।
रातभर साइकल मस्तिष्कमा नाचिरह्यो। भोलिपल्ट स्कुलमा पनि सडकमा गुड्ने साइकललाई त्यही साइकलसँग दाँजिरहें। स्कुल छुट्नासाथ दगुर्दै बैंक पुगेर एउटा साइकल उछिट्याएँ। त्यसदिन मलाई पनि निहुँरिएर साइकल चलाउनु थियो। ह्यान्डल मुन्तिरको जोर्नीमा समातेर कुदाउँने प्रयास गरें, सकिनँ। हात छोटो, सिट टाढा र खुट्टा ‘प्याडल’सम्म सजिलै नपुग्ने भएकोले। जति गर्दा पनि नसकेपछि सपना साँचिरहे कुनै दिन त्यस्तै साइकल चलाउने।
एकदिन म र दाइलाई लिएर बा सीमा पारी लागे। उत्तर प्रदेश परिवहनको गाडीमा एकातिर दुई र अर्कोतिर तीन जना बस्न मिल्ने सिट हुन्थे। हामी तीन जना अटाउने सिटमा बस्यौं।
कहाँ जाँदै छौं ? बाले भनेनन्। चिटिक्क परेर हिँड्ने, मीठो खाने, राम्रो लाउने स्वभाव बाको अहिले पनि गएको छैन झन् जवानीमा त...। दाजुभाइले सोच्यौं बा इन्डिया गएर दुई चार जोर ‘डोरा’ बनियान खरिद गर्नेछन्। केही गोटा नरिवलका किन्नेछन्। सायद छुहाराको पाकेट पनि। सधैझैं ठूलो दाना भएको चिनी बिर्सने छैनन्। टर्च लाइटमा हाल्न केही सेट रातो ‘क्याप’ र निलो बिरालोको चित्र भएको सेतो एभरेडी ब्याट्री छान्ने छन्। अनि नवरंगको आँपको अचारका दुईचार बट्टा हाल्नेछन्। बा नवरंग अचार सधैं ल्याउँथे, मलाई अचार भन्दा पनि नामै मनपर्ने । यस्तो लाग्थ्यो मेरा बा र ठूला बा क्रमशः नवराज र रंगलालको सुरूका दुई अक्षर सापटी लिएर अचार कम्पनी खोलिएको हो। बाले आफ्नो नाम भने त सित्तैमा दिन्छ होला कम्पनीले।
दुदवा नेशनल पार्क हुँदै ३५ किलोमिटर गुडेपछि चहलपहलयुक्त, ट्याँ ट्याँ र टुँटुँ, रिक्साको किरिङ किरिङ, धूलैधूलो उड्ने, टायर डढेको बासना आउने, मान्छे नै मान्छे देखिने पलिया सहरमा पुग्यौं।
बसबाट झर्ने बित्तिकै रिक्सावालहरू बजार, बजार, बजार, रेलवे स्टेसन, आओ भाइ भन्दै तानेरै लैजाउँला झै गरी उर्लिए। उतापट्टि टाँगावालहरू पनि उस्तै गरी यात्रु खोजिरहेका।
बा कालो लेदरको ब्याग नाडीमा अड्याउँदै दुई हातमा दुई जनालाई लिएर भीड छिचोल्दै निस्किए।
‘मेन’ बजारबाट अलिकतिभित्र साँघुरा गल्लीमा छिरेपछि झन् ठूलाठूला पसल थिए। यत्रा पसल मैले नेपालमा देखेको थिइनँ। हुन त नेपाल मेरो लागि उही बझाङ, धनगढी, चौमाला, बेलौरी र फूलबारीमा सीमित थियो। बाइसे चौबिसे राज्य लगायत अन्य थुप्रै ठाउँहरू गाँभिएको सिंगो नेपालको मलाई भेउ थिएन। त्यहाँ ठूला पसल खासै थिएनन्। यहाँ भने वर्तन भण्डार, टिभी रेडियोका पसल, कपडाका दुकान, किराना स्टोर टन्नै थिए दायाँबायाँ।
सबै पसलकवल छिचोल्दै बाले हामीलाई जुन ठाउँमा लिए, मलाई लाग्यो संसारको सबभन्दा खुसी मान्छे मै हुँ। त्यो कुनै फन पार्क, स्वीमिङपुल या सुपर मार्केट थिएन। मलाई खुसी बनाउने बाले लिएको त्यो ठाउँ थियो भसिन साइकिल स्टोर।
लाइन लगाएर राखिएका सयौं साइकलको बीचमा हामी दुई भाइलाई छाडेर बाले सोधे,‘भन, कुन साइकल किन्ने ?’
तिरमिराएका आँखाको नजर डुलाउँदै सरसर्ती हेरें हिरो जेट, एट्लस, एभोन, हरक्युलिस ब्रान्डका साइकल। मलाई मन पथ्र्यो हिरो जेट । नजिकै गएर छामछुम पार्न थालेपछि बाले कुरो बुझे । बाले हिन्दीमै के के भने ? मोलमोलाई पनि गरे।
कालो रंग मलाई खासै मन पर्दैनथ्यो, हरियो रंगको बाइस इन्चको हिरो साइकल ‘कन्फम’ गरेपछि मिस्त्रीले गोदामबाट एक थान बोकेर ल्यायो। पुछपाछ पारेर टल्कायो। त्यसका नट बोल्ट कस्यो । पछाडि क्यारिएर राख्यो । साइकल झन्झन् राम्रो हुँदै गयो।
सिट अलि साह्रो हुने भएकोले गद्दी लगाए बाले।
ह्याण्डल समाउने ठाउँमा सजिलोको लागि दाइले रबरको एक सेट कभर थप्न भन्यो।
मैले पांग्राको तिल्लीमा गुड्दा रंगीचंगी देखिने तारमा बुनिएको रातो, हरियो र पहेलो रंग मिश्रित फूल राख्न लगाएँ।
दुलाहा चढ्ने सजिसजाउ कारजस्तो एकदम झकिझकाउ भयो साइकल। चढेर कुदाउन मात्र बाँकी।
अन्त्यमा मिस्त्रीले रबरका दुई पिपलपाते पत्ताहरू हातमा लियो र दुवै पांग्राको गार्डको पुछारमा लत्रक्क झुण्ड्याइदियो जसमा लेखिएको थियो-भसिन साइकिल स्टोर, पलिया कला खिरी। पुछारमा सम्पर्क नं. पनि।
साइकल रेडी भयो। बाले साहुलाई अब साइकल बसको छतमा लगेर बाधिदिन आग्रह गरे। मनमनै सोचे बासँग अनुमति मागौं र साइकलै कुदाएर फर्किउ। तर बासँग यस्तो कुरा भन्ने आँटै आएन।
साइकल धनगढी भित्र्याएपछि दाजुभाइले खुब चलायौं। साइकलमा स्टन्ट गर्नु, दुवै हात छोडेर कुदाउँनु, खेतका आलीमा पनि बेजोडले दौडाउनु, पाँचैभाइ एउटै साइकलमा चढ्नु मेरा लागि सामान्य थिए र मेरी आमाका लागि सबभन्दा सुर्ताको विषय।
रेखदेखको जिम्मा दाइलाई थियो। जथाभावी चलाउन पाइँदैनथ्यो। जम्मा पाँचभाइ छोरामध्ये साइकल चलाउन जान्ने ३ जना थियौं। त्यतिबेला साइकल चोरीबाट बचाउन नाम लेख्ने चलन थियो स्कुलको कापी किताबमा नाम लेखेजस्तै। मैले गाउँबाट धनगढी पुगेर साइकलको ‘चेन कभर’ मा लेख्न लगाएँ तीनै चालक भाइको नाम – गोकर्ण देव उपाध्याय ‘माधव’।
(लेखक कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)