कुरा यही २०८१ कात्तिक २४ गते शनिबारको हो। माइक घन्किँदै थियो। राति मञ्चन हुने उद्घोष गरिँदै थियो। चिसो रातमा खुला अकाशमुनि भुइँमै बसेर मजाले नाटक हेर्न बौकादास खेतमा दाइँ गरिएको पराल मञ्च परिसरमा ओछ्याउँदै थिए।
उमेरले सत्तरीको नेटो काटिसकेका रामरेखा पण्डितलाई भने कलाकारहरूको सजावट र मञ्च व्यवस्थापन भ्याइ नभ्याइ थियो।
गाउँकै दक्षिणमा रहेको कुट्टी पोखरीको दुर्गामन्दिर परिसरमा अतिथिहरूको भोजन र आवासका लागि साथीहरूको सहयोगमा व्यवस्थापनमा जुटेका थिए सुजित मिश्र।
रतियादेवी खेतबारीको काम सकालै सकेर घर फर्केकी थिइन्। अरू दिनभन्दा चाँडै फर्केकी उनी सम्साँझै धमाधम भान्सामा लागेकी थिइन्। आफूसँगै घरका अन्य सदस्यलाई खुवाएर भुइँमा बस्न एउटा बोरा च्यापीकन उनी मञ्चतिर लम्किँदै थिइन्।
गाउँनजिकै रहेको परवाहा हाटमा किनमेल गरेर घर फर्केका सौखी दास खानपिन गर्ने हतारमा थिए।
टोलबाट अलिक टाढा पुगेकाहरू माइकको आवाज सुनेर हतारहतार फर्कंकै थिए। साँझ छिप्पिँदै थियो, रात बढ्दै थियो। चुल्होचौको, घरआँगन, खेतबारी, बाधवोन, चौरीचाँचर, दूरादलानमा व्यस्त रहने महिला, पुरुष, युवा, वृद्धवृद्धा सबैमा उत्तिकै उत्साहित थिए।
गाउँमा मञ्चन हुन लागेको मैथिली नाटक ‘ओरिजनल काम’ हेर्न सबैमा बेग्लै खालको रौनक थियो। सिंगो गाउँ नाटक हेर्न आतुर देखिन्थ्यो।
रंगोत्सवले भरिपूर्ण परवाहा
जनकपुर रेल्वेको नाउँ सुन्नेले परवाहा स्टेसन पनि सुनेकै हुनुपर्छ। जनकपुरबाट पूर्वतर्फ पाँच किलोमिटर दूरीमा छ यो स्टेसन। त्यसकै नजिकमा छ परवाहा गाउँ। नाटक त्यही गाउँमा हुन लागेको थियो।
कुनै समय परवाहा गाउँ असारे भ्यागुत्ताको ट्वारट्वारले हैरान हुन्थ्यो। भेलबाढीले जनजीवन अस्तव्यस्त हुन्थ्यो। गाउँ टापुमा परिणत हुन्थ्यो। दसैंको ढोल बजेपछि मात्र फरक रौनक छाउँथ्यो।
हिजोआज सुख्खा छ। रेल पनि नयाँ छ। हुलाकी मार्गको पक्की सडकले गाउँको मुटु छोएको छ। टेम्पु र बसले पनि गाउँको धडकन छामेका छन्। पहिलाभन्दा अहिले जीवन सहज छ।
त्यही गाउँमा २०३९ सालमा उत्साही रंगकर्मीहरूले भरिभराउ ‘युवा नाट्यकला परिषद् (युनाप)’ खुलेको थियो परिषद्को उद्देश्य थियो– नाट्यकलाको माध्यमले मैथिली भाषा, साहित्य, संस्कृति तथा कलाको संस्थागत सम्बद्र्धन र प्रवर्द्धन।
पञ्चायती शासनको कडा पहरा हुन्थ्यो। नाटक प्रदर्शन गर्न अञ्चलाधीशसँग स्वीकृति लिनुपर्थ्यो। किसान बहुल गाउँमा के हुन्थ्यो र पुस्तकालय! आँगनदेखि दलानसम्म अन्न, पराल र दाउराको थुप्रो हुन्थ्यो तैपनि युवाहरूमा नाटक देखाउने जाँगर र चञ्चलता भरिभराउ हुन्थ्यो।
यसरी बिस्तारै परवाहा रंगकर्मको पर्याय बन्यो, रंगकर्मीहरूका लागि प्रिय नाट्यग्राम भयो। हिन्दुका लागि अयोध्या र जनकपुर, मुस्लिमका लागि मक्कामदिना, यहुदीका लागि जेरुसेलम भएझैं मिथिलाका रंगकर्मीहरूका लागि पवित्र भूमि भयो परवाहा।
नाट्य प्रस्तुति, संस्कृति र अभ्यास
परवाहामा दसैंदेखि छठसम्ममा तीनपटकसम्म नाटक मञ्चन हुने गर्थ्यो। नाटक प्रदर्शनका लागि जनकपुरधाम सहर र सीमावर्ती भारतीय बजार जयनगरको भर थियो। नाटकको किताब खोज्न जनकपुरधामको रेल्वे स्टेसनस्थित ‘राजेन्द्र बुक स्टल’, योगेन्द्र साह नेपालीको ‘जानकी पुस्तक भण्डार’ र उनै अध्यक्ष रहेको ‘मिथिला नाट्यकला परिषद्’ कार्यालयमा पुग्नुपर्थ्यो। कहिले सीमापारिका मैथिली नाटककारहरूको किताब खोज्न जयनगर जानुपर्थ्यो।
धेरै जसो नाटकका त किताब छापिएकै हुँदैनथे। लेखकको पाण्डुलिपिमै भर पर्नुपर्थ्यो। प्रिन्टर र फोटोकपी मेसिन थिएन, टाइपराइटरको भर थियो तर टाइप गराउन पैसा नहुने। फोटा खिच्न पनि ३६ वटा रिल भएको ‘आशिका एमएफ २’ मात्र सहारा थियो। कलाकारहरूमा आफ्नो फोटो हेर्न लुछाचुँडी हुन्थ्यो।
मैथिली नाटक, त्यो पनि गाउँमै गर्नुपर्ने, सबैको फुर्सद मिलाएर लालटेन र टुकीको उज्यालोका भरमा अबेर साँझसम्म पूर्वाभ्यास (रिहर्सल) हुन्थ्यो।
प्रदर्शनको दिन नजिकिँदै जाँदा घरघर पुगेर कलाकारहरूलाई पूर्वाभ्यासका लागि बोलाउनुपर्थ्यो। गाउँका ठूलाबडा र सर्वसाधारणबाट चन्दा उठाएर खर्च जोहो गर्ने चलन थियो।
प्रदर्शनका लागि स्टेज बनाउन खुट्टाखम्हनी गाड्न परिश्रम गर्नुपर्थ्यो। दर्शक बोलाउन साँझैदेखि अहुजा कम्पनीको लाउडस्पिकर घन्किन्थ्यो। पेट्रोम्याक्स बालेर खुला अकाशमुनि स्टेज कभर हुने गरी एउटा माइक जोडिन्थ्यो।
मञ्चको मुखमा दुईवटा सिँढी बनाउनु, स्टेज बनाउन घरघरबाट काँधैमा बोकेर सुत्ने खाट जम्मा गर्नु, चनमा टाँग्नु, पर्दा टाँग्नु कम मिहिनेतका काम थिएनन्।
मेकअपका लागि मुर्दाशंख नभए घरबाटै लिपिस्टिक र स्नो पाउडर ल्याउनुपर्थ्यो। पुरुषले नै महिलाको भूमिका निर्वाह गर्न ब्लाउज र ब्रा खोज्नु निकै कठिन काम थियो।
घरको दृश्य देखाउन पिँढी, खरबाँस, घिरौला, लौका र फर्सीका लत्तीफत्ती; टुकी, गुन्द्री आदि जम्मा गरेर मिलाउनुपर्थ्यो। यसरी स्टेजक्राप्ट गर्नु निकै हैरानीको काम थियो।
स्टेज तयार भएपछि एक कुनामा हारमुनियम, ढोलक, झ्याली, बाँसुरी बजाउने बजनियाँहरू बस्थे। दर्शकहरू हातमा गुन्द्री, बोरा, परालको मुठो इत्यादि बोकेर खुला अकाशमुनि जम्मा हुन्थे र मध्यरातसम्म नाटकको मजा लिन्थे।
दर्शकहरूको व्यवस्थापन पनि झन्झिटिलो हुन्थो। ससानो कुरामा खैलाबैला भइहाल्थ्यो, मिलाउँदाको हैरान।
यसरी नै हुन्थ्यो परवाहामा नाटक।
अहिले समय बदलिएको छ। रंगमञ्चमा दैनिक नौलो प्रयोग हुने गरेको छ। जिम्मेवारी पनि थपिएको छ युनापमा।
गाउँगाउँमा नाटक मञ्चन हुने प्रथा बन्द भइसक्यो। सहरमै पनि नाटक प्रदर्शन सुस्त छ, उत्सव र महोत्सवहरूमा सीमित हुन थालेको छ।
युनापका अध्यक्ष अनिल मिश्रका अनुसार मैथिली नाटक हेर्ने दर्शकको अभाव छैन। दर्शकको रुचि, समयानुकूल विषयवस्तु, आधारभूत भौतिक संरचना, व्यवस्थापकीय कुशलतासहित नाट्य समूह तयार पार्न सके मैथिली नाटकले मध्यकालीन उचाइ लिन अध्यक्ष मिश्रको विश्वास छ।
पुराना दिनमा नाटक मञ्चन भइरहँदा भिड सम्हाल्न आयोजकलाई हम्मेहम्मे पर्थ्यो। नाटकका एक से एक पारखीहरू थिए जो आफ्नै लगानीमा नाटक प्रदर्शन गराउँथे। रातभर जाग्राम बसेर हेर्नेहरूको उत्सुकता उत्तिकै हुन्थ्यो। मिथिला क्षेत्रमा मञ्चित मैथिली नाटकमा यसरी नै दर्शकको रस बसेको थियो
आर्थिक असुरक्षा र अवसर
चाडबाड र उत्सवको अवसर पारेर वा बेमौसममा समेत यहाँ नाटक गर्न स्थानीयवासीको माग हुन्थ्यो। रंगकर्मीहरू कोही रेल चढेर त र कोही साइकल चढेर दिनहुँ जनकपुर जान्थे अनि सोझै मिथिला नाट्यकला परिषद् र जनकपुरका पाका कलाकारहरूको सम्पर्कमा पुग्थे।
नाटकमा कमाइ छैन, सबैलाई थाहा भएकै कुरा हो। जनकपुरमा बस्न, खान गाह्रो, घरबेटीको कचकच, बढ्दो महँगी, पैसाविना सहरमा साँस फेर्न पनि मुश्किल; यस्तै कारणले कलाकारहरूले गाउँ रोज्नुपर्थ्यो।
नाटकमै बाँच्ने सपना बोकेर जनकपुर पसेका धेरै रंगकर्मी यस्ता समस्याबाट अत्तालिएर पलायन भए। कतिले पेसा नै बदले। कामको खोजीमा काठमाडौं, भारत र खाडी मुलुकतिर पुगे।
जसले अनेकौं कष्ट र हन्डर सहेर पनि नाटक खेल्ने सपना पछ्याउन छाडेनन् उनीहरू चम्किए। गणतान्त्रिक मुलुकमा स्थापित ‘नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान’ प्राज्ञ बने परवाहाका रमेश रञ्जन।
रञ्जनकी छोरी प्रियंका झा, ज्वाइँ रवीन्द्र झा, गाउँलेहरू विष्णुकान्त मिश्र, विनोदानन्द मिश्र, सञ्जय मिश्र, अनिल मिश्र लगायतका रंगकर्मी स्थापित भए।
रामरेखा पण्डितको निर्देशनमा एउटा गाउँले एक दर्जनभन्दा बढी रंगकर्मी त जन्मायो तर तिनको उचित संरक्षण गर्न सकेन।
नाटकमा लामो अनुभव सँगालेका विष्णुकान्त मिश्रका अनुसार अहिले दर्शकको विश्वास जित्न सजिलो छैन। प्रविधिले सिनेमाको बजार विस्तार गरिदिएपछि नाटकका दर्शक घटे। खाँटी इलेक्ट्रोनिक मिडिया, यु ट्युब लगायतका सामाजिक सञ्जालका कारण नाटक धरापमा परेको छ।
वास्तविक अभिनयको स्वाद, सन्तुष्टि र आनन्द नाटकमै छ भन्नेमा मिश्रलाई शंका छैन किनभने नाटकमा दर्शकसँग प्रत्यक्ष सम्बन्ध र संवाद हुन्छ।
नाटकमा समुद्र मन्थनझैं जटिल प्रक्रिया पार गर्नुपर्छ तब मात्र अमृत र मोती पाउन सकिन्छ। कहिलेकाहीं विषको घडा पनि स्वीकार गर्नुपर्ने हुन्छ। कतिपयले नीलकण्ठ भएर विषपान पनि गरेका छन्। जनकपुर क्षेत्रका धेरै रंगकर्मीहरू नीलकण्ठजस्तै हुन् जसले विष पिएर नाटकमा अमृत दिए।
नाटक लेखनमा मात्रै होइन, प्रस्तुति र अभिनय समेतमा नयाँ प्रयोग भइरहेका बेला पुरातन अवधारणा त्याग्दै ‘ओरिजिनल काम’ ले समकालीन विश्वरंगमञ्च समक्ष मैथिली नाट्यजगतलाई उभ्याउने प्रयास गरेको छ।
परवाहाको पुरानो रंगमञ्चमा जोस थियो तर गम्भीरता थिएन, चञ्चलता बढी थियो तब त परिपक्व भएर अघि बढ्न सकेन। कतिपय व्यक्ति देखासिकीले कलाक्षेत्रमा आए। यसले नाट्य गतिविधि त बढ्यो तर स्तरीय हुन पाएन।
नाटक प्रदर्शनमा दर्शकको व्यापक सहभागिता हुने गरेको थियो। ठूलो संख्यामा दर्शकको उपस्थिति परवाहाको परिचय थियो। नाटको कथ्य, शिल्प, परम्परागत शैली र भाषाप्रेमको शक्तिले दर्शक तान्ने गरेको थियो।
परवाहा जस्तै धनुषाको बभनगा, बघचौडा, गंगुली, नगराईन, खजुरी, कुम्हरौडा, बहुअर्वा, नौवाखोर, प्रसाही; महोत्तरीको सुगा र अन्य केही ठाउँमा हरेक वर्ष नाटक मञ्चन हुने गरेको थियो। केही वर्षयता यसमा ह्रास आएको छ।
नाटक ओरिजनल काम
कात्तिक २४ गते युवा नाट्यकला परिषद् (युनाप), परवाहाले आफ्नो चालीसौं वार्षिकोत्सवको अवसरमा महेन्द्र मलंगियाद्वारा लिखित र रामरेखा पण्डितद्वारा निर्देशित नाटक ‘ओरिजनल काम’ प्रदर्शन गर्यो। परवाहामा यो प्रस्तुति दोस्रो थियो। लगभग डेढ दशकअघि यही नाटक देखाइएको थियो।
तत्कालीन समाजमा व्याप्त पुस्तान्तरणको समस्या र निर्णय लिनमा हुने कठिनाइ नाटकको मूल विषय हो। सजीव प्रस्तुतिले दर्शकहरूको मन छोयो।
नाटकमा ग्रामीण जीवन र अनपढ पात्रका माध्यमले जीवन्त ढंगमा पारिवारिक द्वन्द्व उद्घाटित छ। खासगरी शिक्षित र मध्यमवर्गीय परिवारको बुझाइ, सोचाइ र प्रतिवाद गर्ने शैलीभन्दा भिन्न किसिमको द्वन्द्ववेग यस नाटकमा पाइन्छ।
यो नाटक सहज, सरल र निर्मल मन भएकाहरूमा क्रोधको अन्धवेग सिर्जना हुनु र परिवार विध्वंश हुनुको कथा हो। अन्ततः यसको अन्त्य पनि पूर्वीय नाट्य परम्पराअनुसार सुखद् नै छ।
नाटककार महेन्द्र मलंगियाको संवादशक्तिले नाटक रोमाञ्चक बनेको छ। संवादमा लोकोक्तिको भरपूर प्रयोग छ। सटिक र संक्षिप्त वार्तालापले कलाकारहरूलाई साँच्चै सशक्त बनाएको छ।
सामाजमा व्याप्त वर्गीय, जातीय र लैंगिक द्वन्द्व; आर्थिक, सामाजिक, सांस्कृतिक समस्या उजागर गर्नु नाटककार मलंगियाको विशिष्टता हो।
उनी लोकविम्ब र जीवनशैली निकै सुन्दर ढंगले आधुनिक अभिव्यक्तिमा ढाल्छन्। कथानक निकै बलियो हुन्छ। शब्द चयन र वाक्य गठन खँदिलो हुन्छ।
‘ओरिजनल काम’ नाटकका एक-एक दृश्य र संवाद रोचक देखिए। दर्शकहरूलाई पटकपटक ताली बजाउन भ्याइनभ्याइ भयो। संवादमा हास्यव्यंग्य र करुणा बराबरजसो थियो। नाट्यस्थल दर्शकहरूले खचाखच थियो। कलाकारहरू ऊर्जायुक्त देखिन्थे।
मञ्चनमा धेरैजसो कलाकार नयाँ थिए। नयाँ अनुहारको सिर्जनात्मक शिल्प निकै सशक्त देखियो। समग्रतामा शारीरिक भाषा, ध्वनि, प्रकाशको संयोजन र प्रविधि पनि निकै परिष्कृत देखियो।
लोककथामा आधारित कथ्य ‘ओरिजनल काम’ नाटकको सबभन्दा बलियो पक्ष रह्यो।
मिथिलामा तिनताका व्याप्त जाति व्यवस्था, खाद्यपदार्थ, आचार–व्यवहार तथा नियमकानूनका थुप्रै पक्ष नाटकमा देखिन्छन्। लोकजीवन, ग्रामीण भाका र स्थानीय विषयवस्तुमा केन्द्रित रहेर सामाजिक र राजनीतिक विसंगतिविरुद्ध तिखो व्यंग्यवाण प्रहार गरिएको नाटक ‘ओरिजनल काम’ दर्शकहरूले खुबै मन पराए।
परवाहामा मञ्चित नाटकहरू
परवाहामा मलंगियाले लेखेका ‘ओरिजिनल काम’ सहित ‘ओकरा आँगनक बारहमासा’, ‘जुआयल कनकन्नी’, ‘काठक लोक’, ‘राजा सलहेस’, ‘लक्ष्मण आ सीता’, ‘छुतहा घैल’ लगायत झन्डै दुई दर्जन नाटक देखाइएका छन्।
नाट्य महोत्सवमा परवाहा
मैथिली नाटकको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय नाट्य जगतमा पहिचान बनाउन रामानन्द युवा क्लव, मैथिली विकास कोष आदिले बेलाबेलामा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्ने गरेका छन्। यस्ता हरेक महोत्सवमा युवा नाट्यकला परिषद् (युनाप), परवाहा सहभागी भएको छ। युनापले नै पनि केही महोत्सव आयोजना गरेको छ।
२०४८ सालमा विराटनगरमा चर्तुभुज आशावादीद्वारा आयोजित ‘सातौं मैथिली अन्तर्राष्ट्रिय नाटक महोत्सव’ मा युनापले ‘विरजु’ र ‘विल्टु आ बाबु’ नामका नाटक मञ्चन गरेको थियो। त्यस अवसरमा मिथिला नाट्यकला परिषदबाट अभिनय गरेका रमेश रञ्जनले ‘सर्वश्रेष्ठ चरित्र अभिनेता’ पुरस्कार पाएका थिए।
युनापले २०७१ सालमा जनकपुरमा नेपाल–भारत सम्मिलित ‘अन्तर्राष्ट्रिय नाटक महोत्सव’ आयोजना गरेको थियो।
नेपाल र भारतमा आयोजना हुने महोत्सवहरूमा जनकपुरका नाट्य संस्थाले प्रसिद्धि र पुरस्कार पाउने गरेका छन्। नेपाल र भारतका रंगकर्मीहरूको जमघटले एकअर्काको सिर्जनात्मक पक्ष अवलोकन र समीक्षा गर्ने अवसर जुर्ने गरेको छ।
भविष्य खोज्दै परवाहाका महिला रंगकर्मी
कुनै बेला जनकपुरका नाटकमा पुरुष कलाकारले नै महिला कलाकारको भूमिकामा अभिनय गर्थे। बिस्तारै महिला कलाकारको प्रवेश भयो। रंगशिल्पी रमेश रञ्जनकी छोरी प्रियंका झा रंगमञ्चमा स्थापित नाम हो। त्यसपछि सीमा मण्डल, काजल पण्डित र खुशी पण्डितहरू आए।
रुढीग्रस्त समाजमा महिलाहरू नाट्य अभिनयमा आउनु सजिलो काम होइन। अनेक अवरोध झेल्दै परवाहा गाउँबाट महिला कलाकार उदाए। यसले सामाजिक क्षेत्रमा साकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्यो। जनकपुरले महिलाको भूमिकामा पुरुष उभ्याउन छाड्यो।
निर्देशक रामरेखा पण्डित परवाहा गाउँबाट उदाएका महिला रंगकर्मीहरूबाट निकै उत्साहित छन्। ‘ओरिजिनल काम’ मा सबैभन्दा कान्छो पुस्ताका केही कलाकार देखिए। यी कलाकारसँग पनि निर्देशक पण्डित निकै आशावादी छन्।
परवाहाको अभिनयस्वाद, सन्तुष्टि र आनन्द त अनुपम छँदै छ, यससँगै यहाँको खान्की पनि बजोड नै मानिन्छ। स्थानीय नदी र पोखरीमा पाइने घोघही, साना माछा र भुजा प्रसिद्ध छन्।
यसरी सुदीर्घ नाट्यपरम्परा, जीवन्त इतिहास तथा रंगप्रसव पीडा बोकेको परवाहाको रंगमञ्चले उज्ज्वल भविष्यको मार्ग देखाएको छ।