मण्डला थिएटरका पूर्व विद्यार्थीहरूले आयोजना गरेको रंग महोत्सव 'म्याड फेस्ट २०२४' सकिएको छ।
अभिनेता दयाहाङ राई र 'म्याड फेस्ट' का निर्देशक अनुप न्यौपानेबीचको अन्तरक्रियासँगै आइतबार महोत्सव सकिएको हो। दयाहाङ र अनुपबीच 'टाइम, स्पेश एन्ड एक्सन' शीर्षकमा रंगकर्मी केदार श्रेष्ठले छलफल गराएका थिए।
महोत्सवको अन्तिम दिन नाटक 'मिरर' र 'अगम' मञ्चन भएको थियो। त्यस्तै 'केही माया, केही विचारका कुराः मिडिया र थिएटर' शीर्षकमा पनि अन्तरक्रिया सम्पन्न भयो। तीन दिन चलेको यो महोत्सवमा ६ निर्देशकका नाटक देखाइएका छन्।
महोत्सवका संयोजक प्रेम सिलवालका अनुसार पुषदेखि यो महोत्सवको तयारी सुरु भएको हो। 'हामीले सोचेजस्तै महोत्सव भव्य रूपमा आयोजना गर्न सक्यौं। महोत्सवको उद्घाटनमा ४ सय दर्शकको उपस्थिति थियो' सिलवालले भने, 'यो महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौं भन्ने महसुस गरेका छौं। भविष्यमा यो महोत्सव अन्तर्राष्ट्रिय स्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ।'
उनका अनुसार महोत्सवका लागि १८ नाटक आवेदनमा परेको थियो। त्यसमध्येमा ६ नाटक छनोट भइ मञ्चनमा आएका हुन्। अधिकांश शोलाई हाउसफूल दर्शकले साथ दिएको उनी बताउँछन्।
महोत्सव लगतै यी ६ नाटक १० दिन निरन्तर मञ्चनमा आउनेछन्। महोत्सवमा नाटक हेर्न छुटाएका दर्शकका लागि मञ्चन समय थपिएको उनी बताउँछन्। महोत्सवमा थुप्रै विषयमा अन्तरक्रियादेखि संगीत र कविताका कार्यक्रम आयोजना गरिएका छन्।
महोत्सवमा रंगकर्मी संयोग गुरागाईंको लेखन तथा निर्देशनमा 'रेल्वे टु नोव्हेर', अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा 'मिरर', श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा 'शिल्पिनी', प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा 'नुग्धा', प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा 'अगम' र सागर कार्कीको लेखन तथा निर्देशनमा 'अंकुरन' मञ्चन भएका छन्।