थापागाउँस्थित मण्डला थिएटरमा तीन दिने नाट्य महोत्सव 'म्याड फेस्ट- २०२४' हुने भएको छ।
'म्याड फेस्ट' समूहले बुधबार मण्डलामा पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी दिएको हो। मण्डला थिएटरका पूर्व विद्यार्थीहरू र मण्डलाकै संयुक्त प्रयासमा उक्त महोत्सव हुन गइरहेको महोत्सवका निर्देशक अनुप न्यौपानेले बताए। महोत्सवको यो पहिलो संस्करण हो।
असार २१ गतेदेखि २३ गतेसम्म हुने महोत्सवमा मण्डलाकै विद्यार्थीहरूबाट सिर्जना गरिएका ६ वटा नाटकका साथै नाटक तथा अन्य कला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, संगीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरू हुने आयोजक टोलीले जनाएको छ।
महोत्सव मार्फत युवा रंगकर्मी, रंगप्रेमीहरूबीच सहकार्य, एकता तथा प्रोत्साहन गर्ने, युवा पुस्ताका कलाकारहरूलाई समुदायसँग नजिक बनाएर दिगो सिर्जनाका प्लेटफर्म उपलब्ध गराउने, लेखक, निर्देशक, कलाकार तथा प्राविधिकहरूको व्यावसायिक वृद्धिमा जोड दिने, मौलिकतालाई प्रोत्साहन गर्ने, विविधतालाई सम्बोधन गर्ने लगायतका उद्देश्यहरू महोत्सवले राखेको छ।
महोत्सवका लागि 'रेल्वे टु नोव्हेर,' 'मिरर,' 'सिल्पिनी,' 'नुग्धा,' 'आगम' र 'अंकुरन' नाटकहरू छनोट भएका छन्। सामाजिक समकालीन मुद्दा र प्रयोगात्मक एबसर्ड नाटकहरूलाई छनोट गरिएको निर्देशक न्यौपानेले बताए।
उनका अनुसार १८ वटा कथाहरूबाट आठ वटा मात्र छनोट गरी १५ दिने प्रडक्सन वर्कशप गरेर छ वटा नाटकलाई अन्तिम चरणका लागि छानिएको हो।
महोत्सवको यो पहिलो संस्करण भएकोले अहिले मण्डलाकै टिम समावेश भएपनि आगामी संस्करणमा नेपाल भरिका थिएटर र कलाकारहरूसँग पनि जोड्ने महोत्सव टोलीको योजना छ।
निर्देशक न्यौपानेले भने, 'हाम्रो सानो प्रयास र छलफलले हामीले महोत्सव जाने तयारी गरेका छौं। हामीले गर्दै आएको काम र अनुभवहरू नै यसमा हुनेछन्। यसले हामी सबैलाई एकैठाउँमा ल्याउँछ भन्ने हामीलाई आशा छ।'
दयाहाङ राईको अभिभावकत्वमा हुने महोत्सवका लागि मण्डलाले टिकट बिक्री र अनलाइनमार्फत समेत बुकिङ खुला गरिसकेको छ।