नेपाली नाटक 'गुलाफ' नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ।
अंग्रेजीमा 'द रोज: एन अवेकनिङ जर्नी अफ यशोधरा' नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा यही बिहीबारदेखि तीन दिन नियमित मञ्चन हुन लागेको हो।
राम हरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन रहेको नाटक मञ्चनका लागि नेपाली कलाकारको टोली ओस्लो पुगेर तयारीमा व्यस्त छन्। टोलीका कलाकारहरू दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ नर्वे पुगेका छन्।
नर्वे सरकारको कला र संस्कृति सम्बन्धि संस्था 'आर्ट एण्ड कल्चर नर्वे' को सहयोगमा तथा नोर्दिक कल्चर फण्ड र फुक नो नर्वेको साथमा नाटक 'द रोज' को मञ्चन हुन लागेको हो।
यस नाटक थिएटरको 'फिजिकल थिएटर' विधामा रहेर तयार पारिएको छ जसमा संवाद छैन तर दृश्यहरुले कथा बोल्नेछ। सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ ले आफ्नो विषय बनाएको छ।
त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरू, विकारहरू र त्यसले पारेको प्रभाव र परिवर्तन नै यो नाट्य प्रस्तुतिको मूल विषय हो। यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभंगीमार्फत उजागर गर्ने कोसिस गरिएको छ।
यस नाटकको दर्शक संयोजन पनि विशेष रहेको छ। 'द रोज' को मञ्च नाटकघरको बीचमा तयार पारिएको छ। जसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन्। नाटक हेर्न एक शोमा बढीमा ६४ जनाले मात्र प्रवेश पाउनेछन्।
यस नाटकको गत पुसमा थापाथलीस्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो।