नेपालमा पहिलो पटक गुरु पद्मसंभवको जीवनकथालाई नाटकमार्फत मञ्चन गरिने भएको छ।
आगामी सोमबार दिउँसो १२ बजे बौद्धस्थित रामनगर पार्टी प्यालेसमा नाटक 'गुरु पद्मसंभव' मञ्चन गरिने भएको हो। नाटकलाई जेडी तमुले निर्देशन गरेका छन्। जेडीले यसअघि नाटक 'ब्यूँझिएको सिरानी' निर्देशन गरेका थिए।
निर्देशक जेडीका अनुसार नाटक स्टेज मञ्चन र स्याडो पपेट्रीमार्फत मञ्चन गरिनेछ। नाटकलाई कर्म वाङ्चुक शेर्पाले लेखेका छन्।
नाटकका निर्माता खेन्पो पेम छिरी शेर्पाका अनुसार पद्मसंभवले फैलाएको ज्ञानलाई अहिले पनि नेपालको हिमाली भेगहरूमा अध्ययन भइरहेको छ।
नाटकमा अनिल सुब्बा, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, सौजन सेनेहाङ, संजिप योगी, शायोक मुकारुङ राई र जयराम ढकाल लगायतका कलाकारको अभिनय छ।