म्युजिक भिडिओमा रूचाइएकी मोडल अलिशा राईले नाटक अभिनयमा डेब्यु गरेकी छन्।
नाटक 'बाखाम्माःमुन्दुममा मान्छे' मार्फत उनले रंगमञ्चमा फड्को मारेकी हुन्। यो नाटक मण्डला थिएटरमा वैशाख १४ गतेदेखि मञ्चन भइरहेको छ।
'लुट २' फिल्ममा समावेश गीत 'ठमेल बजार' बाट चर्चामा आएकी अलिशाले दर्जनौं भिडिओमा मोडलिङ गरेकी छन्। उनका थुप्रै म्युजिक भिडिओ हिट छन्।
अलिशा एक पटक भएपनि नाटकमा जोडिने आफ्नो पहिल्यैदेखिको सोच रहेकाले अहिले आएर काम गरेको बताउँछिन्। ‘७/८ वर्षअघि नै नाटक गर्न खोजेकी थिए। त्यसबेला वर्कसपमा पनि बसेकी थिएँ। तर पछि त्यो नाटकमा अभिनय गर्न समय मिलेको थिएन्,' उनले भनिन्।
नाटकका लागि धेरै समय छुट्याउनुपर्ने हुँदा त्यतिबेला अध्ययनसँगै अन्य व्यस्तताले समय नमिलेको उनले बताइन्। भर्खरै मास्टर्ससम्मको अध्ययन सकेकी उनले अहिले सबै कुरा जुरेकाले नाटकमा जोडिएको सुनाइन्।
उनले नाटकमा जोडिने निर्णय लिनुपछाडिका केही कारणहरू छन्–
पहिलो, नाटक अभिनयलाई लिएर पहिल्यैदेखि कौतुहलता थियो। एकपटक भएपनि अभिनय गर्ने सोच थियो।
दोस्रो, यसका निर्देशक किरण चाम्लिङ राई। र, तेस्रो नाटकको विषयवस्तु।
'निर्देशक किरण दाई राम्रो सक्षम निर्देशक हुनुहुन्छ। त्यसमाथि हामी जुन विषयमा नाटक गरेका छौं त्यो एकदमै महत्वपूर्ण लाग्यो,' उनले भनिन्।
अलिशालाई लाग्छ– नाटकमा आफ्नो 'कर्म्फट जोन' बाट बाहिर निस्किएर आफूले आफूलाई 'एक्सप्लोर' गर्न सकिन्छ। 'म्युजिक भिडिओमा फरक रोल कमै पाइन्छ। नाटक चाहिँ विभिन्न क्यारेक्टर एक्सप्लोर गर्ने बृहत् क्यानभास हो जस्तो लाग्छ,' उनले भनिन्, 'थिएटरमा हरेक दिन नयाँ–नयाँ कुरा सिक्न सकिन्छ भन्ने लाग्छ। मैले पनि सिकिरहेकी छु। फरक अनुभव गरिरहेकी छु।'
अलिशाले नाटक घरको स्टेजमा केही दिन प्रस्तुति दिइसकेकी छन्। अझै झण्डै एक महिना निरन्तर स्टेज चढ्नुपर्नेछ।
स्टेजमा चढ्नुअघि नाटकबारे सोच्दा गाह्रो लागेपनि स्टेजमा पुगेपछि आफै उर्जा आउने उनले अनुभव गरिरहेकी छन्। यद्यपि नाटक अभिनय सजिलो नरहेको उनको सुरूवाती अनुभव छ।
यतिबेला नाटकलाई लिएर सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउने उनी समय मिले आउँदा दिनमा पनि अभिनय गर्ने बताउँछिन्।
व्यवसायमा समेत सक्रिय उनको रूचि फिल्मतर्फ पनि छ।
'बाखाम्माःमुन्दुममा मान्छे' लाई राजन मुकारूङले लेखेका हुन्।
किरात समुदायका मानिसहरूले धेरै सुनेको तर कम ध्यान दिएको मुन्दुमि पात्र 'बाखाम्मा' को कथावस्तुमा आधारित रहेर नाटक निर्माण गरिएको हो। नाटकलाई केन्द्र मोशन पिक्चर्सले प्रस्तुत गरेको हो।
तस्बिरहरू: नवीनबाबु गुरूङ