२३ औं भारत रंग महोत्सवमा नाटक 'क्लेशाः' छनोट भएको छ।
विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक भारत रंग महोत्सवमा यसपटक नेपालको एक मात्र नाटक छनोटमा परेको हो।
विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक 'क्लेशाः' महोत्समा आउँदो फ्रेब्रुअरी १७ र १९ मा मञ्चन हुँदैछ। यो नाटक भारत रंग महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो। तर कोभिडका कारण त्यस समय महोत्सव हुन सकेन। यसपटक महोत्सवले पुनः आमन्त्रण गरेको हो।
यसपटक छानिएका ६२ वटा नाटकमा एक मात्र अन्तर्राष्टिय नाटक रूसबाट रहेको छ। त्यसका अलवा २०२२ मा छानिएका केही नाटकलाई आमन्त्रण गर्दा नेपाली नाटक 'क्लेशाः' समावेश भएको हो। महोत्सव अन्तर्गत नेपाली नाटक 'क्लेशाः' को नयाँ दिल्ली र रामनगरमा गरी दुई मञ्चन हुनेछ।
फेब्रुअरी १ देखि २६ सम्म हुने महोत्सवमा यसवर्ष भारतको ५९ वटा नाटक, रुसको एक नाटक र २ लोकनाटक छनोट भएको आधिकारिक वेवसाइटमा जनाएको छ।
भारत रंग महोत्सवमा छनोट भएसँगै नेपालमा यस नाटक विशेष मञ्चन गरिदैछ। यही माघको २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे नाटक 'क्लेशाः' को मण्डला थिएटरमा विशेष मञ्चन हुनेछ। २०७६ सालमा २४ मञ्चन भएको यस नाटकको नेपालमा यसपटक विशेष तीन मञ्चन हुनेछ।
करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा, रुजा राउतलगायत कलाकारको अभिनय छ। अभिनेत्री सुरक्षा पन्तले नाटक ‘क्लेशाः’ बाट थिएटर डेब्यू गरेकी थिइन्।
प्रतीक्षा कट्टेल लिखित नाटक 'क्लेशाः' को मुख्य स्रोत रामायण हो। नाटकले ऋषि वाल्मिकीको कहानीलाई विशुद्ध समसामयिक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रुपक खरेल र केदार श्रेष्ठ छन्।