मण्डला थिएटरमा नाटक 'मासिन्या' मञ्चन हुँदैछ। माघ ११ देखि २८ गतेसम्म हुने नाटकमा तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा प्रस्तुत गरिनेछ।
नाटक मञ्चन हुने मिति नजिकिदै गर्दा मंगलबार मण्डला थिएटरमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो। कार्यक्रममा लेखक राजु स्याङ्तान, अर्की लेखक लक्ष्मी रुम्बा, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष गणेश योन्जनलगायतको सहभागिता थियो।
नाटकका लेखक राजु स्याङ्तानका अनुसार झन्डै डेढ वर्षअघि नाटक तयार गरिएको हो। तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि मासिन्याले त्यसमा टेवा पुग्ने उनको विश्वास छ।
'मासिन्याले जंगबहादुरको समयदेखि अहिलेसम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने कथा भन्छ। हामीले कविता त लेख्यौं, यतिले पुगेन भन्ठानेर नाटक ल्यायौं। हाम्रो मौलिकता बोकेको माटो, हाम्रै पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौं,' उनले भने।
अर्की लेखक लक्ष्मी रुम्बाले भनिन्, 'तामाङ समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा देखाउने हाम्रो पहिलो प्रयास हो। यसले तामाङको मात्र नभएर समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सिमान्त्कृत समुदायको कथा व्यक्त गर्छ।'
अहिलेको खुल्ला र गणतान्त्रिक राज्य प्रणालीको समाजमा सबैले आफ्नो कुरा राख्न सिर्जनात्मक बाटो रोज्नुपर्ने अध्यक्ष गोलेले बताए।
'हामीले एकले अर्काको कुरा सुनेर अब एक हुनुपर्छ। राणाकाल, पञ्चायत जस्तो कालमा हामीले आफ्नो कुरा राख्न पाएनौं। अब बन्दुकले होइन सिर्जनामार्फत हस्तक्षेप गर्नुपर्ने हुन्छ,' उनले भने।
बुद्धि तामाङ र सोनाम लामाले निर्देशन र परिकल्पना गरेको नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय रहनेछ।