थिएटर मलमा पपेट नाटक 'चिरूचिरू मिचिरू' मञ्चन भएको छ।
यस नाटकलाई जापानकी रंगकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गरेकी हुन्। नाटकमा दुई बालकले नीलो चराको खोजीका लागि गरेको सपनाको यात्राको कथालाई बालसुलभ शैलीमा प्रस्तुत गरिएको थियो। सपनाको यात्रामा उनीहरूले अलौकिक संसारमा विभिन्न पात्रहरूसँग भेट्दै नीलो चरासम्म पुग्ने प्रयास गर्छन्। यात्राका क्रममा उनीहरूले गरेका प्रयास, भोगेका रोमाञ्चकारी घटनालाई कलाकार र पपेटमार्फत नाटकले प्रस्तुत गरेको थियो।
जापानको उतारभिजन थिएटर कम्पनी र नेपालको थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र थिएटर मलको संयुक्त आयोजना भएको कार्यशालाबाट पपेट नाटक 'चिरूचिरू मिचिरू' तयार पारिएको हो। यससँगै १० दिने पपेट थिएटर कार्यशाला सकिएको छ।
नाटक र पपेट कार्यशालामा शंकर भण्डारी, सवीर चुरौटे, सुस्मिता गुरागाईं, पूजा ढकाल, मञ्जु गिरी, राज्यलक्ष्मी महर्जन, मञ्जु महर्जन, इलिना नकर्मी, आभा प्रधान, सौजन लिम्बु, शोभा कार्की, सुमन नापित, सौभाग्य सिहं, स्योन, रौनक कार्की लगायतको सहभागिता थियो। त्यसैगरी जापानबाट निर्देशक इरिना सजीसहित चार जना कलाकार कार्यशालाका मेन्टर थिए।
कार्यशालालाई राराहिल मेमोरियल स्कूल र आसितेज नेपालले सहकार्य गरेको थियो। यसै नाटक उतारभिजनले जापानमा पनि आगामी मार्चमा मञ्चन गर्नेछ।