काठमाडौंमा नाटक 'नासो' मञ्चन भएको छ। आरोहण गुरूकुल कुञ्ज नाटकघर, थापागाउँमा पुस ४ गतेदेखि मञ्चन भएको नाटक तीन दिनसम्म चलेको थियो।
कथाकार गुरूप्रसाद मैनालीको कथामा आधारित नाटक 'नासो' यही पुस ४ गतेदेखि पुस ७ गतेसम्म आरोहण गुरूकुल कुञ्ज नाटकघर, थापागाऊँमा मञ्चन सम्पन्न भएको छ ।
नासो, प्रसिद्ध कथाकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। मैनालीको बहुचर्चित कथासंग्रह नासोमा संग्रहित चर्चित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ। नेपाली समाजका समसामयिक विषयमाथि कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गरिएको छ। अत: यो नाटकले समाजमा घट्ने हामीलाई स-साना लाग्ने घटनाहरूले बालसुलभ मस्तिष्कमा पर्ने असरलाई नजरअन्दाज नगर्न जोड दिएको छ।
सद्भाव थिएटर- नेपालले सुरूआत गरेको 'शिक्षाका लागि रङ्गमञ्च' अभियानलाई निरन्तरता दिँदै कोलम्बस इन्टरनेसनल स्कुल, मालीगाउँको सहकार्यमा नाटक नासो तयार गरिएको हो।
बालबालिकालाई रङ्गमञ्चसँग जोडेर उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, व्यक्तित्व विकासमा थप मद्दत गर्न र विषयगत अभिव्यक्तिलाई कलात्मक ढंगले कसरी प्रस्तुत गर्ने भन्ने कला सिक्न अभिप्रेरित गर्नका हेतु सद्भावले यो अभियान सुरू गरेको निर्देशक राम के.ए.सी.ले बताए।
कथाकार गुरूप्रसाद मैनालीले आजभन्दा ९६ वर्ष पहिले लेखेका हुन्। त्यतिबेलाको परिवेशलाई ध्यानमा राखेर बालबालिकालाई मञ्चमा उतार्न निर्देशकद्वय सफल देखिएका छन्।
पुरानो नेपाली परिवेशको झल्को दिने सेट नभए पनि नाटकमा सेट, पार्श्व सङ्गीत, प्रकाशको प्रयोग राम्रो गरिएको छ।
नाटकमा नुबु शेर्पा, क्रीशा बरूवाल, सौगात कक्षपती, साइना स्याङ्ताङ्, युक्ती थापामगर, सुजल काफ्ले, आयुषा भण्डारी, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी, रिजन न्यौपाने, सेजल काफ्ले लगायतले अभिनय गरेका छन्।
यस नाटकको नाट्य रूपान्तरण तथा निर्देशन राम के.ए.सी.ले गरेका हुन् भने सह-निर्देशन किरण चापागाईंले गरेका हुन्।