मण्डला थिएटरमा नाटक 'पगला घोडा' मञ्चन हुने भएको छ।
नाटक पुस १२ गतेदेखि माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई शो राखिएको छ।
भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो। बादल सरकार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए।
यस नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन्। उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन्।
थिएटर आकारको प्रस्तुति रहेको नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन्। नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायत कलाकारको अभिनय रहने छ। नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन्।