नाटक 'ब्युँझिएको सिरानी' पुनः मञ्चन हुँदैछ। जेडी तमुले निर्देशन गरेको यो नाटक शिल्पी थियटरमा मञ्चन हुन लागेको हो।
बत्तिसपुतलीस्थित शिल्पी थियटरमा मंसिर १५ गतेबाट नाटक मञ्चन हुने भएको छ। वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह-प्रस्तुतिमा तयार हुने नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडीले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्देशकिय नाटक हो। उनी एक दशकदेखि कोरियोग्राफी, अभिनयसँगै फोटोग्राफीमा सक्रिय छन्।
मानसिक स्वास्थ्यको विषयमाथि कथामा तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ। यसअघि यो नाटक थापागाँउस्थित मण्डला थियटरमा मञ्चन भएको थियो। तिहारअघि मात्र मञ्चन भएको नाटक चाडपर्वको कारण पन्ध्र दिन देखाइएको थियो। दर्शकको चाप बढेकोले पुनः नाटक मञ्चन गर्न लागेको निर्देशक जेडी बताउँछन्।
यो नाटक पहिलाभन्दा अझै नयाँ डिजाइनमा देखाइने जेडीले जानकारी दिए। नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरूलगायत कलाकारको अभिनय रहनेछ।
अनिल सुब्बाले कला निर्देशन गर्ने नाटकमा गायिका झुमा लिम्बुले संगीत संयोजन गर्नेछिन्। नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भर्नेछन्।