थापागाउँस्थित मण्डला थिएटरमा असोज १६ गतेबाट नाटक 'ब्यूँझिएको सिरानी' मञ्चन हुने भएको छ।
वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार हुने नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गर्नेछन्। जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन्।
मानसिक स्वास्थ्यको विषयमाथि कथामा तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ। 'यो एउटा नाटक मात्र नभई एक सशक्त अभियान हो, जसले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने र छलफल गर्ने गर्दछ,' निर्देशक जेडी भने।
नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायत कलाकारको अभिनय रहनेछ। नाटकमा अनिल सुब्बाले कला निर्देशन गर्नेछन्।
गायिका झुमा लिम्बुले संगीत संयोजन गर्ने छिन् भने प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भर्नेछन्।
नाटक असोज २८ गतेसम्म मञ्चन हुनेछ।