कुनै फिल्म वा उपन्यासको पात्र साह्रै मनपर्यो भने के गर्नुहुन्छ? मनमनै उसलाई सम्झिनुहुन्छ! ऊबाट प्रेरित हुनुहुन्छ! वा उसलाई आफूले चाहेजस्तै रूपमा कल्पना गरेर नयाँ कथामा ढाल्नुहुन्छ!
सम्राट भुजेलले यी सबै गरे।
मण्डला थिएटरमा अहिले नाटक 'मुनमुन' चलिरहेको छ। यसका पात्रहरू लेखक बुद्धिसागरको उपन्यास 'फिरफिरे' बाट आएका हुन्। बुद्धिसागरले जन्माएका पात्रहरूलाई 'मुनमुन' मा नयाँ रूपमा हुर्काएका छन् निर्देशक सम्राटले।
मुनमुनमा फिरफिरेका विभिन्न पात्रहरू अलग स्वरूपमा देखिन्छन्- रकी, मुनमुन, पवन, रमा, सन्ध्या, बसन्ते, जुठिनी आमा आदि।
फिरफिरेले साथीसंगीको मायाको कथा भन्छ। नाटक मुनमुनले प्रेमीहरूको कथा-व्यथा समेटेको छ।
रकीकी प्रेमिका हुन्छिन् सन्ध्या। सन्ध्या पनि उनलाई उत्तिकै माया गर्छिन्। तर सन्ध्याको परिवारले जबर्जस्ती उनको बिहे अर्कै केटासँग गरिदिन्छ। उनीहरूको प्रेम एकअर्कासँग गाँसिन पाउँदैन।
यो नाटकमा प्रेमीहरू रकी र सन्ध्या मात्र होइनन्, अरू पनि छन्। मुनमुन र पवन, जुठिनी आमा र असारे बा, रमा र बसन्ते। उनीहरू सबैले प्रेमको कथा भनेका छन्।
पहिलोपटक नाटक निर्देशन गरेका सम्राट भन्छन्, 'प्रेम गर्यो भने परिवारको इज्जत जान्छ भन्ने मानसिकता भत्काउनुपर्ने कुरा नाटकका पात्रले बुझाउन खोजेका छन्।'
नाटकमा रकी बनेका सम्राट आफू भने कसरी फिरफिरेका पात्रहरूको प्रेममा परे त?
पाँच वर्षअघि उनी शिल्पी नाटकघरमा अभिनय सिक्थे। साहित्यमा पनि रूचि थियो। किताबहरू खोजेर पढ्दापढ्दै एक दिन बुद्धिसागरको 'कर्णाली ब्लुज' पढे।
'त्यो पढेपछि कर्णालीका बारेमा थाहा भयो। यस्तो मनपर्यो कि बुद्धिसागरका अरू किताब पनि पढ्न मन लाग्यो,' सम्राटले भने, 'फिरफिरे पढेपछि झन् त्यहाँका पात्रहरूले मेरो मनमस्तिष्कमा गहिरो छाप बनाए।'
पछि उनलाई तिनै पात्रहरू फेरि ब्युँताउन मन भयो। त्यसैले उनीहरूलाई समेटेर नयाँ कथा बुने। उनको कथा प्रेमको थियो। त्यसैले फिरफिरेकी सानी मुनमुनलाई ठूली बनाइदिए। अरू पात्रहरूलाई पनि आफ्नै किसिमले नयाँ रूप दिए। पवनकी बहिनी रमालाई बसन्तेकी प्रेमिका बनाए। जुठिनी आमाको कथाको सार भने बदलेनन्।
सम्राटले यो नयाँ कथा ती पात्रका जन्मदाता बुद्धिसागरलाई सुनाए। कथा सुनाउनुअघि उनलाई निकै धुकचुक थियो- बुद्धिसागरलाई कस्तो लाग्ला!
'पहिला त नगर्नु भन्नुहुन्छ कि भन्ने डर लागेको थियो,' सम्राटले त्यो बेलाको आफ्नो मनस्थिति सुनाए, 'उहाँले कथासार राम्रो छ, नाटक पनि राम्रो हुन्छ भन्ने अपेक्षा छ भन्नुभयो। यति भनेपछि मेरो हिम्मत बढ्यो।'
यसपछि उनी नाटक बनाउन कस्सिएका हुन्।
लेखक बुद्धिसागर पनि सम्राटले लेखेको नाटकको कथा मनपरेको बताउँछन्। नेपालमा पहिलोपटक कुनै आख्यानका पात्रहरू टिपेर अर्कै कथामा यसरी प्रस्तुत गरिएको उनले बताए।
'विदेशमा यस्तो चलन छ। नेपालमा भने सम्राटले पहिलो पटक उपन्यासका पात्रमाथि नयाँ कथा बनाउनुभएको छ,' उनले भने, 'यो चलन सुरू भएकामा म धेरै खुसी छु।'
हालसम्म बुद्धिसागरका तीन वटा उपन्यास प्रकाशित छन्- कर्णाली ब्लुज, फिरफिरे र एक्लो। एक्लो यही वर्ष बजारमा आएको हो। उनका उपन्यासका कथालाई फिल्म, नाटक बनाउन धेरै निर्देशकले प्रस्ताव गरिसकेका छन्। तर उनी सकारात्मक भएनन्।
'किताबको पूरा कथालाई फिल्म वा नाटकमा सबै समेट्न सकिँदैन। धेरै कुरा छुट्न सक्छ। त्यसैले मैले मानिनँ। सम्राटको आइडिया नयाँ छ। यस्तै नयाँ कुरा आएको भए पहिले पनि म मान्थेँ होला,' बुद्धिसागरले भने, 'किताबका पात्रलाई बोकेर नयाँ कथा कल्पना गर्नु सम्राटको राम्रो कला हो।'
यसैगरी कला देखाउने सपना सम्राटले सानैदेखि देखेका थिए।
मोरङको सुन्दरहरैंचामा जन्मेका उनी स्कुल पढ्दा गाउन, नाच्न रूचाउँथे। स्कुलका कार्यक्रममा सहभागी हुन मन लाग्थ्यो। तर आत्मविश्वासले उनलाई सधैं दर्शक मात्र बनाउँथ्यो।
'स्कुलमा हुँदा त म स्टेजमा जानै डराउँथे,' उनले भने।
सम्राटलाई फिल्म हेर्ने पनि सौख थियो। ६ कक्षा पढ्दा 'दर्पणछाया' हेरे। अभिनेता दीलिप रायमाझीलाई देखेपछि 'हिरो' बन्ने रहर जाग्यो। यसपछि नेपाली र हिन्दी फिल्म हेर्ने क्रम बढ्यो। जति हेर्थे, हिरो बन्ने हुटहुटी उति बढ्दै गयो।
दस कक्षा पुगेपछि कविता लेख्न र चित्र बनाउन थाले। नाच्ने-गाउने कला आफूभित्रै दबाए पनि चित्रकला देखाउन उनी डराएनन्। चित्रकला प्रतियोगितामा प्रायः दोस्रो हुन्थे।
'सानैदेखि आफ्ना अरू कला पनि देखाएको भए अहिलेसम्म धेरै राम्रो गर्न सक्थेँ भन्ने लाग्छ,' उनी भन्छन्।
बाह्र कक्षाको परीक्षा दिएर उनी काठमाडौं आए। हिरो बन्ने रहर थियो। अभिनय कक्षा लिन शिल्पी नाटकघर पुगे। सिक्न थालेपछि उनलाई लाग्यो- अभिनय सहज रहेनछ!
शिल्पीमा आउनुअघि उनले साथीहरूलाई अभिनय सिक्ने कुरा सुनाएका थिए। साथीहरूले 'अभिनय पनि सिक्नुपर्छ र, मै सिकाइदिन्छु' भन्थे। उनलाई पनि कहिलेकाहीँ 'हिरो बन्ने सोचेको मान्छेलाई यति सानो कुरा त आइहाल्छ नि, के सिक्नु' भन्ने लाग्थ्यो।
जब अभिनय कक्षा पुगे, उनको सबै भ्रम टुट्यो।
तीन महिना कक्षामा बिताएपछि उनले शिल्पीमै प्रदर्शन भएको 'निर्दोष म' नाटकमा अभिनय गरे। त्यसमा सम्राटको भूमिका थियो माछाको।
'हामी वरपरका चिजमा ध्यान दिँदैनौं। ध्यान दियो भने कल्पना गर्न पनि सकिने रहेछ भन्ने थाहा भयो। माछाको अभिनय गर्दा त्यसले के खान्छ, कस्तो हुन्छ, के गर्छ भन्ने बुझेँ,' उनले भने।
यसपछि उनले नाटकमा कामको अवसर पाएनन्। उनी घरै फर्किए। जागिर खानुपर्छ र कमाउनुपर्छ भन्ने उमेर भइसकेको थियो। उनी रोजगारीका लागि दुबइ पुगे। पैसा कमाए पनि मनको शान्ति कमाउन सकेनन्। उनलाई नाटकको याद आउँथ्यो। कला प्रस्तुत गर्ने छटपटीले पिरोल्थ्यो।
पर्खेर भए पनि नाटक गर्नुपर्ने रहेछ, छोडेर किन आएँ भनेर हरेक दिन आफैंलाई भन्थे। जति सोच्थे, नाटकमा अभिनय गर्ने चाह उति उर्लिन्थ्यो। यो उकुसमुकुस शान्त पार्ने उपाय उनले फिल्ममा भेटे। उनी दिनभर काम गर्न र रातभर फिल्म हेर्न थाले।
फिल्म हेर्दा उनलाई कहीँ न कहीँ कलासँग जोडिइरहेको जस्तो लाग्थ्यो। यसरी उनले तीन वर्षसम्म फिल्म हेरेर दुबइमा आफूलाई भुलाए।
नेपाल आएलगत्तै उनले अभिनयमा अवसर खोजे। कान्तिपुर फिल्म एकेडेमीमा अभिनय पढ्न गए।
'नाटक र अरू जेमा भए पनि अभिनय गर्छु भन्ने लागेको थियो, अवसरै पाइनँ,' अभिनयको मौका पाए गर्न आतुर उनी भन्छन्, 'मेरो काम नदेखेर नपाएको होला। अवसर दिए त कला देखाउन पाउने थिएँ कि?'
आफूले धेरै सिक्न बाँकी छ भनेर मन बुझाएका उनी जति अभिनयबारे सोच्थे, फिरफिरेका पात्रहरू उनको दिमागमा उति नै आउँथे। उनी तिनै पात्रहरूको कल्पनामा रमाउन थाले। तिनलाई विभिन्न रूपरङ दिए। आफैं कथा बुने र त्यसमा ती पात्र हालेर हेरे।
दिमागमा फिरफिर गर्दै घुमिरहेका फिरफिरेका पात्रहरूका लागि आखिरमा उनले नयाँ कथा बनाए।
'कथाको सार धेरै पटक लेखेँ अनि मेटेँ,' उनले भने, 'तीन-चारपटक पछि निधो भयो अनि बुन्न थालेँ। मैले कथा जन्माउन सक्ने रहेछु भन्ने भरोसा भयो।'
यही भरोसाले उनको कथा 'मुनमुन' नाटक बनेर प्रदर्शनमा आएको हो।
नाटकमा कविता पनि छन्। यी सम्राट आफैंले लेखेका हुन्- जसरी पर्खिरहन्छन् शीतका थोपाहरूले मिरमिरे बिहानीलाई, ताराहरूले अँध्यारा औंसीका रातलाई, तातो मरूभूमिले चिसो वर्षालाई, त्यसरी म पनि पर्खिरहन्छु तिमीलाई!
मुनमुन नाटक प्रेम र प्रेमीहरूको पर्खाइको पनि कथा हो।
वास्तविक जीवनमा प्रेमले कसैलाई वियोग दियोस् भन्ने हुँदैन। त्यसैले यो नाटकले सामाजिक सन्देश दिन खोजेको भन्दा पनि समाजको ऐना देखाएको सम्राट बताउँछन्।
'के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने जस्ता मान्यता र सन्देश नाटकले दिँदैन। यसले गहिरो प्रेम कथा र एकल महिलालाई समाजले गर्ने दुर्व्यवहार दर्साउन खोजेको हो,' उनले भने।