'किन रोड क्रस गरेको' भन्दै भालुको हातमा प्रहरीले हतकडी लगाउँछ।
भालु भन्छ– हाम्रो जंगल रोडले क्रस गरेको हो, हतकडी रोडलाई लगाऊ।
सामाजिक सञ्जालमा भेटेको यो पोस्टले रंगकर्मी अनिल आङथुपो (सुब्बा) मा छटपटीको तरंग उत्पन्न गरायो। अनिलले अनेक प्रकारका जंगली जनावरहरू सम्झे, तिनको बास र आहाराको कल्पना गरे।
सानो छँदा उनी खरायो लखेट्थे। भालुको कुराले उनलाई खरायोको पनि माया लागेर आयो।
'सुविधाको बहानामा र आफू बाँच्नका लागि हामीले जनावरहरूको धेरै अधिकार खोसेका रहेछौं जस्तो लाग्यो,' उनले भने।
यसपछि उनलाई जंगली जनावरको अधिकारका लागि बोल्नुपर्छ भन्ने लाग्यो।
भालुको भाषा नबुझे पनि सामाजिक सञ्जालमा भेटेको उक्त सांकेतिक संवादले आफ्नो मनमा यति गहिरो प्रभाव पार्ला भन्ने कुरा अनिलले सोचेका पनि थिएनन्।
'जंगलबाट घाँसदाउरा ल्याउने हामी, जंगलमा पाइने जडीबुटी ल्याउने पनि हामी, अनि जंगलमा डढेलो लगाइदिने पनि हामी,' उनले भने, 'हामीले यसो गर्दा कति जंगली जनावर आपतमा परे होलान्! कति मरे होलान्!'
उनलाई मानिसले जंगली जनावरलाई धेरै दुःख दिएको रहेछ भन्ने अनुभूत भयो।
उनी निष्कर्षमा पुगे– हामी मान्छेले जंगली जनावरहरूलाई धेरै दुःख दिएका छौं। तर हामी यसबारे बुझ्न खोज्दैनौं।'
यही निष्कर्षपछि अब कलामार्फत जंगली जनावरको कथा बोल्नुपर्छ भन्ने सोचेर अघि सरे।
उनले सोचेको कथा बोल्ने माध्यम इलामको चुलाचुली गाउँपालिका बन्यो। उनी आफू पनि चुलाचुलीमै जन्मे–हुर्केका हुन्।
अनिल भन्छन्, 'मान्छेले आफ्नो कथाव्यथा सुनाउने धेरै ठाँउहरू छन् तर जनावरले आफ्नो कथा कहाँ गएर, कसलाई सुनाउने पोख्छ र!'
सानै उमेरमा उनले गाउँलेहरूले हात्ती लखेटेको देखेका थिए। अझै पनि मानिस र हात्तीको द्वन्द्व कायम छ। हात्ती आउँछ, मानिसहरू जम्मा भएर लखेट्छन्। फेरि हात्ती आउँछ, फेरि लखेटिन्छ।
अनिलको प्रश्न छ, 'हात्तीले आफ्नो कथाव्यथा कहाँ गएर कसलाई सुनाउनु?'
जनावरको कथाव्यथा सुनाउन नाटक प्रदर्शन गर्ने योजनामा चुलाचुली गाउँपालिकाले साथ दियो। उनले 'चुलाचुली पाठशाला नाट्य उत्सव' को तयारी गरे। दुई सातामा तयारी पूरा भयो।
नाटक जंगल क्षेत्रमा हुने भयो। पशुपन्छीलाई कुनै पनि असर नपरोस् भन्ने ध्यानमा राखेर विद्युतीय उपकरण प्रयोग गरिएन। प्रदर्शनका लागि एउटा सिमलको रूखअगाडि मञ्च बनाइएको थियो। लटरम्म फुलेको सिमलको रूखबाट चराचुरुंगीको आवाज पनि नाटकमा मिसिन आइपुथ्यो।
'यस्तो लाग्थ्यो कि चराचुरुंगीहरू आफ्नो कथा सुनेर रमाइरहेका थिए,' अनिलले भने, 'कला प्राकृतिक हुनुपर्छ भनिन्छ। यसरी प्रकृतिसँगै नाटक गरेको मेरो पहिलो अनुभव थियो।'
दुई दिन चलेको उत्सवमा पाँचथर, इलाम, झापा र मोरङका कालाकारले दस वटा नाटक देखाए। नाटकमा सबै जंगली जनावरलाई आआफ्नो थलोमा निर्भयसाथ बाँच्न दिनुपर्छ भन्ने सन्देश थियो। अनिलले 'यो कथा मेरो नहुन सक्छ' शीर्षकको नाटक निर्देशन गरेका थिए। यसले हात्तीको कथा भन्थ्यो।
पशुपन्छीसँगै महिलाको कथा भन्ने 'नाटक चंगानी गीत' पनि प्रस्तुत गरिएको थियो। धेरै जसो नाटकमा स्कुले विद्यार्थीले अभिनय गरेका थिए। नाटक हेर्न आउने दर्शकको संख्या पनि सोचेभन्दा धेरै थियो।
नाटकमा यहाँसम्मको खुड्किला चढ्न अनिलले कम्ती संघर्ष गरेका छैनन्। उनका बुबा बाँसको चोयाबाट डोको, डालो, भकारी लगायतका सामान बनाउँथे। आमा घरायसी काममा व्यस्त हुन्थिन्।
बाबुआमाले उनलाई यस्तो बन्नुपर्छ, उस्तो बन्नुपर्छ भनेर कहिल्यै भनेनन्। उनी आफ्नै सपनामा अघि बढे। बुबाआमाको सहयोग पाए। कान्छो छोरो भएकाले घरमा सबैका प्यारा थिए। रंगकर्मी बन्ने सपना देख्नमा आफ्नै दिदी र दाइबाट प्रेरित थिए।
ठूल्दाइ नाटकमा अभिनय गर्थे। ठूल्दिदी बालबालिकालाई नृत्य सिकाउँथिन्। अनिल दिदी र दाइका कला हेर्दै हुर्के।
'दाइको नाटक हेर्न गाउँका सबै मान्छे झुम्मिथे। म पनि कहिल्यै छुटाउँदिनँ थिएँ। अहिले दाइले नाटक गर्न छोड्नुभयो,' उनले भने।
एक दिन माल्दिदीले सोधिन्– भाइ, तँलाई के बन्न मन छ?
अनिलले जवाफ दिए– दाइले जस्तै नाटक खेल्न मन छ।
दिदीले मेहनत गर्नू, राम्ररी खेल्नू भनिन्।
दिदीले यसो भनेपछि अनिल उत्साहित भए। गाँउमा साकेला मेला लाग्थ्यो। मेलामा मानिसहरू नाचगान गर्थे। अनिलले पहिलोपटक २०६४ सालमा साकेला मेलामा एउटा नाटकमा अभिनय गरे।
'पहिलो पटकमै मानिसहरूको भिडमा नाटक गर्नु परेको थियो। एकदम धेरै डराएँ। लाज पनि लाग्यो,' उनले अनुभव सुनाए।
यसपछि उनले चुलाचुली नाटकघरमा धेरै पटक अभिनय गरे। गर्दागर्दै डर र लाज दुवै हरायो। अभिनय गर्नु जीवनको अभिन्न अंग बन्न गयो।
बाह्र कक्षाको पढाइ सकेर फुर्सदमा थिए। काठमाडौंस्थित नाट्य संस्था शिल्पीले अभिनय प्रशिक्षण कक्षामा सहभागी हुन बोलायो। सहभागी हुन चुलाचुली नाटकघरले सहयोग गर्यो। उनले तीन महिनाको कक्षा लिए।
अभिनय कक्षामा नाटकका धेरै सिप सिक्न पाए। प्रशिक्षार्थीहरूले आफ्नो प्रस्तुति पनि गर्नुपर्थ्यो। अनिलले एकल नाटक प्रस्तुत गरे।
'सानो छँदा दिदीको पैसा चोरेको घटनालाई नाटक बनाएर सोलो (एकल) प्रस्तुत गरेको थिएँ। गुरुले धेरै मन पराउनुभयो। साथीहरूले पनि मन पराए,' उनले सम्झिए।
प्रशिक्षण सकिएपछि अनिल गाउँ फर्के। आफूले सिकेको सिप चुलाचुली नाटकघरका विद्यार्थीलाई पनि सिकाउने विचार गरे। सिक्न र अभिनय गर्न व्यवस्थित ठाउँ थिएन। खोलाको बगरमा, चउरमा, साथीको आँगनमा सिक्थे। केही महिना रेडक्रस संस्थाको एउटा पुरानो भवन प्रयोग गरे। यसपछि वन कार्यालयको एउटा खाली कोठामा पनि अभ्यास भयो।
अनिलले हालसम्ममा एक दर्जन नाटकमा अभिनय गरिसके। यसको आधा जतिमा निर्देशन गरेका छन्। आफूले निर्देशन गरेकामध्ये 'चोरको स्वर' नाटक उनलाई औधी मन पर्छ। लिम्बू समुदायमा हुने प्रेमविवाहबारे बनाइएको यो नाटकले धेरै दर्शक पयो। यो नाटक काठमाडौंको मण्डला नाटकघरमा मञ्चन गरिएको थियो। अनिल आफू पनि लिम्बू समुदायका हुन्।
'चोरको स्वर नाटक दर्शकले खुबै मन पराए। केहीले गाली पनि गरे,' उनले भने, 'सबैलाई एकनासले मन पर्छ भन्ने हुँदैन। गाली गर्नेभन्दा मन पराउने धेरै थिए।'
आफ्नै गाउँको नाटकघरबाट रंगमञ्चमा उदाएका हुन् अनिल। नाटककै काममा हिँडिरहनु पर्छ। समय मिलाएर गाउँ पुग्छन्। आफ्ना सहकर्मीसँग अनुभव साटासाट गर्छन्।
उनलाई एक जना नाट्य गुरुले फिल्ममा नजानू, रंगमञ्चमै अडिनू भनेर सुझाव दिएका थिए रे। उनी फिल्ममा गइसकेका छैनन् तर म्युजिक भिडिओसम्म चाहिँ पुगे।
'म एउटा कलाकार हुँ। डिजिटल माध्यममा पनि काम गर्नुपर्छ भन्ने लाग्यो। अहिले म्युजिक भिडिओको काम पनि गर्छु,' उनी भन्छन्।
डिजिटल माध्यमतिर जाने समय चाहिँ कोरोना भाइरसले ल्याएको लकडाउनले जुराइदिएको हो। लकडाउन बेला नाटकघर बन्द भयो। उनले म्युजिक भिडिओ निर्देशन गर्ने सोचे। परिस्थिति सहज भएपछि काम सुरू गरे।
अनिलका अनुसार हालसम्म उनले पाँचवटा म्युजिक भिडिओ निर्देशन गरेका छन्। हालै 'चंगा' गीत सार्वजनिक भयो। यस गीतमा दयाहाङ राईको अभिनय छ। अनिल छोटा फिल्म निर्देशनमा पनि लागेका छन्।
रंगमञ्चका कलाकारको पारिश्रमिक भने निकै कम रहेको उनको भनाइ छ।
'कहिलेकाहीँ त श्रमशोषणको अनुभव हुन्छ। एउटा नाटक गर्दा एक–दुई हजार रूपैयाँ पाउँछु। कहिले त दर्शकको धन्यवादमै चित्त बुझाउनु पर्छ,' आफ्नै उदाहरण दिँदै उनले भने।
नाटक पनि आफ्नै परिवेशको कथा बनाएर तयार गर्नुपर्ने अनिलको धारणा छ।
भन्छन्, 'अहिलेसम्म मैले निर्देशन गरेका नाटकमा हाम्रै कथा छन्। मलाई आफ्नै परिवेशको कथा मन पर्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी