नाटकको अन्तिमतिर एउटा संवाद छ– कयौं कलिला कोपिला, मुनाहरू बिना गल्ती जल्नुपरेको छ। उनीहरूको कुरा न राज्यले सुन्छ न कसैले महशुस गर्न सक्छ। यो हाम्रो देशको यथार्थ पनि हो।
काठमाडौंको सिनामंगलस्थित पुरानो घरमा चलिरहेको ‘एन इन्स्पेक्टर कल्स’ ले न्याय नपाएका किशोरीलाई सम्झाएको मात्र होइन, उनीहरूको आवाज बोलेको छ।
नाटककी मुख्य पात्र मुनाले न्याय पाउन नसकेर आफूलाई जलाएकी छन्। ११० वर्षअघि लेखिएको नाटकको कथा अझै पनि मेल खाएको निर्देशक राजकमल फकिर बताउँछन्। डिटेक्टिभ जनरामा आधारित नाटक जेबी प्रिस्टलीको सन् १९४५ मा प्रकाशित नाटकलाई फकिरले अनुवाद गरेका हुन्।
नौ महिना लगाएर नाटकको अनुवाद गरेका उनलाई यो समय पनि उही अवस्थामा रहेकाले अहिले नाटक देखाउनुपरेको उनी बताउँछन्।
‘हाम्रो देशमा अझै निर्मला, सम्झना जस्ता धेरै किशोरीहरूले मरेपछि पनि न्याय पाउन सकेका छैनन्। उनीहरूको मृत्युका हत्याराहरू सायद आफूलाई बचाइराख्नेतिर लागिपरेको हुन सक्छन्। त्यही कुरा नाटकले झकझकाउन खोजेको हो,’ उनले भने।
नाटक एउटा धनाढ्य मल्ल परिवारमा भइरहेको उत्सवबाट सुरू हुन्छ। मल्ल परिवारकी एक्ली छोरी शिला मल्लको इन्गेजमेन्ट समाजमा आफूभन्दा माथिल्लो दर्जामा गनिने शिशिर विक्रम राणासँग हुँदैछ। यही माहोलमा घरको डोरबेल बज्छ। एउटा पुलिस इन्स्पेक्टर भित्र छिर्छ।
उत्सव मनारहेका मल्ल परिवारमा जब एक युवतीलाई आफ्नै कारण जल्नुपरेको घटना थाहा हुन्छ तब उनीहरू आफ्नो गल्ती मान्दैनन्।
नाटकले कोभिडको कारण बताउँदै जागिरबाट निकालिएका युवतीहरूको जीवनस्तरलाई आधा भए पनि बुझाउन खोजेको छ। आफूले काम गरेअनुसारको तलब माग्दा मालिकले जागिर नै खोसिदिन्छन्। युवतीले काम नपाएको कारण भौंतारिनुपरेको र आफ्नो क्षमताभन्दा कम खाले जागिर गर्नुपरेको समेत नाटकले देखाएको छ।
बल्लतल्ल पाएको काममा पनि उनलाई हाँसेकै कारण निकाल्नुपर्छ त्यसपछि झनै युवतीको जीवनमा कठिनाइ सुरू भएको छ। नाटकमा युवतीको जीवनबारे कुनै अर्को पात्रले बोलिराख्दा, साच्चिँकै युवती आफैं बोलिरहेको जस्तो हुन्छ। जुन नाटकको बलिलो आवाज रहेको देखिन्छ।
मुना नाम गरेकी युवतीको नाम फेरिरहेको हुन्छ। जुन नाम मल्ल परिवारको हरेक सदस्यसँग जोडिएको छ। बाबुछोरीले युवतीको जागिर खोसिदिन्छन्। ज्वाइँले युवतीलाई प्रेममा पारेर छोडिदिन्छन्। छोराले जबरजस्ती गरी युवतीलाई गर्भवती बनाउँछन्। आमाले युवतीको कुरा नसुनिदिँदा उनले आफूलाई जलाएर मारिदिन्छिन्।
पिछडिएकी परिवारबाट रहेकी युवतीको राजधानीमा कोही आफन्त हुँदैनन्। जसकारण उनलाई सहानुभूति देखाउँदै उनको फाइदा लुट्छन्। नाटकले यसरी देखाइराख्दा अझै पनि मुनाजस्ता कति युवती छन् जसलाई फाइदा लुट्दै छन् पुँजीपतिहरू भनेर मनन गर्न सकिन्छ।
परोपकारी महिला आयोगमा काम गर्ने मल्ल परिवारकी आमाले जब युवतीको कुरा थाहा पाएर पनि उनको उजुरी लिन खोज्दिनन्।
यस्ता केटीहरूले धनी मान्छेलाई फसाउनका लागि जे पनि गर्न सक्ने भनेर उजुरी लेखिन्। मल्ल परिवारकी आमाले नक्कली प्रहरीलाई जानकारी दिन्छिन्। अझै पनि नेपाली समुदायमा पुरुषभन्दा महिलाहरू नै दोषी रहने, महिलाले नै महिलाको वेदना बुझ्न नसकेको नाटकले बुझाउन खोजेको छ जस कारण युवतीले आफूलाई जलाउँछिन्।
युवती आफूले न्याय नपाएको कारण आत्महत्या गरेको जिम्मेवार मल्ल परिवार नै रहेको भन्ने कुरा एक प्रहरी भनिरहन्छ। मल्ल परिवारले युवतीको मृत्युबाट आफूहरूलाई बचाउन प्रहरीलाई पैसा समेत दिन खोज्छन्।
नक्कली प्रहरी भनेर उनीलाई थाहा हुँदा मल्ल परिवारले जबरजस्ती सुरू जसरी उत्सव मनाउन खोज्छन्। प्रहरी नक्कली भए पनि मल्ल परिवारले गरेको गल्तीहरू साँचो हुन्छ जुन उनीहरू आफैंले स्वीकार गर्छन्।
मुख्य पात्र बनाएका मुना थापा भए पनि उनको कथा नक्कली प्रहरीले बोलिरहेको देखाइन्छ। नक्कली प्रहरीले मुनाको बारेमा भनिरहँदा मुनासँग सम्बन्धित घटनाले मुनालाई मुख्य पात्रको रूपमा नाटकले जीवित गरेको छ।
मृत्यु आफैंमा पीडादायी क्षण हो। कसैको शंकास्पद मृत्यु भए त्यसले न्याय नपाउनु झनै डरलाग्दो हुन्छ। त्यस्तै नाटकले मुनामार्फत देशमा भएका हजारौं न्याय नपाएका युवतीहरूको कथा बोल्न खोजेको देखाइन्छ। समाजमा घटिरहेको घटनामा जब पुँजीपतिहरू जोडिएका हुन्छन् तब उक्त घटना बिलाउन खोज्छन्। नाटकले पनि यही कुरा सम्बोधन गर्न खोजेको देखिन्छ। नाटकमा संवादहरू दोहोरिरहे पनि यसले उठाउन खोजेको विषय गम्भीर छ।
नक्कली प्रहरी नाटकमा प्रश्न सोधेर मल्ल परिवारको धनको लोभमा नआएको देखाइन्छ। बारम्बार प्रहरीले प्रश्नसँगै उनीहरूलाई झक्झकाइरहँदा यस्तो लाग्छ साँचो प्रहरीले पनि यसैगरी अनुसन्धान गरे पीडितले न्याय पाउँछन्।
नाटकमा आभास अधिकारी, विजय ताम्रकार, शारदा अधिकारी, सरिता भुजेल, सुदीन लुइँटेल, शिशिर सिवाकोटी, मोनिका थापा लगायत कलाकारको अभिनय छ।