फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम 'अब सुन्छ अमेरिका' सम्पन्न भएको छ।
सन् २०२५ को अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्रा फल्स, बोस्टन, न्यु ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, सिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सान फ्रान्सिस्को आदि ठाउँमा सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो।
तीन महिना लामो सांगीतिक कार्यक्रममा गायकहरू बद्री पंगेनी, प्रताप दास र एलिना चौहानले दर्शकलाई आफ्ना गीतमार्फत मनोरञ्जन गराएका थिए।
कार्यक्रम भएका ठाउँमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। तीज नलाग्दै अमेरिका पुगेका गायक–गायिकाले तीज हुँदै दसैं–तिहारसम्मका चार्डमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए।
कार्यक्रमका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले गर्मी मौसम सकिँदो र चिसो मौसम सुरू हुने अत्यन्त अनुकूल मौसम भएका महिनामा अमेरिकाको पूर्वदेखि पश्चिममा रहेका नेपालीहरूसम्म पुगेको जानकारी गराएका छन्। अधिकारीले यो क्रममा हजारौँ माइलको फराकिलो दूरीको यात्रा पार गरेको बताए।
'समग्रमा कार्यक्रम परिकल्पना गरेजस्तै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ र आफूले कलाकार मित्रसँग गरेको सर्त तथा वाचाबमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु। यसका लागि कलाकार मित्रहरू, स्थानीय आयोजक, प्रायोजक, आदरणीय दर्शकहरू, प्रचारप्रसारमा सहयोग गर्ने मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू साथै यस कार्यक्रमलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अहोरात्र खटिएर सहयोग गर्नुहुने तपाईं सम्पूर्णप्रति आभारी छु,' अधिकारीको भनाइ छ।
उनले आगामी दिनमा पनि यसैगरी नेपाल र नेपालीलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले लागिपर्ने बताएका छन्।