कक्षा ६ मा अध्ययनरत तीन छात्राहरूले स्वरबद्ध गरेको भजन सार्वजनिक भएको छ।
भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा रहेको माता जगदम्बाको भजन घटस्थापनाको अवसर पारेर सोमबार सार्वजनिक गरिएको हो।
'अम्बे, अम्बे, जय अम्बे, जय जगदम्बे' शीर्षकमा रहेको भजन निस्ट स्कुलमा आयोजित एक कार्यक्रमबीच प्रध्यानाध्यापक दिलीप रानाले औपचारिक रूपमा सार्वजनिक गरे। छात्राहरूले निकै राम्रो भजन गाएको र यसले विद्यालयका अन्य बालबालिकालाई पनि प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।
भजनमा बालबालिकाले आफूहरूले जानेर या नजानेर गरिरहेको भक्तिलाई बुझेर दर्शन दिन देवी मातासँग प्रार्थना गरेका छन्। उनीहरूले देवी जगदम्बासँग ज्ञानको भिक्षा पनि मागेका छन्। सबै जीव देवी माताकै सन्तान भएको र हरेक जीवमा माताकै अंश रहेको कुरालाई भजनले मुख्य रूपमा उजागर गरेको छ।
पत्रकार डीआर आचार्यले रचना गरेको भजनमा राजेन्द्र सुवेदीले संगीत भरेका छन्।संगीतकार सुवेदीको पनि स्वर रहेको भजनको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने रेकर्डिस्ट शंकर लिम्बू हुन्।
यसको म्युजिक भिडिओको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडिओमा डीआर आचार्य एवं गायिकाहरू सौम्या, आरोशी र विदिताले अभिनय गरेका छन्। भजनको सिनेमाटोग्राफर अजय रेग्मी हुन् भने दीपक विष्टले सम्पादन गरेका हुन्।