'प्रमोद खरेल एण्ड परम्परा' ब्याण्डले अस्ट्रेलिया टुरको सुरूवात गरेको छ।
आइतबार सिड्नीको मिन्टोबाट टुरको थालनी भएको हो। त्यहाँ आयोजित आउटडोर कन्सर्टमा ब्याण्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई दुई घण्टासम्म सांगीतिक मनोरञ्जन दिएको थियो।
कन्सर्टमा प्रमोदले रिलिजको तयारीमा रहेको ब्याण्डको नयाँ गीत 'काली टोपीले' पनि गाए, जसमा दर्शकहरू उत्साहका साथ नाचेका थिए। नेपालमा तीजसँगै ठूला चाडपर्वको माहोल भएकोले पनि दर्शकमा छुट्टै रौनक देखिन्थ्यो।
सिड्नीको यो सफल कार्यक्रमपछि ब्याण्डले अस्ट्रेलियाका अन्य प्रमुख सहरहरूमा पनि आफ्नो प्रस्तुति दिँदैछ। जसअनुसार सेप्टेम्बर १ मा मेलबर्न, सेप्टेम्बर १२ मा न्यूक्यासल, सेप्टेम्बर १३ मा क्यानबेरा र सेप्टेम्बर १५ मा ब्रिसबेनमा कन्सर्ट आयोजना हुन लागेको हो।
'मेला हब' र 'निंगेन फाइन मिट्स' ले ब्याण्डको अस्ट्रेलिया टुर आयोजना गरेको हो। सांगीतिक टुरको मुख्य उद्देश्य नेपालमा अटिजम भएका विपन्न परिवारका बालबालिकालाई सहयोग गर्नु रहेको जनाइएको छ।
'परम्परा' ब्याण्डले आफ्ना सिर्जनाहरू निरन्तर रिलिज गर्ने तयारी गरिरहेको गायक खरेलले बताए। यो टुरमा जानुअघि पनि ब्याण्डले 'के मा बस्यो दिल' बोलको गीत ल्याएको थियो।
ब्याण्डमा प्रमुख गायक प्रमोद खरेलसँगै लिड गिटारमा देवासिस तामाङ, बेस गिटारमा कुशल थापा, बाँसुरीमा सञ्जीव मैनाली, ड्रममा भूपेन्द्र रसाइली, मादलमा जेपी जोशी र किबोर्डमा राहुल भुजेल छन्।
अस्ट्रेलिया टुरपछि ब्याण्डले आगामी वर्षको जुन र जुलाईमा अमेरिका टुर गर्ने योजना बनाएको छ।



