गायक प्रमोद खरेल आफ्नो ब्यान्ड 'परम्परा' सहित अस्ट्रेलियाको सांगीतिक टुरमा निस्किने भएका छन्।
अस्ट्रेलियाका विभिन्न पाँच सहरमा आयोजना हुने 'लाइभ इन अस्ट्रेलिया' मा प्रमोदले ब्यान्डसहित प्रस्तुति दिँदैछन्।
२२ अगस्टदेखि १४ सेप्टेम्बरसम्म ब्यान्डले प्रस्तुति दिँदैछ। सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलबर्न र न्यूक्यासलमा कार्यक्रम तय छ।
मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुतिमा हुन लागेको यो टुरलाई लिएर उत्साहित रहेको प्रमोदले बताए।
'टुरका लागि तयारी गरिरहेका छौं। अस्ट्रेलियाका विभिन्न सहरका दर्शकहरूलाई मनोरन्जनका लागि तयारी रहन आग्रह गर्छौ,' प्रमोदले भने, 'अस्ट्रेलियामा ब्याण्डसहितको पहिलो सांगीतिक टूर भएकाले पनि हामी अत्यन्तै उत्साहित छौं।'
यो टुरमा निस्किनुअघि मंगलबार ब्यान्डले नयाँ गीत 'केमा बस्यो दिल' सार्वजनिक गर्दैछ। टुरमा ब्याण्डका आगामी गीतहरू समेत पहिलोपटक प्रस्तुत गर्ने तयारी छ।
ब्याण्डको प्रमुख गायकमा प्रमोद खरेल, लिड गिटारिस्टमा देवासिस तामाङ, बेस गिटारिस्टमा कुशल थापा, बाँसुरीमा सञ्जीव मैनाली, ड्रममा भूपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल छन्।
'प्रमोद खरेल एण्ड परम्परा' ले आगामी जुन र जुलाईमा अमेरिका टुर गर्दैछ।