सांगीतिक जोडी अस्मिता अधिकारी र महेश काफ्लेले अमेरिकाका २० भन्दा बढी सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन्।
उनीहरूको संयुक्त सांगीतिक कार्यक्रम 'सोलफुल यु.एस.ए यात्रा' को घोषणा भएको छ।
सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म उक्त सांगीतिक टुर हुने मंगलबार आजोजित कार्यक्रममा जानकारी दिइएको हो।
कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायत २० भन्दा बढी अमेरिकी सहरहरूमा कार्यक्रम हुनेछ।
'ओनेस्ट रियल इस्टेट'द्वारा प्रस्तुत कार्यक्रमको व्यवस्थापकमा 'थ्री ई इन्टरटेन्मेन्ट' रहेको छ।
अस्मिता र महेशको अमेरिकाका विभिन्न सहरहरूमा राम्रो माग भएकाले पनि यो सांगीतिक यात्राको आयोजना गरिएको थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए।
अस्मिता र महेशले पनि आफूहरू यो सांगीतिक टुरका लागि निकै उत्साहित रहेको बताए। अमेरिकामा रहेका नेपाली समुदायमाझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै उनीहरूले खुसी व्यक्त गरे।
अस्मिता र महेशले गाएका थुप्रै गीत सुपरहिट छन्। यी दुईको सहकार्य रहेका 'लजावती झार', 'नाच फिरिरि' र 'लाइटरले बिडी सल्केको' जस्ता गीतहरू हिट छन्।
थ्री ई इन्टरटेन्मेन्टले यसअघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुरको आयोजना गरिसकेको छ।
साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ।