नेपालको चर्चित रक ब्याण्ड '१९७४ एडी' आफ्नो ३० औं वार्षिकोत्सव मनाउन काठमाडौंमा गुञ्जिने भएको छ।
आउँदो चैत २३ गते (अप्रिल ५) मा बौद्धस्थित हायात ग्राउन्डमा १९७४ एडीको बहुप्रतिक्षित इभेन्ट 'रकयात्रा २' हुन लागेको हो। जुन इभेन्टले ३० वर्षको संगीत यात्रालाई मनाउनेछ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसबारे जानकारी दिएको हो।
'हामी यो इभेन्टमा सहभागी हुने सबैका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने लक्ष्य राख्छौं,' ब्याण्ड म्यानेजर अनुज कार्कीले भने, 'मनोरञ्जन, संस्कृति र समुदायलाई यसरी संयोजन गरेका छौं, जसले कार्यक्रममा उपस्थित सबैको भावना उत्सवमय बनाउँनेछ।'
कार्यक्रममा प्रसिद्ध कलाकारहरूको प्रस्तुति, परिवारका लागि विशेष गतिविधि र विशेष फेस्टिभल अफरहरू समेत रहने जनाइएको छ। स्वादिस्ट खानाका स्टलहरू र सेलिब्रेटीहरूको उपस्थिति जस्ता विशेषताले पनि कार्यक्रमलाई विशेष बनाउने आयोजकको भनाइ छ।
कार्यक्रमको टिकट इसेवामार्फत खरिद् गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। टिकट चार प्रकारका छन्।
जसमा साधारणको १ हजार, फ्यानपिट एक हजार ८००, भिआइपितर्फ २५०० र भीभीआइपीतर्फ ८ हजार रूपैयाँ तोकिएको छ।
‘१९७४ एडी’ सन् १९९४ मा स्थापना भएको थियो।
यो ब्याण्डका 'परेलीमा', 'सम्बोधन', 'हिँड्दा हिँड्दै', 'छुँदैन तिम्रो मायाले' लगायतका गीतहरू चर्चित छन्। ब्याण्ड मेम्बरमा एड्रियन प्रधान, फिरोज स्याङ्देन, संजय श्रेष्ठ, मनोज कुमार केसी, निराकार याकथुङ्बा, फिरोज स्याङ्देन छन्।