गायक अनिल अधिकारीको नयाँ गीत 'साँझको बतास' ले सार्वजनिक गरिएको छ।
तीन दिनअघि सार्वजनिक यो गीतमा गायक अधिकारीकै शब्द, संगीत र स्वर छ। गीतमा माया र प्रेमका अभिव्यक्ति झल्किने गरी शब्द र संगीत भरिएको छ भने भिडिओमा पारिवारिक बाध्यतापछि श्रीमती वैदेशिक रोजगारीमा जानु परेपछि छोरी र घर व्यवहार हेनुपर्ने बाबुको कथालाई देखाइएको छ।
भिडिओमा अभिनेत्री केकी अधिकारी, कलाकार उत्सव सापकोटा, श्रृषा कुँवर, सन्तोष घिमिरे र बाल कलाकार अनाया पराजुलीले अभिनय गरेका छन्।
भिडिओबारे गायक अधिकारीले भने, 'हाम्रो देशमा वर्षेनी हजारौं मान्छेहरू उज्ज्वल भविष्यका लागि वैदेशिक रोजगारीमा गइरहेका छन्। ति मानिसहरूमा कतिपय भने विदेशमा नै दुर्घटनामा परि अपाङ्गता र मानसिक समस्या लिएर फर्कनु परेको छ। यस्तै–यस्तै समाजको कथालाई दृश्यमा उतार्न खोजिएको हो।'
भिडिओको छायांकन र सम्पादन शौरभ लामिछानेले गरेका हुन् भने कथा तथा निर्देशन गायक अनिल अधिकारी स्वयंको छ।