लोकप्रिय ब्याण्ड कन्दराले अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेको छ।
ब्याण्डले बुधबार 'हुनेछ- द सङ अफ होप' सार्वजनिक गरेको हो।
माया प्रेमका सुख दुःख, प्रकृति र स्थानविशेष गीतहरू गाउँदै आएको कन्दराको नयाँ गीत अन्य गीतभन्दा पृथक छ। गीतले भन्छ–
सुन्दर बिहानी त्यो, उदाउने छ एक दिन
कुरूप ती मनहरू बिलिने छन् त्यो दिन
तिमी आशा नमार्नु, निराश नहुनु
पीडा भुलाउने खुसी ल्याउने छु त्यो दिन
नयाँ वर्षमा नवीन सोच र सकारात्मक उर्जा छर्ने उद्देश्यले आशावादी गीत सार्वजनिक गरिएको ब्याण्डका गायक विवेक श्रेष्ठको भनाइ छ। यसअघि ब्याण्डले विचरा म बोलको गीत सार्वजनिक गरेको थियो।
'हुनेछ– द सङ अफ होप' गीतका शब्द तथा संगीत ब्याण्डका ड्रमर सुनिल थापाले तयार पारेका हुन्। गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गरिएको छ। देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिएको जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए।
गत कात्तिकमा ठमेलस्थित एलओडी क्लबमा 'कन्दरा' ब्याण्डले पहिला घरदेश अनि परदेश थिममा सांगीतिक प्रस्तुति गरेपछि आफ्नो सक्रियता तीव्र बनाएको छ।
कन्दराले सन् २०२५ मा संसारका विभिन्न देशमा छरिएका आफ्ना स्रोताहरूमाझ सांगीतिक प्रस्तुति गर्दैछ। जसको सुरूआत जनवरी ४ मा बेलायतको लन्डनस्थित द ओटुबाट हुनेछ।
कन्दराका गायक विवेक श्रेष्ठले भने, 'नयाँ वर्षमा कुनै पनि संगीत सर्जकका लागि ड्रिम भेन्यू ओटुबाट हाम्रो अन्तर्राष्ट्रिय सांगीतिक टुर गर्न पाउनु खुसीको कुरा हो। बेलायतमा कन्दराकै पहिलो कन्सर्ट ओटुबाट सुरू हुन लागेकोले हामी कन्दराका सबै साथीहरु उत्साहित छौं।' उनले लन्डनपछि जनवरीमै ब्यान्डले दुबई, कतार र हङकङमा कन्सर्ट गर्ने जानकारी दिए।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्। सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन्।