गायक रामकृष्ण ढकालले 'रामकृष्ण ढकाल अस्ट्रेलिया टुर' नामक सांगीतिक भ्रमणको सुरुआत अस्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन्।
उनले शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले तीन घण्टासम्म आफ्ना नयाँ तथा पुराना गीतहरू प्रस्तुत गरे।
'बिहान उठ्ने बितिकै' बोलको गीत गाउँदै स्टेजमा देखिएका ढकालले आफ्नो चर्चित 'बाँचुञ्जेलीलाई, ओराली लागेको, नजिक आउनुमा, चरीले त छाडेर' लगायतका गीतहरू प्रस्तुत गरेका थिए।
उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्याण्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए। अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर 'ए माया जदौ' गाउँदा उपस्थितले नाचेर साथ दिए।
'मैले यहाँ ट्रयाक र ब्याण्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरेँ। यसपटकको अष्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु,' उनले भने।
सन् २००९ देखि नै आफूले अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए।
अस्ट्रेलियामा आफूले सधैं माया पाउने गरेको भन्दै उनले खुसी व्यक्त गरे।
कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए।
'एउटा कलाकारको धर्म नै उसको कर्म हो। नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु। उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्दार कार्य भइरहेको छ। तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु,' उनले भने।
आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको बताए। उनले गायक ढकाललाई प्रत्यक्ष सुन्न बालकदेखि बृद्धसम्म देखिएको बताए।
गायक ढकालले यसपटकको दसैं अस्ट्रेलियामै मनाउने र विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए।