तीज सकिएसँगै केही कलाकारहरूलाई दसैं तिहार गीतको चटारो छ। कोहीले गीत सार्वजनिक गरिसकेका छन्। कोही छिट्टै गीत युट्युबमा ल्याउने अन्तिम तयारी गर्दैछन्।
पशुपति शर्मा, समीक्षा अधिकारी लगायतको स्वरमा 'शुभकामना दसैंको' सार्वजनिक भएको छ।
वर्षौदेखि निरन्तर दसैं गीत ल्याउँदै आएका गायक विष्णु खत्रीले यस वर्ष पनि निरन्तरता दिँदैछन्। 'रित्तो भकारी' बोलको उनको दसैं गीतको छायांकन समेत भइसकेको छ। भिडिओसहित गीत छिट्टै सार्वजनिक गर्ने उनको तयारी छ।
विन्ध्यवासिनी म्युजिक प्रा.लिका निर्देशक सुवास रेग्मीले पनि आफ्नो कम्पनीबाट दसैं गीत ल्याउँदैछन्।
मोडल तथा सर्जक विमल अधिकारीले हिमाल सागर र मेलिना राईको स्वरमा दसैं गीत ल्याउँदैछन्। रेकर्डिङ स्टुडिओको तस्बिर राख्दै उनले यसबारे जानकारी दिएका हुन्।
उनले अभिनय गरेको अर्को दसैं गीत पनि रिलिजको तयारीमा रहेको जानकारी दिएका छन्।
सम्झना भण्डारी, शिरीष देवकोटा लगायतका गायक गायिकाका पनि दसैं गीत आउँदैछन्।
दसैंलाई लक्षित गरेर विशेष गरी परदेशीको कथामा गीतहरू आउने गर्छन्। तीजमा जति नआए पनि दसैं तिहार गीत पनि दर्जनौं संख्यामा सार्वजनिक हुने गरेका छन्।
विष्णु माझीको स्वरमा 'परदेशी मेरो परदेशी'
गायिका विष्णु माझीको स्वरमा 'परदेशी मेरो परदेशी' बोलको दसैं गीतको भिडिओ केही दिनमा सार्वजनिक हुँदैछ।
दुई दिनअघि यसको अडिओ युट्युबलगायतका प्लेटफर्ममा रिलिज भैसकेको छ।
गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत छ। आशिष अविरलले एरेन्ज गरेका छन्। विष्णुसँगै सुन्दरमणिले समेत स्वर दिएका छन्। गीतको भिडिओ छायांकन पनि भइसकेको छ।
स्रोतका अनुसार तीज गीतमा सहकार्य गरेकै कोरियोग्राफर र मोडलले दसैं गीतको भिडिओमा काम गरेका छन्।
विष्णुको स्वरमा हरेक तीजमा गीत आए पनि तीन वर्षयता दसैं गीत आएको थिएन्।