निकै पुरानो नेपाल भाषाको लोकप्रिय गीत 'राजामती' लाई नेपाली भर्सनमा ल्याइएको छ।
पुस्तान्तरण हुँदै आएको र पहिलो पटक करिब ११५ वर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको गीत नेपालीभाषामा पनि पुनः लेखन, संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको हो।
बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतको नेपाली भर्सन सार्वजनिक गरे।
नेपालको पहिलो गायक सेतुराम प्रधानले वि.स. १९६५ ताका भारतको कलकत्ता गएर नेपाली र नेपालभाषाका राजमतीसहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएको बताइन्छ।
यही गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो।
कालजयी गीतलाई अझ संसारभरका नेपालीभाषीमाझ थप परिचित बनाउने उद्देश्यसहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ।
गीतलाई १०० वर्ष अगाडिको कथावस्तु अनुसार नै बनाइएको र सोही अनुरूप भिडिओ निर्माण गरिएको हो। सागर खनाल र सोनी लगुन लगायतका कलाकारहरूको अभिनय रहेको भिडिओको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेकी हुन्।
गीतको निर्मातामा रश्मी प्याकुरेल छिन्। कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान समेत गरिएको थियो। त्यस्तै पत्रकार विजयरत्न तुलाधर र व्यवसायी फुपु तेञ्जिगं शेर्पालाई पनि पुरस्कृत गरिएको थियो।