आइतबार बेलुकी 'दी हल एट लाइभ' को भुइँतला मात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए। त्यो भीडमै रमाइरहेका माझ एक अमेरिकी थिइन्, फलेसिया डनल्याप।
‘यस हलमा आजसम्मकै उत्कृष्टमध्येको शो अनुभव गरेँ,’ त्यस हलका मनोरञ्जन तथा प्रोडक्सन महाप्रबन्धक फलेसिया भनिरहेकी थिइन्, ‘प्रोडक्सन र पफर्मेन्सका हिसाबले चुस्त, गजबको प्रस्तुति!’
दर्शकमा उत्पन्न ऊर्जाकै आधारबाट पनि यसको विशिष्टता स्पष्टै झल्किएको उनको प्रतिक्रिया थियो। ‘म ड्युटीमै भए पनि दर्शकका रूपमा समेत रमाइरहेँ,’ कार्यक्रममा आफ्नो मोबाइलमा कैद गरेका भिडिओहरू देखाउँदै उनले भनिन्।
निर्धारित समयअनुसारै बेलुकी ठीक ८ बजे कार्यक्रम सुरू भएसँगै नीलो जिन्स पहिरेका अमृत गुरुङ देखापरे र दर्शकतर्फ झुकेर अभिवादन गरे। ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे। यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरू भइसकेको थियो। त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए–
कोशीको पानी यो जिन्दगानी
सललल जाइजाने हौ हजुर
आमाको कोखमा बास मात्र लिएँ नि
कुन देशको मरन हौ हजुर
त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारीको क्रम सुरू गरे।
कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो। ती सबको बीचबीचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए।
सबै स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए।
कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झण्डा पनि बोकेरै ल्याएका थिए भने ढाकाटोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे।
यसरी आएका दर्शक अनेक किसिमका समूहमा आबद्ध थिए। कोही साथीसँग मिलेर आएका थिए, कोही आफ्ना जोडीका साथमा उपस्थित थिए भने कोही आफ्ना अभिभावक र केटाकेटीसहित सपरिवार आएका पनि उत्तिकै भेटिन्थे।
त्यस्तै समूहमध्ये एक थियो भर्जिनियामा केटाकेटीलाई नेपाली भाषा, संस्कृति र सम्पदा पढाउन ‘पाठशाला’ सञ्चालन गरिरहेका स्वयंसेवी शिक्षकको जमात। वन्दना, सम्झना, सजना, राज र राजेशलगायतको त्यो समूह सुरूदेखि रमाइरहेको देखिन्थ्यो।
‘नेपाली बालबालिकालाई आफ्नो भाषा र संस्कृति सिकून् भन्ने अमृत दाइको चाहनासँग हाम्रो मिसन ठ्याक्कै मिलेको पायौँ,’ उनीहरूले भने, ‘हाम्रो उद्देश्य पनि आफ्नो जरालाई जोगाउने र भविष्यलाई उज्ज्वल बनाउने नै हो।’
नेपथ्यको कन्सर्टबाट पनि उनीहरू उत्तिकै रमाएको प्रतिक्रिया दिइरहेका थिए।
‘यसअघि थुप्रै नेपाली कन्सर्ट हेरेको भए पनि कार्यक्रमको गुणस्तर र समयको इज्जत गर्ने मामिलामा नेपथ्य सबैभन्दा माथि पाइयो,’ उनीहरूले थपे, ‘यसका लागि ब्यान्ड र आयोजकलाई धन्यवाद छ।’
कन्सर्ट सकिएपछि पनि केहीबेरसम्मै आयोजना स्थलमा रमाएका दर्शकको चहलपहल देखिन्थ्यो। त्यसैमध्ये एक थिए, काठमाडौं छँदा न्युरोडको विशालबजारमा पसल चलाउने कमल पारख।
‘पूरा जीवनै ढाकिने गरी हामी यो ब्यान्डसँगै हुर्कियौं, यो ब्यान्डसँगै आनन्द लियौं र अहिले पनि यो ब्यान्डसँगै रमाइरहेका छौं,’ कमलले भने।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
‘आयोजकका रूपमा मेरो जीवनकै यो सबैभन्दा बेस्ट शो भयो,’ आयोजक समूहका अभिजित राईले भने, ‘म आफैँ पनि दर्शकमै मिसिएर कन्सर्टभरि नाचिरहेको थिएँ। कतिपय बेला त खुसीले आँसु थाम्न पनि सकिनँ।’
‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा शरीरमा जताततै काँडा उम्रेजस्तो महसुस भएको उनको प्रतिक्रिया थियो।
यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला छ वटै कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब सातौं तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्दै छ। ब्यान्डका लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ। ह्यारिसवर्गको ‘दी फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ तारिख शनिबारका दिन नेपथ्यको कन्सर्ट आयोजना हुनेछ।
अबको सातौं कन्सर्टसँगै यसपटकको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ।