दुई वर्षअघि तीजलाई लक्षित गरेर सार्वजनिक गीत 'पापाकी परी' विवादित बन्यो।
शिव हमालको शब्द, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वरमा सार्वजनिक गीतलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो।
मोडल करिष्मा ढकाल फिचर्ड भिडिओ समेत विवादित बन्यो।
शब्द र दृश्यलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गीत सम्पादन गरेर पुनः सार्वजनिक गरिएको थियो।
सोही गीतकी गायिका सुशीला पाठकले यसपालिका तीज गीतहरू हेरेर छक्क परिरहेको बताएकी छन्।
उनले सामाजिक सञ्जालमा आफ्नो गीत सेयर गर्दै लेखेकी छन् – 'मेरो गीतलाई अश्लिल र छाडा बनाइयो तर अहिले आएका तीजका गीतहरू हेरेर म छक्क परिरहेको छु।'
यसपालि तीजको छेकोमा सार्वजनिक कतिपय गीतलाई लिएर आलोचना भइरहेको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले पनि राम्राभन्दा उच्छृंखल गीतलाई लिएर धेरै चर्चा भइरहेको भन्दै गुनासो गरेकी छन्।
सेतोपाटीसँगको कुराकानीमा उनले भनेकी छन्, 'विगतमा तीजगीतको चर्चा राम्रो हुन्थ्यो। यसपालि दर्शक–स्रोताले छाडा भनेका गीतको चर्चा भइरहेको छ। मौलिक तीजगीतहरू पछाडि परेका हुन् कि भन्ने लागिरहेको छ।'
तीज नजिकिएकाले अब चाहिँ राम्रा गीत अगाडि आउने आशा रहेको उनले बताइन्।