एकसाथ ११ वटा तीज गीतको विमोचन गरिएको छ।
आइतबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रमकाबीच गीतको सामूहिक विमोचन गरिएको हो।
समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मौलिकपनले भरिएका गीत सामूहिक रूपमा विमोचन गर्न पाउँदा खुसी लागेको बताए। साँस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरू जोडिने भएकाले नारीहरूको भाव गीतमा अटाउनुपर्ने उनको भनाइ थियो।
वरिष्ठ गायक बम बहादुर कार्कीले पछिल्लो समय गीतमा विकृति आएकोबारे निकै सुनिरहेको तर विकृति गीतमा मात्रै नभइ संस्कृतिमै रहेको भन्दै आफूहरुले अध्ययन गरिरहेको बताए।
यस्तै गायिका तारा थापाले आजभन्दा ५३ वर्ष अगाडि गाएको गीतलाई स्मरण गर्दै अहिले आइरहेका गीतमाथि विमर्श गरिन्।
गायिका शर्मिला गुरूङले पछिल्लो समय तीज गीतका नाममा जथाभावी प्रकारका गीत सार्वजनिक भइरहेकोमा दुःख व्यक्त गरिन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले तीजमा भड्किलो गीत गाउनेहरूलाई मिडियाले पनि खबरदारी गरिरहनुपर्ने बताइन्।
कार्यक्रम आयोजक राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले आउँदा दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए।
लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैं आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमको आवश्यक रहेको बताए।
एकसाथ विमोचन गरिएका गीतमा शान्तिश्री परियारको स्वरमा रहेको 'काली पसम की', सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा 'सीताका माइती', शर्मिला गुरूङ र कमला पोखरेलको स्वरमा 'बाबाको आँगनी', राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा 'सारी लरक्कै', शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा 'फेरि आयो तीज', खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा ‘कालो कपाल पारेर फरर’, उमा श्रेष्ठको स्वरमा ‘मैदानैमा ताल’, सुनिता बुढा क्षेत्रीको स्वरमा ‘चेलीलाई माइती’, सरस्वती लामिछानेको स्वरमा 'सैनाले दिएको एैना', अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा 'म राम्रो कि उ राम्रो भन्देऊ' र शान्तिश्री परियारको स्वरमा 'यसपालीको तीज रमाइलो' रहेका छन्।