गायक प्रमोद खरेल साउदी अरबमा ब्याण्डसहित गुञ्जिने भएका छन्। त्यहाँ आयोजित 'जेद्दा सिजन' मा 'प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड' को कन्सर्ट हुन लागेको हो।
सरकारी निकायबाट आयोजित यो कार्यक्रममा फरक–फरक मितिमा ८ वटा एशियाली देशको कन्सर्ट तय छ। संस्कृति र मनोरञ्जनलाई जोड्ने उद्देश्यले गरिएको कन्सर्टमा विभिन्न देशका चर्चित कलाकारहरूले प्रस्तुति दिँदैछन्। जसमा नेपालबाट प्रमोद खरेल र उनको ब्याण्डले प्रस्तुति दिन लागेको हो।
अगस्ट १६ (साउन ३२) मा हुन लागेको कन्सर्टका लागि प्रमोद र उनको ब्याण्डले केही दिनदेखि तयारी गरिरहेका छन्।
साउदी अरेबिया इक्वेस्ट्रियन पार्कमा हुने खुला कन्सर्टलाई लिएर प्रमोद एकदमै उत्साहित छन्।
'यति ठूलो कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गरेर जाँदैछौं,' उनले सेतोपाटीसँग भने, 'धेरै दर्शकहरूको उपस्थिति हुने आशा छ। आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गर्नेछौं।'
कन्सर्टमा आफूहरूले झण्डै २ घण्टा प्रस्तुति दिने प्रमोदले बताए। उनले त्यहाँ आफ्ना हिट गीतहरू प्रस्तुत गर्नेछन्। ब्याण्डले नेपाली धून प्रस्तुत गर्नेछ। त्योसँगै पुराना नेपाली कल्चरल गीतलाई पनि प्राथमिकताका साथ प्रस्तुत गर्नेछन्।
गायक प्रमोदले यसअघि पनि ब्याण्डमा प्रस्तुति दिइरहेका थिए। अहिले ब्याण्डलाई अझ संगठित बनाउँदै लगिरहेको बताए।
'हुन त मैले १०–१२ वर्षदेखि ब्याण्डमा प्रस्तुति दिइरहेको हो। नेपाल र भारतमा ब्याण्डको कन्सर्ट गरिसकेका छौं,' उनले भने, 'अहिले ब्याण्डको नाम पनि नयाँ राखेर अझ संगठित बनाउँदै लगिरहेको छु। अबका दिनमा ब्याण्डलाई प्राथमिकतामा राख्नेछु।'