नेपाल आइडल विजेतासहित केही स्टयान्ड अप कमेडियन युएईको दुबई लागेका छन्।
नेपाल आइडल सिजन ५ का विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मासहित स्ट्यान्ड अप कमेडियन सुमन कोइराला (दले दाइ) र साजन श्रेष्ठ शुक्रबार दुबई उडेका हुन्।
त्यहाँ आयोजित 'नेपाल आइडल विथ स्ट्यान्ड अप कमेडी' मा लाइभ प्रस्तुतिका लागि उनीहरू प्रस्थान गरेका हुन्।
शनिबार र आइतबार उनीहरूको कार्यक्रम तय छ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो।
यो कार्यक्रम नेपाल आइडल सिजन ५ का विजेता र उप–विजेताहरूको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हुनेछ।
अगस्ट ३ अर्थात शनिबार अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गरेको छ।
अगस्ट ४ अर्थात आइतबार बरदुबईको क्लब एसके सेभेनमा यो कार्यक्रम तय छ। कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको छ। नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको जनाएको छ।
नेपाल आइडल र स्टयान्ड अप कमेडियनको यो टिम मंगलबार नेपाल फर्किनेछन्।