बेलाबेलामा विवादित हुँदै आएका गायक एवं मोडल हुन् दुर्गेश थापा। विशेष गरेर उनका गीतको शब्द र गायकीलाई लिएर आलोचना हुने गरेको थियो।
अबको दिनमा भने दुर्गेशले त्यस प्रकारका गीतहरू नल्याउने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजना गरिएको तीज गीत 'झुम्का हरायो' सार्वजनिक समारोहमा बोल्दै उनले आफूले अब पहिलेजसरी गीत नगाउने बताएका हुन्।
उमेरसँगै, परिवार, साथीसर्कलका कारण आफूमा परिवर्तन आएको उनले बताए।
'पहिले पहिलेका मेरा गीत अलि उट्पट्याङ हुन्थ्यो। कुनै राम्रो हुन्थ्यो, कुनै सुन्न नसक्ने पनि हुने गुनासो आउँथ्यो,' उनले भने, 'यो पटकबाट उट्पट्याङ नभएर सबैले सुन्ने खालको, मन पराउने, रूचाउने खालको गीत मात्रै गर्छु भन्ने सोचिरहेको छु।'
'झुम्का हरायो' गीतको कुरा गर्दा यसको शब्द, संगीत र एरेन्ज दुर्गेशकै हो। गीतमा पशुपति शर्मा र शान्तिश्री परियारले स्वर दिएका छन्।
भिडिओमा दुर्गेशसँगै प्रियंका कार्की, गरिमा शर्मा र पेमा लामा फिचर्ड छन्।
नृत्यप्रधान गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्।
दुर्गेशको अरू कामको कुरा गर्दा उनले यतिबेला फिल्म 'ह्स्व दीर्घ' को गीतमा समेत स्वर दिएका छन्।
तीज गीत 'बिच्च बिच्चमा ७' पनि ल्याउँदैछन्। यो गीत राम्रो कन्सेप्टमा आउन लागेको दुर्गेशले बताए।