८ जना संगीतकर्मीले छिन्नलता गीत पुरस्कार प्राप्त गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गीत संगीत क्षेत्रमा योगदान पुर्याउने संगीतकर्मीलाई छिन्नलता गीत पुरस्कार प्रदान गरेका हुन्।
गीतकार रमोलादेवी शाह 'छिन्नलता' को १०२ औं जन्मजयन्तीका अवसरमा २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरिएको हो।
प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी र गायक शिव परियारलाई प्रदान गरे। छिन्नलता गीत युवा प्रतिभा पुरस्कार गायिका मेनुका पौडेलले पाइन्।
त्यस्तै २०८० सालको छिन्नलता गीत पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले र गायिका मनिला सोताङलाई प्रदान गरियो। युवा प्रतिभा पुरस्कारबाट गायक भुपू पाण्डे पुरस्कृत भए।
छिन्नलता गीत पुरस्कारको राशि एक लाख रुपैयाँ छ भने युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।
छिन्नलता गीत पुरस्कार गुठीले २०३९ सालदेखि प्रत्येक वर्ष संगीतकर्मीलाई पुरस्कृत गर्दै आएको छ।
तस्बिरहरू: बालकोट फेसबुक पेजबाट लिइएको