गायक पशुपति शर्माले केही तीज गीत रेकर्डिङ गराइसकेका छन्। उनले गाएका गीतको भिडिओ निर्माणको काम समेत सुरू भइसकेको छ।
खुमन अधिकारी, खेम सेञ्चुरी, शान्तिश्री परियार, राधिका हमाल, देवी घर्ती, अर्जुन सापकोटा, सम्झना भण्डारी, सुनीता बुढा क्षेत्री लगायतले पनि तीज गीतको काम सुरू गरिसकेका छन्।
'रेकर्डिङ केही साता अघिदेखि नै थालेको थिएँ। भिडिओको काम गत बिहीबारदेखि सुरू गरेको छु,' गायक खुमनले भने।
तीज आउन अझै २ महिना बाँकी छ। तर कलाकार अहिल्यैदेखि तीज गीत निर्माणको चटारोमा छन्।
तीज गीतमा विशेष गरेर लोकदोहोरी कलाकारहरू बढी व्यस्त हुने गरेका छन्।
तीजको अवसरमा देश–विदेशमा केही समय अगाडिदेखि नै हुने सांगीतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ने भएकाले चाँडैदेखि गीतको तयारी थाल्नुपर्ने बाध्यता रहेको कलाकारहरू बताउँछन्।
निर्देशक स्मृति तिमल्सिना 'गुरूआमा' ले तीज गीत छायांकनको काम असार लागेसँगै सुरू भएको बताइन्।
'यसपालि अहिलेसम्म ८ वटा तीज गीतको छायांकन सकिसकेँ,' उनले भनिन् 'अब पनि नियमित छायांकन तय छ।'
स्मृति तीज गीत कोरियोग्राफी एवं निर्देशनमा निकै ब्यस्त मानिन्छिन्।
कतिपयले भने तीजको गीत सार्वजनिक समेत गरिसकेका छन्। खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वरमा 'रेलिमै' बोलको तीजकेन्द्रित गीत शुक्रबार मात्रै सार्वजनिक भएको छ। गायक-गायिकाको नभएर सर्जक रमेश परियारको युट्युबमा यो गीत सार्वजनिक भएको हो।
'बरिलै', 'सुनको बाला', 'आफ्नै पारामा', 'रहरैमा' लगायतका गीतहरू समेत युट्युबमा सार्वजनिक भइसकेको देख्न सकिन्छ।
कोहीले विगतका गीतलाई नयाँ तीज गीत भनेर समेत सार्वजनिक गरेको देखिन्छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगर अहिलेसम्मको माहोल हेर्दा तीज गीत रेकर्डिङ र छायांकनको चहलपहल विगतमा जस्तो नदेखिएको बताउँछिन्।
'विगतमा जस्तो चहलपहल देखिएको छैन। बजारको मन्दीको असर पनि हुनसक्छ,' उनले भनिन् 'तीज गीत अन्य समयमा नबज्ने भएका कारण लगानी गर्न डराएजस्तो पनि लाग्छ।'
तीजकेन्द्रित गीतमा विकृति बढेको र धेरै अगाडि गीत सार्वजनिक हुन थालेको गुनासो आउन थालेपछि दोहोरीगीत प्रतिष्ठानले केही वर्ष अघिदेखि सतर्कताका लागि विज्ञप्ति जारी गर्ने गरेको थियो।
यसवर्ष भने विज्ञप्ति सार्वजनिक गरेको छैन।
'साउन सुरू नहुँदै तीज गीत नल्याइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो,' प्रतिष्ठान अध्यक्ष थापा मगरले भनिन्, 'प्रतिष्ठानका साथीहरूलाई मौखिक रूपमा त्यो आग्रह गरेका छौं।'
धेरै गायक–गायिकाले साउन सुरू भएपछि मात्रै तीज गीत ल्याउने सोच बनाएका छन्। यसपालि तीज भदौ २१ गते परेको छ।
अहिल्यैदेखि विदेशका कार्यक्रम तय
विदेशमा रहेका नेपालीले पनि धुमधामसहित तीज मनाउने गरेका छन्। त्यहाँका नेपाली समुदायले तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। र, ती कार्यक्रममा गायक-गायिका एवं मोडललाई आमन्त्रण गर्ने गर्दछन्।
यस्ता कार्यक्रममा पनि लोकदोहोरी क्षेत्रकै कलाकारहरूको डिमाण्ड हुने गरेको छ। तीज आउनुभन्दा धेरै अघिदेखि नै कार्यक्रमहरू तय हुने गरेका छन्।
यसपालि पनि थुप्रै कलाकारहरूले तीज विशेष कार्यक्रम तय गरिसकेका छन्।
गायिका शान्तिश्री परियारले तीजको अवसर पारेर अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएकी छन्।
अमेरिकाका ८ वटा राज्यमा उनको प्रस्तुति तय छ। उनीसँगै गायिका रचना रिमाल, ज्योति मगर, मोडल करिष्मा ढकालको समेत प्रस्तुति रहनेछ।
गायक खुमन अधिकारीले दिल्ली, दुबई, अस्ट्रेलियामा कार्यक्रम गर्ने तय गरिसकेका छन्।
पशुपति शर्मा, खेम सेञ्चुरी, सुनीता दुलाल, कोमल वली, प्रकाश दूतराज लगायतले समेत विदेशका कार्यक्रम तय गरेका छन्।
गायिका समीक्षा अधिकारीले तीजमा जापानमा कार्यक्रम तय भएको जानकारी दिएकी छन्। उनीसँगै गायक रामजी खाँडले समेत जापानमा प्रस्तुति दिनेछन्।
अन्य थुप्रै गायक–गायिकाले पनि तीज विशेष कार्यक्रम तय गरिरहेका छन्।