गायक हिमाल सागरले आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गरेको गीत 'न मैले लेखें, न उनले लेखिन्' लाई नयाँ भर्सनमा ल्याएका छन्।
उनको स्वर र संगीतमा दुई दशकअघि सार्वजनिक सो गीत 'रिलेसन' एल्बममा समावेश थियो।
शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच हिमाल सागरले सोही मिठाससहित अडिओ थोरै बदलाव गर्दै म्युजिकल फिल्म सार्वजनिक गरेका हुन्।
उक्त गीतमा मानस केसीको शब्द छ भने योगेशकाजी शाहले एरेञ्ज गरेका छन्।
गायक हिमालका अनुसार तत्कालिन समयमा यो गीतको एक लाख पचास हजारभन्दा बढी अडियो क्यासेट बिक्री भएको थियो। 'म देश होस् वा विदेश कन्सर्टमा सबैभन्दा बढी गीत यही गाएको छु। यो गीतलाई अहिलेको मर्म र भावअनुसार तयार गरेको छु। पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ,' गीत सार्वजनिक गर्दै गायक हिमालले भने।
उनका 'मेरो माया मारेपछि, तिमीले माया नगरे, मेरो मनमा आगो लाउने को, तीन ढिके फूली लाएर आइछौ, कल्लाई थाहा छौँ, ए होर माया' लगायत गीत हिट छन्।
नयाँ भर्सनले नयाँ पुस्ताको मन जित्ने उनको विश्वास छ। 'यो प्रेममा व्यक्त गरिएको भावना हो, जुन कहिले पुरानो हुँदैन। यो गीत जोडिएको मनसँग भावनात्मक सम्बन्ध गाँस्नेछ,' हिमालले भने।
नयाँ भर्सनको भिडिओमा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छन्।
केकीले यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मनपर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन्। उनले भनिन्, 'यो गीत सुन्न रेडियोमा फरक फरक नाममा फोन गर्थें। धेरै साथीलाई डेडिकेट पनि गरेकी छु। यो मेरो सधै फेवरेट गीत थियो। अहिले नयाँ भर्सनमा बन्दा काम गर्ने मौका पाउँदा निकै हर्षित छु।'
गीतमा निकेश खड्काको निर्देशन, धीरजजंग शाहको छायांकन, विकास धमलाको सम्पादन छ। पहिलोभन्दा फरक र सरल प्रस्तुतिमा नयाँ भिडिओ तयार गरिएको निर्देशक खड्काले बताए । उनले भने, 'पुरानो लोकप्रिय गीत हुँदा सम्पूर्ण दायित्व भिडिओमा आउँछ किनकि गीत पहिले सफल भइसकेको हुन्छ। त्यसकारण यसको प्रस्तुतीकरणमा सोही दायित्वबोध गरेको छु। यसमा पनि प्रेम प्रसंग नै देखाएको छु तर शैली फरक छ। यो गीतको कथासँग अहिलेको पुस्ताले रिलेट गर्नुहुनेछ भन्ने विश्वास छ।'
भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित 'न मैले लेखें, न उनले लेखिन्' बोल रहेको गीतको भिडिओ नेपाल रिदम रेकर्ड्स (एनआरआर) युट्युबमा हेर्न सकिन्छ।
भिडिओः