'नेपाल आइडल' सिजन ५ का फाइनलिस्ट करण परियारले अग्रज गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा गीत रेकर्ड गरेका छन्।
अडिसनमा करणको स्वर सुनेपछि जज न्य्हूले एउटा गीत गाउन दिने बचन दिएका थिए। सोही अनुसार फिनालेअघि करणले 'बादल घटामा' बोलको गीत रेकर्ड गराएका हुन्। त्यसवापत उनले २० हजार रूपैयाँ पारिश्रमिक समेत पाएका छन्।
चाँडै सार्वजनिक हुने बताइएको यो गीतमा गोपाल प्याकुरेलको शब्द रचना र गोपाल रसाइलीको एरेन्ज छ।
नेपाल आइडलको फिनाले यही शनिबार (असार ८) मा हुँदैछ। उपाधिका लागि करणसँगै सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेलले प्रतिस्पर्धा गरिरहेका छन्।