वैदेशिक रोजगारीमा जाने, दुइ–चार पैसा कमाउने र त्यही आर्जनले खुसी हुने प्रकाश दुतराजको सपना थियो।
सानैदेखि अभावले डामेका उनले जीवनमा खाएको हन्डर र गोताबाट पनि मथिङ्गलमा त्यो सपना हुर्काएका थिए ।
घरको जेठो छोरा थिए। घर-परिवारको जिम्मेवारी हस्तान्तरण भएर आउँथ्यो।
यसलाई राम्रोसँग बुझेका उनले पहिलोपटक २०७१ सालमा वैदेशिक रोजगारमा जाने निर्णय लिएका थिए।
त्यसैका लागि काठमाडौं आए। दलाललाई पैसा बुझाए।
अफसोस! उनी जस्तै हजार सपना बोकेकाको पैसा खाएर ती दलाल नै विदेशिए।
आफूले सोचे र आँट गरेजस्तो कहाँ हुन्छ जीवन! उनको पहिलो सपना त्यही चुँडियो।
‘त्यतिबेला पैसा कमाएर कसरी सानो परिवारलाई आफ्नै घरमा मीठोमसिनो खुवाएर खुसी राख्न सकिन्छ भन्ने मात्र लाथ्यो,’ उनले आफ्ना विगत सुनाउँदै सेतोपाटीसँग भने, ‘विदेश जान्छु भनेर हिँडेको म गाउँमा फर्केर जाने परिस्थिति थिएन। हामीसँग पैसा लिएर दलाल आफैं विदेशिएछ!’
विदेश जान कागजात मिलाउँदा केही समय उब्रिएको थियो। काठमाडौंको बसाइ महँगो थियो। खान त जे खाए पनि हुन्थ्यो।
महिनैपिच्छे भाडा नबुझाए घरधनीले बस्न दिँदैनथे।
उब्रिएको समयमा केही गर्नुपर्छ भन्ने त सोचे।
तर के गर्ने? उनले केही भेउ पाएका थिएनन्।
उनलाई सानैदेखि गीत–संगीतको रुचि थियो। एक किसिमले भन्दा संगीतको तिर्सना र गुनगुनाइसँगै उनी हुर्किएका थिए।
एक दिन उनी रोधी घर पुगेका थिए । पहिलोपटक रोधी छिरेका उनले त्यहाँ गीत गाए।
उनको आवाज सुनेर रोधी घरमा मालिक आश्चर्यचकित परे। उनलाई केटोले काम गर्छजस्तो लाग्यो।
‘त्यहाँको दाइले–यो केटाले काम गर्ला जस्तो छ भनेर काममा राख्नुभयो,’ रोधीघरका साहुले भनेको कुरा मुसुमुसु हाँस्दै उनले सेतोपाटीलाई सुनाए, ‘त्यहाँ साथीभाइको सहयोग पाएर धेरै कुरा सिक्न पाएँ। रोधीघर मेरो जीवन र सांगीतिक यात्राको एक पाठशाला नै बन्न पुग्यो।’
रोधी घरमा उनले ४ वर्षसम्म काम गरे।
आफ्नो आवाजले गीत–संगीतका पारखीको हृदय छुन्छ भन्ने विश्वास उनीमा थियो। त्यसैले उनले आफैँले लगानी गरेर गीत निकालेका थिए । ती गीतहरू आर्थिकरूपमा सफल हुन सकेका थिएनन्।
गीतले व्यवसायिक उडान भर्न नसकेपछि उनले अन्तिम गीत बनाउने निधो गरे।
त्यसपछिको यात्रा उनले तय गरिसकेका थिए। दुबईमा उनका नाताले दाइ पर्ने थिए। उनैसँग कुराकानी गरेर विदेश जाने बाटो बनाउँदै थिए।
विदेश जानुपूर्व उनले गीत निकाल्ने सोच बनाएका थिए। त्यसैले उनले साथीसँग ऋण लिए।
छ लाख लगानीमा गीत तयार पारे।
गीतको बोल थियो– ‘घर कता हो बैनीको’ ।
‘यो गीतमा काम गर्नुअघि मैले दुबईमा भएका दाइलाई– अब त सकिन्न होला, विदेश नै आउनुपर्ला भनेर भनेको थिएँ,’ उनले ती दिन सम्झँदै भने, ‘उहाँले हुन्छ भनेर डकुमेन्ट पठाइदिन भन्नुभयो, मैले पठाएँ।’
गीत सार्वजनिक त भयो तर सोचे जस्तो गीत चलेन।
नियतिले विदेश नै धकेलेको रहेछ भनेर उनी निराश पनि भएनन् ।
तर १५ दिनपछि नसोचेको भयो।
गीत टिकटक लगायत समाजिक सञ्जालमा हिट हुन थाल्यो।
एकाएक सबैतिर गीत गुञ्जिन थाल्यो। गीतले व्यवसायिक आकाशमा उडान भरेको देखेर उनी आफैँ आश्चर्यचकित भए।
म्याग्दी जिल्लाको अर्मन भन्ने गाउँमा जन्मे हुर्केका गायक तथा संगीतकार प्रकाश दुतराज कोरोना कहरका बेला गाउँमै थिए। विकट ठाउँ भएकाले फोनको नेटवर्क गाउँमा बेलाबखत मात्र आउँथ्यो।
गीत सबैतिर सुनिन थालेको उनका आफन्तले फोन गरीगरी बताउँथेँ।
‘गीतले पिकअप लियो’ भनेर पुलकित हुन्थे प्रकाश।
‘बेनी बजार आएर वाइफाइ खोलेर हेर्दा त जिल परेँ,’ उनले पहिलोपटक गीत चर्चित भएको खुसी साट्दै भने, ‘त्यो पल त म अहिले शब्दमा पनि के व्यक्त गर्न सकुँला र! त्यो समयमा यो नै अन्तिम गीत भनेर बनाएको थिएँ, त्यसैले मलाई यो मुकामसम्म पुर्यायो। यहाँ आइपुगुँला भनेर कल्पना पनि गरेको थिइनँ।’
गीत चलेपछि वैदेशिक रोजगारीका लागि दुबई डकुमेन्ट पठाएका दाइले प्रकाशलाई फोन गरे। उनले अब वैदेशिक रोजगारीका लागि नआउन सम्झाएनन् मात्रै, नैपालमै गीत–संगीतमा लाग्न आग्रह गरे।
‘दाइले फोन गरेर ‘यो डकुमेन्ट लैजाऊ। अबदेखि विदेश जान्छु भनेर पनि नभन’ भन्नुभयो,’ दुबईमा रोजगारी गरिरहेका दाइले आफूलाई सम्झाएको पल सुनाउँदै प्रकाशले भने, ‘अब विदेशमा सांगीतिक कार्यक्रम गर्न मात्र यो कागजात प्रयोग गर भनेर गाली गर्नुभयो।’
त्यसयता प्रकाशले हरेक गीतमा सफलता पाएका छन्। जुन उनको लागि अकल्पनीय थियो।
उनले सोचेका पनि थिएनन्– गर्जो टार्न विदेश हिँड्न ठिक्क परेको मानिसलाई गीत–संगीतले नै रोकेर राख्नेछ। त्यही संगीतले उनलाई देश–विदेश शयर गराउनेछ!
‘घर कता हो बैनीको’ बोलको गीत उनले कोरोना कालमा नै बनाएका थिए। त्यसबेला म्याग्दीमै थिए उनी। घर नजिकै ठूलबाबुको घरमाथि घाँस काट्न गएको बेला लय फुरेको उनी बताउँछन्।
‘घाँस डाल्न गएको बेला गुनगुनाउँदा गुनगुनाउँदै यो भाका अर्थात् मेलोडी फुरेको थियो,’ उनले भने, ‘घर पुगेपछि त्यसलाई निखार्न थालेँ। त्यसलाई थप समय लगाएर निखार्दै र सिँगार्दै लगेपछि घर कता हो बैनीको गीत तयार भएको हो।’
म्याग्दी घर भएका ३० वर्षीया प्रकाशको गाउँमा २०५८ सालमा गएको ठूलो पहिरो गएको थियो। पहिराले गाउँ नै बगाएको थियो। त्यसपछि उनीहरू बसाइँ सरेर बेनी आए।
घरमा एक भाइ सहित एक दिदीबहिनी थिए। दिदीको बिहे भइसकेको थियो। बुबा वैदेशिक रोजगारीमा थिए। परिवारमा कमाउने संख्या कम हुँदा उनले १२ वर्षको उमेरदेखि नै खाजा खर्चको लागि बेनी बजारमा कार्यालय सहयोगी भएर काम गरे। उता उनको आमा भने नदीमा बालुवा झिक्ने र चाल्ने काम गर्ने गरेको प्रकाश बताउँछन्।
२०७४ सालको कुरा हो। एकदिन प्रकाशकी आमाले कठोर निर्णय लिइन्–घरमा तीन वर्षे दूधे बच्चासहित तीनजना छोराछोरीको भविष्य उज्जवल बनाउन वैदेशिक रोजगारमा जाने।
उनले सबै चाँजोपाँजो मिलाएर एकाबिहानै ओछ्यानमा मुख छोपेर सुतिरहेका प्रकाशलाई उठाइन्।
‘म आज जाँदैछु। भाइबहिनीको ख्याल गर। सबै कुरा तेरो हातमा सुम्पेको छु। भाइबहिनीको सबै कुरा तैले नै हो गर्ने है!’
त्यति भनेर आमा हिँडिन्। सबैजना सँगै हुँदा पनि आमाले के भनेको होला भनेर उनले सोचे।
‘तर त्यतिबेला आमाले घरभेटीलाई १२ हजार रुपैयाँ अफ्ट्यारो पर्यो भने यो पैसा प्रकाशलाई दिनू भनेर छोड्नुभएको रहेछ,’ उनले भने, ‘आमा १५ दिनपछि फर्किने कुरा थियो, तर आउनुभएन। अन्टीको फोनबाट कुरा गर्न खोज्दा पनि लागेन।’
पहिले पनि काम विशेषले गर्दा प्रकाशकी आमा घर बाहिर लामो समयका लागि गइरहन्थिन्। त्यसैले प्रकाशले आमा कुनै कामको लागि गएकी होलान् भन्ने सोचे। तर एक महिनापछि मात्रै घरमा आमाको फोन आयो।
‘फोन गरेर म त विदेशमा छु भनेर भन्नुभयो। म त बोल्नै सकिनँ,’ उनले भने, ‘ट्वाँ परे, किन यस्तो गर्नुभयो भन्ने भयो। तर आमाले घरको स्थितिबारे बताउँदै हाम्रो खुसीको लागि आएको हो। अन्यथा नबुझ भनेर सम्झाउनु भयो।’
‘आमाको दूध समेत नछुटेको कान्छो भाइले मैले के गर्दैछु, म कता जाँदैछु भनेर केही मेसो पनि पाउँदैनथ्यो। आमाबुबा साथमा नहुँदा आफैँ भाइबहिनीको आमाबुबा बनेँ, तिनीहरूलाई हुर्काएँ। आमाबुबाले सानैमा छोडेर जाँदा जीवनले धेरै कुरा सिकायो,’ बाल्यकालतिर फर्किए प्रकाश।
गाउँघरमा बिहेबटुलो हुँदा प्रकाश मादल बजाएर गीत गाउन पुगिहाल्थे। कतिले त बोलाउँथे पनि। २०६७ सालतिरको गाउँको क्लब र स्थानीयले ‘सिमसिमे पानी’ बोलाको गीत स्टुडिओमा गएर रेकर्ड नै गराइदिए। त्यो गीत धेरै समयपछि सार्वजनिक भएको उनी बताउँछन्।
पछिल्लो समय प्रकाशले राउटे समुदायमा केन्द्रीत ‘रिमै’ म्युजिक भिडिओ ल्याएका छन्। नेपालको पश्चिमी भागमा गुन्जिने लय र शब्द टिपेर उक्त गीत सिर्जना गरेको उनी बताउँछन्।
‘दुइवर्ष अघिदेखि योजना बनाउँदै जाँदा राउटे समुदायको विषयमा पनि काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो,’ उनले भने, ‘राउटे समुदायबारे धेरै कुरा लिन नसके पनि एक सूचनामूलक ढंगले उनीहरूको रितिथिति चालचलनको केही अंश गीत संगीतमार्फत् देखाउन प्रयास गरेका छौं। हाम्रो नयाँ प्रयासलाई दर्शकस्रोताले रूचाइ दिनुभएको छ। त्यसको लागि सबैलाई धन्यवाद!’
प्रकाशलाई नेपालको मौलिकता र नेपाली माटोसँग जोडिएका विषयवस्तुमा आधारित कथामा काम गर्न मन लाग्छ। त्यस्तै विषयमा जोडिएर काम गर्दा आनन्द र आत्मसन्तुष्टि आउने उनी बताउँछन्।
उनले नैपाली मौलिक गाउँघरका कथामा आधारित थुप्रै गीतहरू बनाएका छन्। ‘जुन माया’, ‘मै जाम्ला’, ‘मन भुल्छ’, ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘सँगै जिउने मर्ने’, ‘बैनी झ्यालैमा’, ‘आरने’ र ‘रिमै’ लगायतका गीतहरू बनाएका छन्। जुन दसौं लाखपटक हेरिएको छ।
नेपाली समाजका विषयवस्तुमा आधारित गीत–संगीत गरेको हुँदा दर्शकहरूले एकदमै रूचाइदिएको हो कि भन्ने उनलाई लाग्छ।
भन्छन्, ‘नेपाली समाज, कला–संस्कृति, नेपालीपन र नेपाली माटोसँग जोडिएका कुरा हुँदा रूचाइएका हुन कि! किनकी हामीलाई नेपालीपन भेटिने कुरा एकदमै मनपर्छ नि त। यसकारण कि, हामी नेपाललाई माया गर्छौं।’
अहिले अधिकांश मानिस विदेश जाने लर्कोमा छन्। सबैको गन्तव्य विदेशैजस्तो देखिएको छ। सात समुन्द्रपारि पुगेर नेपाली रोधी घरमा घन्किने गीत गाउन पाउँदा उनी पुलकित हुन्छन्।
‘गीतसंगीत क्षेत्रमा दुःख छ। मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘भविष्य छ कि छैन थाहा छैन। भोलिको दिनमा के हुन्छ कसलाई थाहा छ र !'
'जतिसम्म र जहिलेसम्म यहाँ रहन्छु, आफूलाई हेर्ने र सुन्ने दर्शक स्रोतालाई खुसी राख्ने काम गरूँ जस्तो लाग्छ,’ उनले अन्तिममा भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी