नेपथ्यले क्यानडाको टोरन्टोस्थित 'मेस्सी हल' मा आफ्नो प्रस्तुति दिएको छ।
क्यानडामा पहिलोपटक कन्सर्ट गरेको नेपथ्यले क्यालगरी, भ्यानकुभर हुँदै अन्यमा टोरन्टोमा प्रस्तुति दिएको हो।
कन्सर्टका लागि एक घण्टा अगावै हलको ढोका खुल्नासाथ दर्शकहरूको उपस्थिति सुरू भइसकेको थियो। ब्याण्डले पहिलो प्रस्तुतिका रूपमा 'सा कर्णाली' म्युजिक भिडिओ बजाएको थियो।
मञ्चमा ब्याण्डको उपस्थितिपछि भने 'कोशीको पानी यो जिन्दगानी' बाट साँझको सुरूवात गरिएको थियो। त्यसपछि लगातार नयाँ र पुराना गीतहरू एकपछि अर्को प्रस्तुत हुँदै गए।
ब्याण्डका गायक अमृत गुरुङले कन्सर्ट अवधिभर दर्शकहरूसँग गीतको साथसाथै संवादलाई जारी राखे।
'नेपालीहरू जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,' उनले भने, 'तपाईहरूले यहाँ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ।'
कन्सर्टमा 'यो जिन्दगानी' गीत प्रस्तुत गरिरहँदा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्याण्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए।
नेपथ्यले 'रातो र चन्द्रसूर्जे' गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
क्यानडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखमा स्वदेश फर्किदैछन्।
-1696931438.jpg?timestamp=1696931439652)
-1696931438.jpg?timestamp=1696931439652)
-1696931438.jpg?timestamp=1696931439652)
सबै तस्बिर: दिपित राज, नेपालय