‘ऊ पहिले साथी थियो, अहिले मधेसी साथी हो।’
सर्लाहीबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका पूर्णेन्दु झाले छिटफुट घटनाबाहेक मधेसी मूलको भएकै कारण उति ठूलो विभेद खेप्नुपरेको थिएन। काठमाडौं आइसकेपछि उनले मंगोल अनुहारका साथी भेटे। दुःखसुख साट्ने, गोप्यभन्दा गोप्य कुरा सुनाउने पूर्णेन्दुका साथी ती मात्र एक थिए। जो एक–अर्कालाई अत्यन्तै प्रेम गर्थे।
करिब तीन वर्षअघिको कुरा हो, एक जमघटमा ती साथीले अर्का साथीसँग भनेछन्, ‘ऊ पहिले साथी थियो, अहिले मधेसी साथी हो।’
उनले साथी त साथी नै भनेका थिए। तर साथीको अगाडि ‘मधेसी’ फुर्को जोडिएको थियो। एक कान दुई कान हुँदै पूर्णेन्दुको कानमा ती साथीको कुरा पुग्यो।
कानबाट छिरेर त्यो कुराको तीर मुटुमा अड्कियो।
रुँदा हलुका भइन्छ भनिन्छ। तर, जिन्दगीमा कहिले यस्ता घटना घट्छन्, जुनबेला चित्त दुख्छ, तर चित्त पखाल्ने आँशु आउँदैन! त्यो क्षण पूर्णेन्दुलाई पनि त्यस्तै भयो।
त्यो उनले कहिल्यै नबिर्सने घटना बन्यो। तिनै साथीसँग जोडिएको अर्को घटना छ, जुन पनि उनी कहिल्यै बिर्सन सक्दैनन्।
पूर्णेन्दु र ती साथी एकपटक ठमेल घुम्न निस्केका थिए। घुम्दै गर्दा पूर्णेन्दुलाई केही सामान किन्ने रहर जाग्यो। पसलभित्र छिरे र सामानबारे सोधे। पूर्णेन्दु नेपालीमै बोलिरहेका थिए, पसलमा काम गर्नेले हिन्दीमा जवाफ दियो।
मंगोल अनुहारका ती कामदारलाई पूर्णेन्दुले भनेछन्, ‘तपाईं चाइनिजमा कुरा गर्नुहुन्छ?’
‘गर्दिन,’ यसपटक ती कामदारले नेपालीमै बोलेछन्।
‘हेर्दा त चाइनिजजस्तो देखिनुहुन्छ त!,’ पूर्णेन्दुले भने।
पसलमा बसेका भाई चुप लागे।
काठमाडौंमा मधेसी मूलका अधिकांशको भोगाई हो यो। तर, सबैले जवाफ फर्काउन सक्दैनन्। पूर्णेन्दुले भने जवाफ दिए। सँगै सुनिरहेका पूर्णेन्दुका साथी निकै खुसी हुँदै स्याबासी दिएछन्।
जो विभेदको विरोधमा उत्रिन्थे, उनलाई सधैं साथ दिन्थे उनैले ‘मधेसको साथी’ भनेपछि पूर्णेन्दुको चित्त फाट्यो।
तर, पूर्णेन्दुलाई त्यसले एउटा फाइदा भने पु¥यायो। काठमाडौंलाई पृष्ठभूमिमा राखेर युवा–युवतीको प्रेम कथामा चमकधमक फिल्म बनाउने तयारी गरिरहेका पूर्णेन्दुलाई एउटै घटनाले मरक्क मोडिदियो। दिमागमा प्रेमकथा बोकेर हिँडिरहेका उनी खुसुक्क मधेसको राजनीतिभित्र छिरे।
हुन त यो घटनाको केही समयअघि नै उनले मधेसको विषय समातेर फिल्म बनाउने सोचिसकेका थिए। त्यसका लागि आवश्यक अध्ययन÷अनुसन्धान पनि चल्दै थियो। तर, त्यसले मूर्त आकार भने लिइसकेको थिएन। एउटै घटनाले उनको फिल्मको बिसयनै बदलिदियो— प्रेमकेन्द्रित उनी मधेसकेन्द्रित भए। र, चार वर्षको मेहनतपछि पूर्णेन्दुको निर्माण तथा निर्देशनमा तयार भएको छ, ‘संरक्षण।’
यो फिल्म गत शुक्रबारदेखि रिलिजमा आएको छ। संरक्षण उनको पहिलो फिचर फिल्म हो। एउटा ‘कमर्सियल’ फिल्ममा हुने तत्वहरुः नृत्य, संगीत, फाइटसम्म देख्न सकिन्छ। ‘लार्ज क्यानभास’ मा खिचिएको फिल्मको ट्रेलर हेर्दा नै यो फिल्म ‘लाउड’ लाग्छ।
किन यो फिल्म ‘लाउड’ लाग्छ?
यसको जवाफ दिनुअघि पूर्णेन्दुले आफ्नो फिल्मी कथा बताउन चाहे।
सर्लाही, जहाँ पूर्णेन्दु जन्मिए, हुर्किए। सानैदेखि व्यावसायिक हिन्दी फिल्मको प्रभावमा परे। काका या बाबुमध्ये कसैले घरमा नेपाली फिल्म म्यागेजिन कामनाका अलावा हिन्दी फिल्म म्यागेजिन ल्याउँथे। उनले त्यतै कतै पढेका थिए, फिल्म निर्देशक। तर, फिल्म निर्देशक भनेको के हो उनलाई थाहा थिएन।
म्यागेजिनमा छापिने हिरोहरुका तस्बिरले उनलाई आकर्षित गरेनन्। बरु निर्देशक शब्द उनको दिमागमा गढ्यो। नौ र दश पढ्नका लागि सर्लाहीदेखि चितवन आइपुगे। त्यहीँ उनले आफू भविष्यमा के बन्ने भन्नेबारे घोषणा गरिदिए।
‘६ कक्षातिर पढ्दा होला, निर्देशक शब्द सुनेको,’ पूर्णेन्दुले सुनाए, ‘तर, त्यसबारे खासै खोजेको भने थिइनँ। नौ कक्षा पढ्दा साथीहरुसँग घुम्न जाँदा मैले भविष्यमा के बन्ने भन्ने कुरा हुन थाल्यो। मैले पनि भनिदिएँ, ‘फिल्म निर्देशक बन्छु।’
पूर्णेन्दुको कुरा सुनेपछि साथीहरु गलल हाँसेछन्। सोधेछन्, ‘के हो फिल्म निर्देशक?’
थाहा भए पो भन्नु! पूर्णेन्दुलाई पर्नु पीर प¥यो।
यसपछि उनी गम्भीर रुपमा फिल्म निर्देशकको बारेमा खोज्न थाले। पत्रिका पढेर बल्ल थाहा पाए, फिल्म बनाउने मुख्य मान्छे भनेकै निर्देशक रहेछ। उनी तब चकित भएछन्, जब अमिताभ, धर्मेन्द्र, सञ्जयजस्ता स्टारलाई समेत निर्देशन दिने निर्देशक पो ठूलो हुने रहेछ भन्ने थाहा पाए। यसपछि उनले ‘स्टार'लाई निर्देशन दिइरहेको सपना देख्न थाले।
एसएलसीपछि नै उनलाई फिल्म लाइनतिर जान मन थियो। तर, यसबारे न पढाई हुन्छ भन्ने थाहा थियो, न यसरी नै सिक्न सकिन्छ भन्नेबारे। थाहा भए पनि परिवारले पढ्न अनुमति दिने मौकै थिएन। सरकारी जागिरेका छोरा पूर्णेन्दुले साइन्स पढ्नुपर्ने भयो।
‘म त फिल्म निर्देशक बन्ने हो,’ मनमा थियो, भनिहाल्न सकेनन्। काठमाडौं आए।
साइन्समा उनको मन फिटिक्कै रमाएन। दिमाग जो फिल्मको कब्जामा थियो। उनी १२ कक्षामा फेल भए। उनी त यही चाहन्थे, ताकि थप केहिबर्ष साइन्स पढ्न नपरोस्।
उता छोरा डाक्टर बनेको सपना देखिरहेका बाबुआमा डाक्टरी पढाईका लागि खर्चको तयारी गर्दै थिए। यता छोरा भने फिल्मी दुनियाँमै मग्न।
त्यो बेलासम्म नेपालमा फिल्म कलेज खुलिसकेको थिएन। उनले भारतको पुनास्थित फिल्म कलेज एन्ड टेलिभिजन इन्स्टिच्युटको नाम सुनेका थिए, जहाँ पहिले सरकारले छात्रवृत्तीमा फिल्मका विद्यार्थी पठाउँथ्यो। उनी बुझ्न भारतीय दुतावास पुगे। फिल्म पढ्न पनि आईए वा सोसरह पास अनिवार्य चाहिने भएपछि पो उनको होस खुल्यो।
त्यसपछि नपढी भयो र! दोहो¥याएर दिने जाँचको तयारी थाले। सँगै, परिवारको करकापमा डाक्टरी पढाईका कक्षा, सेमिनारमा पनि उनी मिसिन थाले। नाचघरमा एमबिबिएस पढाईको त्यस्तै एउटा सेमिनार थियो। पूर्णेन्दु साथीहरुसँग टहल्दै त्यहाँ पुगेका थिए। अतिथी थिए, निर्देशक तथा कलाकार नीर शाह।
नीर शाहले सबैलाई शुभकामना दिँदै भने, ‘शुभकामना! एमबिबिएसका लागि सबैको नाम निस्कन्छ भन्ने छैन। तर, हरेस नखानुहोला। यदि फिल्मतिर रुची छ भने हामी नेपालमा फिल्म कलेज खोल्दै छौं। तपाईंहरुलाई स्वागत छ।’
पूर्णेन्दुलाई के चाहियो, भोकाएको सिंहको खोरमा शिकार! कार्यक्रम सकिनेबित्तिकै नीर शाहसँग भेटेर सोधपुछ गरे। अन्ततः कलेज खुल्यो। पूर्णेन्दु कलेज अफ फिल्म स्टडिजका पहिलो ब्याचका विद्यार्थी भए।
अहिले उनले फिल्म निर्देशन विधामा स्नातक सकेको १३ वर्ष बितिसक्यो। उनीसँगैका मात्र होइन, उनीपछिका थुप्रै निर्देशकले थुप्रै फिल्म बनाइसके। करिब आधा दर्जन सर्ट फिल्म बनाएपछि मात्र उनले फिचर फिल्म बनाए।
किन यत्रो समय?
‘फिल्म कलेज पढ्दा साथीहरुसँग म भन्ने गर्थेंं, म ०.६ करोडमा फिल्म बनाउँछु र ६ करोड कमाउँछु,’ उनले हाँस्दै सुनाए, ‘मेरो पहिलेदेखि नै ठूलो क्यानभासमा फिल्म बनाउने सपना थियो। मेरो फिल्म धेरैभन्दा धेरै दर्शकले हलमै गएर हेर्नुपर्छ भन्ने मान्यता हो। त्यसका लागि सानो खर्चले पुग्दैनथ्यो। म फिचर फिल्मलाई लाखमा त हिसाब नै गर्दैनथेँ। त्यसैले ६० लाखलाई पनि ०.६ करोड भन्थेँ।’
करिब आधा दर्जन सर्ट फिल्म बनाइरहँदा उनले फिचर फिल्मका लागि पनि तयारी गर्दै थिए। एउटा कथा लेखे, ‘भर्गो’ शीर्षकमा। यो उनले खोजेजस्तै लगानीमा र ठूलो क्यानभासमा खिच्ने फिल्म थियो।
तर, समयले भने पूर्णेन्दुलाई प्रेमकथामा डुब्न दिएन। किनभने, मधेसको मुद्दा काठमाडौंका गल्ली–गल्ली छिरेको थियो। जता गए पनि पूर्णेन्दुले मधेस राजनीतिमाथि अनेक टीका–टिप्पणी गरेको सुन्न थाले। ‘मधेसी जति सबै भारतपरस्त’, ‘मधेसलाई भारतले खान्छ’जस्ता कुरा सुन्न थालेपछि मधेसको ठिटो पूर्णेन्दुको प्रेमकथामा डुलिरहेको ध्यान भंग भयो। मधेस आन्दोलनपछि टड्कारो सुनिन थालेका यस्ता तर्क–वितर्कमा एउटै समानता थियो– नेताहरु खराब भए।
उनले मधेसकै मुद्दामा फिल्म बनाउने अठोट लिए। यसको थप फाइदा के थियो भने, हिन्दी र भोजपुरीले कब्जा गरेको मधेसको फिल्म बजारमासमेत फिल्म चलाउन सकिन्थ्यो। मधेसको मुद्दामा मधेसी मूलकै निर्देशकले बनाएको फिल्मले मधेसका धेरै फिल्म हल पाउने उनको विश्वास थियो।
मधेसमा जन्मेहुकेको भए पनि फिल्मको कथा झट्टै लेखिहालेनन्। मधेसको मुद्दामा लामो समयदेखि लेखिरहेका, अनुसन्धान गरिरहेकाहरुसँग नियमित छलफल गरे। मैथिली संस्कृतिविद् तथा प्राज्ञ रमेशरञ्जन झाको सहयोग लिएर उनले पाँच वटा अंग्रेजी अक्षर ‘पी’– पावर (शक्ति), पोलिटिक्स (राजनीति), प्रेस (पत्रकारिता), पुलिस (प्रहरी) र पब्लिक (जनता) को सेरोफेरोमा कथा बुने। प्रोटेक्सन अर्थात संरक्षण अर्को ‘पी’ हो, बाँकी ‘पी’ यसैभित्र पर्छन्।
‘पावर अर्थात् शक्ति आर्जन गर्न राजनीति गरिन्छ,’ उनी पाँच ‘पी’को अर्थ खुलाउँछन्, ‘पावरकै भरमा आफू सुरक्षित हुन्छन्। पत्रकारिता र प्रहरीको आडमा बनाएर राजनीतिले जनतामाथि शासन गर्छ। देश यस्तो राजनीतिका कारण असुरक्षित छ, त्यसैले संरक्षण चाहियो भन्ने फिल्मको मुख्य सार हो।’
त्यसो त, पूर्णेन्दु यसलाई मधेसकेन्द्रित फिल्म भन्ने पक्षमा छैनन्। विगत १० वर्षदेखि र अबको एक दशक पनि देशको मुख्य राजनीति मधेसकेन्द्रित हुने उनको आकलन छ। देश नै मधेसकेन्द्रित भएकाले फिल्मलाई देशकेन्द्रित भन्न रुचाउँछन् उनी।
फिल्म वीरगञ्जको पृष्ठभूमिमा खिचिएको भए पनि पूर्णेन्दुले त्यही एकठाउँमा हिमालदेखि तराईसम्मका मुख्य–मुख्य जातलाई फिल्मभित्र समावेश गरेका छन्। सबै समुदायको सेरोफेरोमा मधेसको राजनीति घुमेको पूर्णेन्दु बताउँछन्। 'फिल्ममा कुनै पात्रको नाम हुँदैन, थरले मात्र बोलाइन्छ', पूर्णेन्दु भन्छन्, '
मधेस होस् या तराई, दुवैतिरका ‘अतिवादी’हरुलाई संरक्षणले प्रहार गर्ने उनको दाबी छ। त्यसो त, उनले मधेस या पहाड कसैको पक्षधरता नलिई मझधारमा रहेर फिल्म बनाएको बताए।
‘फिल्ममार्फत् मैले न मधेसको पक्ष लिएको छु, न पहाडको,’ पूर्णेन्दु भन्छन्, ‘मान्छे जन्मनेबित्तिकै टाउकोमा राजनीतिको भारी बोकेर आएको हुन्छ। हामीवरिपरि जे भइरहेको छ, त्यो सबै राजनीति हो। र, अहिले पहाड र मधेसको कुरा पनि राजनीति हो। राजनीति हामी सबैले बुझ्न जरुरी छ, संरक्षणमार्फत् मैले त्यहि भनेको छु। फिल्ममा मैले सांकेतिक रुपमा 'पहाड भर्सेस मधेस कि पहाड विथ मधेस’ देखाएको छु।
उनको बिस्वास छ— फिल्म सकिएपछि दर्शकले पहाड भर्सेस मधेस हैन, पहाड विथ मधेस भन्ने संवेदना बोकेर हलबाट निस्कनेछन्।’
फिल्म किन लाउड लाग्छ? अघि नै को प्रश्न दोहो¥याएर सोधियो।
‘कुनै कुरा भन्न मन छ तर, कसैले नसुन्नेजस्तो लाग्यो भने चिच्याउ भन्ने कतै सुनेको थिएँ,’ देख्दा शान्त देखिने पूर्णेन्दुको जवाफ छ, ‘कसैले ध्यान दिएर सुनेन भने पनि चिच्याउँदा सुन्न त सुन्छ। एकपटक नसुन्ला, दुईपटक नसुन्ला, तेस्रो या चौंथोपटकमा त पक्कै ध्यान दिएर सुन्छ सुन्छ। मलाई मधेसको विषय सुनाउनै थियो। त्यसैले लाउड बनाएँ।’
https://www.youtube.com/watch?v=Q_kVtFZhSLI